रूपन्देही बर्डफ्लूको उच्च जोखिममा

सिमावर्ती भारतीय जिल्ला महाराजगन्जका केही स्थानका पन्छिमा बर्डफ्लू देखिएसँगै रूपन्देही पनि बर्डफ्लूको उच्च जोखिममा परेको छ । सिमावर्ती भारतीय बजारका खुकुरामा बर्डफ्लूको जिवाणु फेला परेको प्रमाणित भएसँगै रूपन्देहीमा रोगका बारेमा सतर्कता अपनाउन सुरु भएको छ ।
सिमावर्ती भारतीय बजार तथा नाका सुनौली क्षेत्रको तीनदेखि चार किलोमिटर पर बर्डफ्लू संक्रमण देखिएको प्रमाणित हुनासाथ भारत महाराजगन्जका डिस्ट्रिक मजिस्ट्रेटले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई फोन गरी जानकारी गराएसँगै रूपन्देहीमा त्यो रोगको प्रकोप नआओस् भन्दै सतकर्ता अपनाउन सुरु भएको हो ।
सुनौली क्षेत्रमा बर्डफ्लू संक्रमण देखिएपछि भैरहवामा एभियन इन्फ्लूएन्जा प्राविधिक समन्वय समिति (डाइटेक) को आपतकालीन बैठक बसेर जिल्लामा उच्च सतर्कता तथा निगरानी अपनाउने निर्णय गरेको छ । खुल्ला सिमानाकाका कारण अवैधरूपमा कुखुराको तयारी मासु, कुखुरा, हाँस, कुखुराको चल्ला र अण्डा तस्करी हुँदा जिल्लामा बर्डफ्लूको संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउने तयारी थालिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।
सिमापारी बर्डफ्लुको प्रकोप देखिए पनि हालसम्म जिल्लामा भने त्यस्तो कुनै प्रकोप देखिएको छैन । तर जिल्ला फ्लुको उच्च जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । ‘बर्डफ्लू’ एभियन इन्फ्लूएन्जा भाइरसको छोटकरी रूप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पुरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एचफाइभ एनवान हो । बर्डफ्लू कुखुरा र पंक्षीहरूको अति संक्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्छ । कुखुराको टाउको सुन्नीने, र्याल आउने, पञ्जामा रातो तथा निलो हुने वा एकैपटक धेरै मर्ने यसका लक्षण रहेको जिल्ला पशु सेवा कार्यालय रूपन्देहीका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. बिनयकुमार कर्णले बताए ।
बर्डफ्लूका किटाणुका कारण कुखुराको श्वास नली र फोक्सो बढी प्रभावित हुने गर्छ । त्यसैले भरसक कुखुराको स्वास नली (टाउको तलको मोटो घाँटी) र फोक्सो नखाएकै राम्रो हुने डा. कर्णले जानकारी दिए । कुखुरा फार्म, मासु बिक्री कक्षलगायतका स्थानको सरसफाइमा विशेष ध्यान दिनुपर्ने, घरमा पालिने पंक्षी (परेवा, सुगा)मा पनि संक्रमण देखिन सक्ने भएकाले र बर्ड फ्लुको लक्षण जस्तै लागेमा तुरुन्त पशु कार्यालयमा खबर गर्र्नुपर्ने डा. कर्णले बताए ।
प्रभावित क्षेत्रको तीन किलोमिटरसम्म बर्डफ्लूको प्रकोप फैलिन्छ । प्रकोप फैलिएको भारतको सुनौली नेपालको तीन किलोमिटर क्षेत्रभित्र पर्छ । यसले गर्दा बेलहिया भन्सार नाका सघन निगरानी क्षेत्रभित्र राख्नुपर्ने पशु चिकित्सकहरूको भनाई छ । नेपालमा पन्क्षीजन्य वस्तु कुखुराको तयारी मासु, कुखुरा, चल्ला, अण्डा, हाँस तथा चराचुरुङ्गीहरू भारतबाट आयात गरी नेपालमा ल्याएर बिक्री बितरण गर्न प्रतिबन्ध छ । तर खुला सिमानाका कारण अवैधरूपमा तस्करी हुँदै आउने गरेको छ । जिल्लामा भैरहवा, पजरकट्टी, भगवानपुर, देवदह, धकधई, मर्चवार, लुम्बिनी, गजेडी, बुटवललगायतको क्षेत्र बर्डफ्लूको उच्च जोखिममा छन् ।
–मनोरञ्जन शर्मा