चीनमाथिको उच्च भन्सारले अमेरिकानै कमजोर हुने

बेइजिङ-अमेरिकी प्रशासन चीनप्रति आक्रामक देखिएसँगै अर्थशास्त्रीहरुले चिनियाँ आयातमा अमेरिकाको उच्च भन्सारले अमेरिकालाईनै बेफाइदा हुने बताएका छन् ।
“ट्रम्प प्रशासनले चिनियाँ आयातमाथि लगाउने भन्सारले अमेरिकामा सामानको मूल्य महँगो पर्ने र यसको मार अमेरिकी उपभोक्तालाईनै पर्नेछ,” पेकिङ युनिभर्सिटीको न्यू स्ट्रक्चरल इकोनोमिक्सका डीन जस्टिन इफू लिनले आफ्नो लेख मार्फत बताएका छन् ।
दैनिक आवश्यकताका लागि अमेरिकी उपभोक्ताको मागमा आयातीत उत्पादनमा बढाइने लागतले सम्भवतः फरक पार्ने छैन । यसका लागि अमेरिकाले यात चिनियाँ आयातलाई निरन्तरता दिनुपर्छ यात भियतनाम, भारत र अफ्रिकाबाट आयात गर्नुपर्छ, जहाँ सामानको मूल्य उच्च छ । यस्तो अवस्थामा अमेरिकी उपभोक्ताले समान सामानका लागि पनि बढी मूल्य तिर्नुपर्ने लीनले बताए ।
“चीनबाट हुने आयातमा उच्च अमेरिकी भन्सार लगाउने भनि राजनीतिक रुपमा प्रेरित भएको अवस्थाले बदलाको कारबाही पनि आउन सक्छ । यो व्यापारको विन–विन सिद्धान्तको विपरित पनि हो र यसले अमेरिकी मतदाताको स्वार्थमा नकारात्मक प्रभाव पार्न सक्छ,” लीनले बताए ।
गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा ६० अर्ब डलरसम्मको भन्सार लगाउने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उनले अमेरिकामा चिनियाँ लगानीमाथि प्रतिबन्ध लगाउने समझदारीपत्रमा पनि हस्ताक्षर गरेका छन् ।
यसको जवाफी कारबाहीमा गत साता चीनको वाणिज्य मन्त्रालयले ३ अर्ब डलरको अमेरिकी उत्पादनको १२८ सामग्रीमा भन्सार छुट निलम्बन गर्ने जनाएको थियो । यसमा पोर्क, वाइन र स्टिलका ट्यूबहरु पनि समावेश छन् ।
“अमेरिकाले दसौ हजार चिनियाँ उत्पादनको आयात गर्दै आएको छ । यसको तुलनामा चीनले भटमास, मकै, कम्प्युटर चिप्स र विमान जस्ता थोरै सामग्रीमात्रै आयात गर्दै आएको छ । चीनले पनि अमेरिकी आयातमा उच्च भन्सार लगाएमा अमेरिकी उत्पादक नराम्ररी प्रभावित हुन सक्नेछन्,” लीनले बताए ।
एक पटक व्यापार युद्ध सुरु भएमा बस्तुको प्रवाह, लागत र मूल्यको अवस्थामा परिवर्तन आउछ । यसले विश्वव्यापी औद्योगिक सञ्जालमा ४ खर्ब डलर भन्दा बढीको प्रभाव आउन सक्ने सिंघुवा विश्वविद्यालयका वित्तीय अनुसन्धानको नेसनल इन्सटिच्यूटका प्रमुख झु मिनले बताए ।