डकर्मी उत्पादन गर्दै प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति स्याङ्जाले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मी तालिम दिँदै आएको छ । अनुभवी डकर्मीलाई इन्जिनियरिङ तवरबाट घर निर्माण गर्न सहज होस् भनेर तालिम दिँदै आएको हो ।
जिल्लाका हरेक वडामा ५ जनाका दरले डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरणले तालिम दिँदै आएको छ । वालिङ नगरपालिकाभित्र भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि प्राधिकरणले ३१ जना डकर्मीलाई अनुभवी इन्जिनियरबाट तालिम दिएइको जनाएको छ ।
स्याङ्जामा करिब ५ सयको हाराहारीमा डकर्मी उत्पादन गर्ने लक्ष्यका साथ प्राधिकरणले तालिम अभियानलाई अगाडि बढाएको बताएको छ । पुराना घर र संरचना कमजोर भएकाले भूकम्पबाट ठूलो क्षति व्यहोर्न बाध्य भयौं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्याङ्जाका प्रमुख प्रवीण ढकालले भने, “उत्पादित डकर्मीबाट निर्माण भएका घरहरू अब मजबुद हुनेछन् ।” “इन्जिनियरिङ डिजाइनबाट घर निर्माण गर्दा भूकम्पपीडितले केही दुःख पाएको हामीले थाहा पाएका छौं ।” उनले भने, “यसको सहजीकरण होस् भनेर नै तालिम अभियान चलाएका हौं, तालिमपछि सहजता आउनेमा हामीलाई विश्वास छ ।” चरणबद्ध रूपमा जिल्लाका ११ स्थानीय तहमा तालिम सञ्चालन गरिने उनले जानकारी दिए ।
भूकम्पपीडितले तीन तह पूरा गरेपछि ३ लाख पाउने व्यवस्था सरकारले गरेको ढकालले जानकारी दिए । सरकारी झन्झटमा अफ्ठ्यारो मान्ने पीडितले संशोधनसहितको निवेदन पेश गरेमा १ लाखसम्म लिएर घर मर्मत गर्दा पनि हुने उनले बताए । वालिङमा दिइएको तालिममा इन्जिनियर इश्वर काफ्लेले सहभागीलाई सहजीकरण गरेका थिए ।