विराट गोल्डकपलाई उद्योगीको साथ

विराटनगर- उद्योगीको साथ नपाएको भए ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताले निरन्तरता पाउने थिएन । २०१८ सालदेखि सुरु गोल्डकपको ३२ औं संस्करण जारी छ यतिबेला विराटनगरस्थित सहिद मैदानमा । जसलाई आयोजना गरेका छन् विराटनगरका उद्योगीहरूले । उद्योगी नविन रिजालको अध्यक्षतामा बनेको आयोजक समितिमा अधिकांश उद्योगी नै छन् । विभिन्न उपसमितिको संयोजकदेखि सदस्यहरू उद्योगीहरूले नै स्थान पाएका छन् । “खेलकुदका लागि यो खुसीको कुरा हो,” मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले भने, “ प्रायोजकका रुपमा मात्रै होइन आयोजक हुनकै लागि उद्योगीहरू उत्साहित छन् ।”
आयोजक समितिका अध्यक्ष रिजाल मोरङ व्यापार संघका महासचिव हुन् । मारुती सिमेन्ट र एसियन थाइफुड्सको रमपम तयारी चाउचाउ मुख्य प्रायोजक रहेको गोल्डकप शनिबारदेखि सुरु भएको छ । मोफसलमै पहिलोपटक दिवा–रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताका रुपमा आयोजना गरिएको छ । फ्लडलाइट जडानका लागि मात्रै ३५ लाख रुपैयाँ खर्च गरिएको छ । त्यो पनि अस्थायी । सबैमा आयोजकले १ करोडभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।
“विराटनगरको इतिहास र गौरवसँग जोडिएकाले विराट गोल्डकप फुटबल प्रतियोगिता गर्नु हाम्रो पनि दायित्व हो,” अध्यक्ष रिजालले भने, “सबैको साथ र सहयोगले गोल्डकप भव्य रुपमा सम्पन्न हुनेछ ।” गोल्डकप सफल बनाउन खेल क्षेत्रका व्यक्तिहरू त सक्रिय छन् नै । त्यसमा उद्योगीको साथ पाएपछि उनीहरू उनीहरू पुलकित हुनु स्वभाविक हो । “उद्योगीको साथ नपाएको भए विराट गोल्डकप इतिहासमै सीमित हुन्थ्यो,” भन्छन् पुराना खेलाडी सन्तोष बानियाँ ।
पछिल्ला ३ वटा संस्करण लगातार उद्योगीहरूकै सक्रियता र नेतृत्वमा भएका छन् । यसअघिको दुईवटा संस्करणको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष एवं तत्कालीन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा सम्पन्न भएको थियो ।
गोल्डकपका लागि जाजु ग्रुप, मुन्दडा ग्रुप, सारडा गु्रप, दुगड ग्रुप, राठीलगायत विराटनगरका प्रतिष्ठित औद्योगिक घराना लागि परेका छन् । “मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ,” मुख्य प्रायोजक महेश जाजुले भने, “वर्षमा प्रायोजनमा मात्रै झण्डै २ करोड रुपैयाँ लगानी हुन्छ ।” उनीहरू ३ महिनादेखि लगातार प्रतियोगिताको तयारीमा सक्रिय थिए । उद्योग व्यवसायको काम छाडेर प्रतियोगिता सफल बनाउन लागेको रिजालले बताए ।
विगतमा विजेतालाई ५ लाख रुपैयाँ दिइँदै आएकोमा यस वर्ष पुरस्कार राशि बढाएर १२ लाख ७१ हजार पुर्या इएको छ । उपविजेतालाई भने ५ लाख ५१ हजार दिइनेछ । खेलाडीहरूलाई हौसला प्रदान गर्न पुरस्कार राशि वृद्धि गरिएको अध्यक्ष रिजालले बताए । दर्शकको साथ पाएर आफूहरू निकै उत्साहित भएको उनले प्रतिक्रिया दिए । हरेक दिन साँझ ६ बजे सुरु हुने प्रतियोगितामा विराटनगरसहित आसपासको क्षेत्रबाट दर्शकको बाक्लो उपस्थिति रहँदै आएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसवाजीका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहले विश्वकपको झल्को दिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । विदेशी पाहुना टिमका रुपमा भारतको मोहम्डन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लबले सहभागिता जनाएका छन् । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी बलसहित मनाङ मस्र्याङदी, संकटा, थ्री स्टार, रमपम झापा–११ र आयोजक रिजालको मोरङ–११ गरेर आठवटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।