डियो ‘डार्लिङ’- दैनिक ७२ वटा बिक्छ

स्कुटर किन्नेहरूको रोजाइमा स्टाइलिस लुक्स भएको स्कुटर नै पर्ने गरेको पाइन्छ । सहरी सवारीको पर्यायवाचीजस्तै बनेको स्कुटर विगतमा जस्तो महिलाको सवारीका रूपमा सीमित पनि रहेन अब । हिजोआज स्कुटरलाई ‘युनि–सेक्स’ भेइकल समेत भन्ने गरिएको छ । चलाउन सजिलो र आरामदायी हुने भएकाले सहरी क्षेत्रमा यात्रा गर्नेहरूको रोजाइमा स्कुटर पर्ने गरेको व्यवसायीहरूको भनाइ छ । नेपाली बजारमा दर्जनभन्दा धेरै ब्रान्डका स्कुटर उपलब्ध रहेका छन् । ती मध्ये धेरैको रोजाइमा कुन स्कुटर परेको होला ? यो कौतूहल सबैमा हुने गर्छ । त्यो कौतूहल अब मेटियो र नेपाली बजारमा होन्डा ब्रान्डको ‘डियो’ स्कुटर दैनिक ७२ वटा भन्दा धेरै बिक्री हुने गरेको तथ्यांक छ ।
२०१६ को अप्रिलदेखि २०१७ को जनावरीसम्म १० महिनामा होन्डाको डियो स्कुटर २१ हजार ७ सय १७ वटा भित्रिएको भन्सारको तथ्यांक छ । नेपालमा सवारी आयात बिक्रीमा आधारित हुने भएकाले भित्रिएका अधिकांश सवारी बिक्री हुने गरेका छन् । बिक्री नहुने मोडल आयातकर्ताहरूले आयात नै नगर्ने हुनाले आयातित तथ्यांकलाई बिक्री भएको मान्न सकिन्छ । यसरी हेर्दा होन्डाको डियो स्कुटर दैनिक औसतमा ७२.३९ वटा बिक्री भएको देखिन्छ । २०१५ को अप्रिलदेखि २०१६ को जनावरीसम्मको १० महिनामा १२ हजार ६ सय १२ वटा स्कुटर भित्रिएको थियो । सो अवधिमा होन्डाको डियो दैनिक औसतमा ४२ वटा बिक्री भएको थियो ।
होन्डाको डियो स्कुटर स्याकार ट्रेडिङले नेपाली बजारमा सन् २००२ मा पहिलो पटक भित्र्याएको हो । त्यसयता होन्डाको डियो निरन्तर रूपमा नेपाल भित्रिरहेको छ । नेपाली बजारमा होन्डाको डियोसहित अन्य दुई एक्टिभा र एभिएटर स्कुटर उपलब्ध छन् । तर डियो नै धेरै बिक्री हुनुमा यसको आकर्षक लुक्स र यसले स्थापित गरेको ब्रान्ड भ्यालु भएको होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रालिका मिडिया एक्जुकेटिभ निजेनलाल श्रेष्ठको भनाइ छ । “दुईपांग्रे सवारी प्रयोगकर्ताको रोजाइको पहिलो नम्बरमा होन्डा डियो भएकाले पनि डियो आफ्नो मोडल तथा लुक्स परिवर्तन गर्ने परिष्कृत हुँदै आइरहेको छ,” उनले भने, “डियो ११० सीसी इन्जिन क्षमताको एचइटी इको फ्रेन्डली स्कुटर हो । नयाँ डियो पहिलेको मोडलमा भन्दा परिमार्जन गरी ल्याइएको छ । पहिलेको डियोको बडी एकै ढिक्काको थियो भने अहिले विभिन्न पार्टमा विभाजित छ, जसले लड्दा वा अन्य समस्या आउँदा पार्टमात्र फेर्न सकिन्छ ।”
जसरी होन्डा डियो स्कुटरको माग र बिक्री भइरहेको छ, यसले सबै वर्गमा मानिस स्कुटर मनपराएको पुष्टि हुने श्रेष्ठको भनाइ छ । स्कुटर धेरैजसो प्लस टू÷व्याचलर पढ्ने युवावर्ग, कामकाजी महिला तथा पुरुषले लिने गरेका छन् । सहरी क्षेत्रको विस्तारले पनि स्कुटर उपभोक्ताको संख्या बढाउँदै लगेको छ । छोटो यात्राका लागि स्कुटर उपयोगी मानिन्छ । मोटरसाइकल विशेषतः पुरुषले मात्र चलाउने गर्छन् । तर, स्कुटर पुरुषका साथै महिलाले पनि सहजै चलाउन सक्ने भएकाले घरमा एउटा स्कुटर राख्ने प्रचलन बढेकाले पनि स्कुटर अब निश्चित समूह वा वर्ग विशेषमा सीमित रहेन भन्दा हुन्छ ।
एउटा ब्रान्ड अन्तर्गतको एउटा मोडल बिक्रीमा होन्डाको डियो नै अगाडि देखिएको छ । नेपाल भित्रने दुईपांग्रे ब्रान्डमा होन्डाको डियो नै सबैभन्दा धेरै छ । यतिमात्र होइन, होन्डा ब्रान्ड नेपालमा दुईपांग्रे सवारीमा सबैभन्दा धेरै बजार हिस्सा भएको कम्पनी समेत हो । वर्ष २०१५ को अप्रिलदेखि २०१६ को जनवरीसम्मको १० महिनाको अवधिमा नेपाल भित्रिएको दुईपांग्रे सवारीको भन्सार तथ्यांकले यस्तो देखाएको हो । ०१५-०१६ को अप्रिल-जनवरीमा २४ हजार ८ सय ५३ वटा मोटरसाइकल आयात गरेको होन्डाले ०१६-०१७ को सोही अवधिमा ५५ हजार ६ सय ४२ आयात गरेको थियो । समग्र बजार हिस्सा हेर्दा ०१५-०१६ मा २५ प्रतिशत रहेको होन्डाले ०१६-०१७ मा आइपुग्दा २९ प्रतिशत पु¥याएको छ ।
समग्र बजार हिस्सा हेर्दा ०१५-०१६ मा २५ प्रतिशत रहेको होन्डाले ०१६-०१७ मा आइपुग्दा २९ प्रतिशत पु¥याएको छ । उक्त बजार हिस्सा पु¥याउनमा होन्डाको डियोको सबैभन्दा धेरै योगदान रहेको छ । होन्डा ब्रान्डका सबै सेगमन्टका ५५ हजार ६ सय ४२ दुईपांग्रे सवारी आयात हुँदा डियोमात्र २१ हजार ७ सय १७ वटा रहेको छ । उक्त १० महिनाको अवधिमा सबैभन्दा धेरै २०१६ को अप्रिलमा ३ हजार ७ सय ४५ वटा डियो आयात भएकोमा सबैभन्दा कम २०१७ को जनवरीमा ५ सय ८५ वटा भएको देखिन्छ ।
होन्डाको डियो स्कुटर १ सय १० सीसीको स्कुटर हो । यो स्कुटरमा ५.५ लिटरको फ्युल ट्यांक रहेको छ भने यसको तौल १ सय ५ केजी छ । डियोको ग्राउन्ड क्लियरेन्स १५८ एमएम रहेको छ । स्कुटर सेगमेन्टमा डियोको प्रतिस्पर्धा डियोसँगमात्र रहेको श्रेष्ठले दाबी गरे । “नेपाली बजारमा स्कुटर भनेकै डियो हो भन्ने स्थापित नै भइसक्यो भन्दा फरक पर्दैन,” उनले भने, “डियोले यस्तो किसिमको ब्रान्ड भ्यालू क्रिएट गरिसकेको छ । उपभोक्ताको रोजाइले हामीले यस्तो भन्न सक्ने अवस्थामा पुगेका हौं ।”
कुनै ब्रान्डको एउटा मोडल बिक्रीमा होन्डाले यो १० महिनाको अवधिमा कीर्तिमान नै कायम गरेको छ भन्दा फरक पर्दैन । नेपाली बजारमा दर्जन बढी ब्रान्डका दर्जनौं मोडलका स्कुटर उपलब्ध छन् ।