सय दिनमा ११० काम गर्ने पर्यटनमन्त्री अधिकारीको घोषणा «

सय दिनमा ११० काम गर्ने पर्यटनमन्त्री अधिकारीको घोषणा

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक समृद्धिका लागि सय दिनमा १ सय १० काम गर्ने घोषणा गरेका छन् ।
मन्त्री अधिकारीले शुक्रबार एक कार्यक्रकाबीच १८ क्षेत्रमा १ सय १० काम गर्ने सय दिनको कार्ययोजना घोषणा गरेका हुन् ।
अधिकारीले घोषणा गरेको योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार, सुधार, प्रत्येक प्रदेशमा एउटा पर्यटकीय नमुना सहर र भूकम्पपछिको पुरातात्विक सम्पदा निर्माणका विषयलाई उल्लेख गरेका छन् ।
“मन्त्रालय तथा सम्बन्धित सबै विभाग, महाशाखा तथा आयोजनाका प्रमुखसँग छलफल गरेर कार्ययोजना सार्वजनिक भएको छ”, मन्त्री अधिकारीले भने, “सबैले कामप्रति जवाफदेही हुँदै योजनाअनुसार नियमित काम गर्नुपर्छ, अन्यथा सरुवादेखि कारबाहीसमेत हुन्छ ।”
अधिकारीले सार्वजनिक गरेको एकसय दिने वाइडबडी जहाज राख्न मिल्ने ह्यांगर निर्माणको पूर्ण तयारी गर्नेदेखि नेवानिसँग रहेका आन्तरिक उडान गर्ने आठवटै जहाजको उडान क्षमता बढाउने अधिकारीको योजनामा छन् ।
पर्यटन विकासका लागि सरकारबाट स्वीकृति भएको राष्ट्रिय पर्यटन रणनीतिक योजना साकार बनाउने अधिकारीको भनाइ छ । अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको हिस्सा २५ प्रतिशत पु¥याउने र सन् २०२५ सम्म वार्षिक २५ लाख पर्यटक एवं ३४ सय डलर विदेशी विनियम आर्जन गर्ने अधिकारीले दीर्घकालीन सोच बनाएका छन् ।

अधिकारीले विमानस्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक न्यूनीकरण गर्न २१ घन्टा विमानस्थल सञ्चालन गर्नेदेखि उडान तालिका (स्लट) वितरणमा वैज्ञानिक मापदण्ड लागू गर्ने घोषणा गरेका छन् ।
काभ्रेको ठूलीचौरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भावित अध्ययन गर्ने, त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने, अन्तर्राष्ट्रिय हवाई यात्रुको लगेज पूर्ण सुरक्षित रूपमा एक घण्टामै उपलब्ध गराउने, विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेन्ट्रल एसी र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ४० प्रतिशत सम्पन्न गर्ने र पोखरा क्षेत्रीय विमानस्थलको डिजाइन रिभ्यू र सुपरभिजन परामर्शदाता नियुक्ति गर्ने, निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पारित गर्ने मन्त्रीको योजना छ ।
कोरियन एलएमडब्लूले तयार गरेको निजगढ विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन खरिदमा रहेको विवाद मिलाउने अधिकारीको प्रतिबद्धता छ ।
पशुपतिनाथ मन्दिरको ऐतिहासिक, पुरातात्विक र पौराणिक झलक दिने वृत्तचित्र निर्माणदेखि लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी गर्ने अधिकारीको योजना छ ।
यसैगरी सातै प्रदेशका पर्यटकीय गन्तव्य समेटेर भिडियो बनाउने, अपांग पदमार्ग निर्माण, पर्यटन बोर्डको वेबसाइटमा चिनियाँ भाषा पनि प्रयोग गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्य झल्कने पाँचवटा ठूला विद्युतीय डिस्प्ले राख्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत पर्यटन प्रवद्र्धन गर्ने अधिकारीको योजनामा उल्लेख छ ।

होटेल, रिसोर्ट, रेस्टुराँ, होमस्टे तथा आवासीय क्षेत्रमा अनलाइन बुकिङ प्रणाली विकास गर्दै नयाँ मापदण्ड ल्याउने, पाल्पाको रानी महल र भैरवस्थान सत्तल, पचलीस्थित इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुनी पोखरी, ललितपुरको रुद्रायणी पार्टीलगायत संरक्षण गर्ने अधिकारीको घोषणापत्रमा उल्लेख छ ।
अधिकारीले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको एकीन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालीको विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेपाल एभिएसन सेफ्टी प्लान तर्जुमा गर्ने र २०१० देखि २०१७ सम्म भएको जहाज दुर्घटना जाँच प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गराउने अधिकारीको प्रतिबद्धतामा छ ।
होटल संघको स्वागत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रवीन्द्र अधिकारीले एक सय दिनमा गर्ने १ सय १० कामको होटल एसोसिएसन अफ नेपाल (हान)ले स्वागत गरेको छ ।
तत्काल ६ वटा विमान किन्ने, दैनिक २१ घण्टा उडान भर्ने, एक घण्टामै लगेज उपलब्ध गराउने, अन्तर्राष्ट्रिय टर्मिनलमा सेन्ट्रल एसी सिस्टम र डोमेस्टिकमा एसीको व्यवस्था गर्ने, आन्तरिक उडानलाई सार्न काभ्रेको ठूलीचौरका साथै विभिन्न स्थानमा सम्भाव्यता अध्ययन सुरु गर्नेजस्ता योजना सकारात्मक र अत्यावश्यक रहेको संघको भनाइ छ ।
भारत र चीन हुँदै स्थलमार्गबाट आउने पर्यटक प्रवेश नाकामा न्यूनतम भौतिक सुविधा एवं पर्यटकमैत्री व्यवहारको विकास आवश्यक रहेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्