भेरी–बबईको सुरुङमा नयाँ प्रविधिले एक खर्ब जोगाउँदै «

भेरी–बबईको सुरुङमा नयाँ प्रविधिले एक खर्ब जोगाउँदै

सुर्खेत- सामान्यता ड्रिलिङ र ब्लास्टिङ प्रविधिले दैनिक तीन मिटरमात्र सुरुङ खनिन्छ तर शुक्रबारमात्र एकै दिन भेरी बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको ३९.१ मिटर सुरुङ खनियो । विशेषतः जलविद्युत्, सिँचाइ र खानेपानीका ठूला आयोजनाहरूमा सुरुङ निर्माण सबैभन्दा ठूलो समस्याको रूपमा रहेको र यसकै कारण आयोजनामा लागत र समय दोब्बर लागिरहेको बेला भेरी बबईमा भने एकै दिन यतिधेरै सुरुङ खनिएको हो ।
नेपालमै पहिलोपटक आयोजनामा भित्र्या इएको टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिले परम्परागत रूपमा हुँदै आएको सुरुङ निर्माणमा चमत्कारनै देखाउन थालेको छ । “२६ नोभेम्बर २०१७ देखि टीबीएमबाट सुरुङ खन्न सुरु गरेका हौँ , शुक्रबार त हालसम्मकै सबैभन्दा बढी ३९ मिटर खन्यो,” आयोजना प्रमुख शिवकुमार बस्नेतले भने, “ड्रिलिङ र ब्लाासटिङ प्रविधि सुरुङ निर्माण भएको भए आयोजना बन्थ्यो कि भन्न सकिँदैनथ्यो, अब बन्ने पक्का भयो ।”
सन् २००१ जापान सहयोग नियोग (जाइका) को सहयोगमा विद्युत् विकास विभागले अध्ययन गरेको आयोजना ८ वर्षअघि सिँचाइ मन्त्रालयअन्तर्गत अघि बढेको थियो । ५ वर्षअघि टीबीएम प्रविधि ल्याउनका लागि पहल भए पनि सन् २०१५ मा प्रक्रिया अघि बढाइएको नयाँ प्रविधि चार महिना अघिमात्र नेपाल भित्रिएको थियो । १२ किलोमिटर सुरुङ रहेको आयोजनामा चार महिनामै करिब ३ किलोमिटर सुरुङ खनिसकेको छ ।
तीन महिना ल्याउन र एक महिना जडान गर्न लाग्ने अनुमान गरिएको १०५६ टनको मेशिन ल्याउन डेढ महिना र जडान गर्न एक महिनाभन्दा कम समय लागेको थियो । चिनियाँ ठेकेदार कम्पनी कोभेकले सुरुङका लागि ल्याएको टीबीएमले सन् २०२० को अगष्टमा सबै सुरुङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “अहिले प्रयोग हुँदै आएको प्रविधिबाट सुरुङ निर्माण गरेर सम्पन्न गर्न कम्तीमा १५ वर्ष लाग्थ्यो, त्यो पनि निर्माण पूरा हुन्थ्यो कि हुन्थ्यो भनेर भन्न सकिने अवस्था थिएन,” आयोजना प्रमुख बस्नेत भन्छन्, “नयाँ प्रविधिले अबको दुई वर्षमा सिँचाइ र चार वर्षमा ४८ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिसक्छौं ।”
सल्यान र दाङ हुँदै आएको भेरी नदीको पानीलाई बबईमा ल्याउने गरी इन्टर वेसिन वाटर ट्रान्सफर गरी बन्न लागेको आयोजना नेपालकै ठूलो हो । ४० क्यूमेक्स पानी जम्मा हुने आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नेछ । वार्षिक रूपमा आयोजना बनेपछि सिँचाइतर्फ ३ अर्ब र जलविद्युत्तर्फ ४ अर्ब प्रत्यक्ष फाइदा हुनेछ । आयोजनाको समय नयाँ प्रविधिले घटाएसँगै यसबाट करिब एक खर्ब रूपैयाँ जोगिने अनुमान गरिएको छ । सुरुङ छिटो बन्दा सिँचाइको निर्माण अवधि १३ वर्ष घट्ने तथा जलविद्युत्को ११ वर्ष घट्ने कारण यसबाट यति धेरै रकम जोगिने भएको हो । पूर्व जलस्रोतसचिव शीतलबाबु रेग्मी नयाँ प्रविधिले गर्दा समय घट्दा एक खर्ब रुपैयाँ बराबरको रकम राज्यको रकम जोगिने देखिएको र यस्तो प्रविधि उपयोग गर्न सकेमा नेपालको आर्थिक समृद्धि का लागि ठूलो योगदान दिने बताउँछन् ।
नेपालमा निर्माण हुन लागेका र सम्पन्न भइसकेका मेलम्ची खानेपानीदेखि चमेलिया, मध्यमस्र्याङ्दी, माथिल्लो तामाकोसीलगायतका आयोजनाहरूमा सबैभन्दा ठूलो समस्याको रूपमा सुरुङ निर्माण देखिएको छ । अधिकांश आयोजनाको लागत र समय दोब्बर, तेब्बर हुनुको कारणको रूपमा सुरुङ निर्माणलाई लिने गरिन्छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं भेरी बबईले सुरुङ निर्माणका लागि उपयोगमा ल्याएको नयाँ प्रविधि ल्याउन सरकारले उचित वातावरण बनेमा जलविद्युत्का साथै सिँचाइ र खानेपानीका ठूला आयोजना निर्माणमा चमत्कारनै ल्याउने बताउँछन् । “हाम्रो देशमा ठूला आयोजना निर्माणबारे बढी गफ मात्र भएका छन्, यस्ता प्रविधि ल्याए यसमा चमत्कारनै गर्न सकिन्छ,” उनी भन्छन् ।
सुरुङ खनेसँगै निर्माण पनि सम्पन्न हुँदै जाने प्रविधिले नेपालका कठिन मानिएको सुरुङ निर्माणलाई सहज बनाइदिएको छ । “नयाँ प्रविधिअघि माटो खन्ने, निकाल्ने, अस्थायी सपोर्ट दिने, पूरै सुरुङ खनेपछि कंक्रिट लाइनिङ गर्ने गरिन्छ, यसमा लामो समय लाग्ने गर्दथ्यो,” आयोजनाका हाइड्रोलोजिष्ट अजयराज अधिकारी भन्छन्, “टीबीएमले सुरुङ खनेपछि सेगमेन्ट हाल्यो, सम्पन्न भयो, पहिला भने सुरुङ निर्माण पूरा गरेपछि पनि दुई-तीन वर्ष क्रंकिट सम्पन्न गर्न लाग्थ्यो ।”

प्रतिक्रिया दिनुहोस्