नयाँ वर्षमा भैरहवामा फुड फेस्टिबल हुँदै «

नयाँ वर्षमा भैरहवामा फुड फेस्टिबल हुँदै

बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवामा) नयाँ वर्ष ०७५ सालको पूर्वसन्ध्यामा सडक खाना महोत्सब (स्ट्रिट फुड फेस्टिबल) आयोजना हुने भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघले यो वर्षको अन्तिम दिन चैत ३० गते शुक्रबार बेलुका ६ बजेदेखि मध्यरात १२ बजेसम्म सडक खाना महोत्सव आयोजना गर्न लागेको हो । बिगतमा ३ पटक सफलतापूर्वक सम्पन्न गरेको महोत्सवको यो चौथो सस्करण हो ।
“सडकमा खाऔँ । सडकमै रमाऔँ । पर्यटन विकास गरौं ।” भन्ने नाराका साथ आयोजना हुने सडक खाना महोत्सबको मुख्य आयोजकमा सिद्धार्थ उद्योग वाणिज्य संघ, आयोजकमा सिद्धार्थनगर नगरपालिका र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड छन् । सडक खाना महोत्सबलाई स्थानीय होटल संघ, रेस्टुराँ संघ, पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूले सहयोग गर्ने संघले जनाएको छ ।
‘भैरहवामा बिगतमा सडक खाना महोत्सब आयोजना गर्दा बढी सहभागिता र आकर्षक रह्यो । तिनै पटककोे सडक खाना महोत्सबले हामीलाई उत्साहित बनाएपछि यस वर्ष पनि हामीले संघको नेतृत्वमा सडक खाना महोत्सब आयोजना गर्न लागेका हौं’, संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले भने । खाना महोत्सवमा ५० भन्दा बढी स्टल राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक तथा संघका सदस्य दीपेन्द्र प्रधानले बताए । सडक खाना महोत्सवमा नेपाली बिभिन्न जातजातिका खाना, विदेशीमा भारतीय, चाइनिजलगायत देशका खानाका परिकारका स्टल राख्ने तयारी भइरहेको प्रधानले बताए ।
सडक खाना महोत्सब भैरहवामा चौथो पटक आयोजना हुन गइरहेको र यहाँ आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभई सीमावर्ती भारतीय बजार सुनौली, नौतवनाबाट समेत खाना महोत्सबमा सहभागी हुन आउने गरी प्रचार–प्रसार तथा अन्य तयारी भइरहेको संघका महासचिव नेत्रप्रसाद आचार्यले बताए । सडक खाना महोत्सवलाई विशिष्ट पर्वको रूपमा आयोजना गर्न बिभिन्न साँस्कृतिक कार्यक्रमसमेत आयोजना हुने तयारी संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्