पोखरा रंगशालामा २१ करोड बढीको संरचना निर्माण «

पोखरा रंगशालामा २१ करोड बढीको संरचना निर्माण

पोखरा-क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो खेल मैदान पोखरा रंगशालामा करिब १० करोडको लागतका खेल पूर्वाधार निर्माण सुरु भएको छ । ४१७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा हाल ३ करोड ४५ लाखको लागतमा लन टेनिस कोर्टसहितको भौतिक पूर्वाधार, २ करोड ५० लाखको लागतमा स्क्वास खेलको कोर्टसहितको प्रशिक्षण केन्द्र र ३ करोड ५४ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माणको क्रममा रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका प्रमुख प्रकाश बरालले बताए ।
प्रमुख बरालका अनुसार पछिल्लो ७ वर्ष यता हालसम्म पोखरा रंगशालामा करिब २१ करोडको लागतमा विभिन्न खेल पूर्वाधार तथा खेल मैदान एवं बहुउद्देश्यीय भवन निर्माण भएका छन् । उनका अनुसार १४ करोडको लागतमा बहुउद्देश्यीय भवन, २ करोडको लागतमा आर्चरी प्रशिक्षण केन्द्र, एक करोडको लागतमा लनटेनिस कोर्ट, १ करोड २० लाखको लागतमा भलिबल प्रशिक्षण केन्द्र निर्माण भएको हो । त्यसैगरी ६७ लाखको लागतमा सेमिकभर्ड हल, एक करोड लागतमा क्रिकेट मैदान, मूल गेट, स्केटिङ मैदान, करिब ७ सय मिटर पिच, खानेपानी बोरिङलगायतको गरी २१ करोड बढी भौतिक संरचनामा लगानी भएको प्रमुख बरालले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्बाट एक करोड १० लाख विनियोजन भएको ब्याडमिन्टनको प्रशिक्षण केन्द्र निर्माणका लागि आवश्यक रकम कास्की जिल्ला व्याडमिन्टन संघले जोहो गर्दैछ । ३ करोड ५४ लाखको लागतमा पोखरामा अन्तर्राष्ट्रियस्तरकै ब्याडमिन्टन सभाहल निर्माण हुने भएको हो । आव २०७४ माघदेखि निर्माण कार्य सुरु भएको उक्त प्रशिक्षण केन्द्रको आगामी डेढ वर्षमा निमार्णकार्य सकिने गरी काम भइरहेको संघका अध्यक्ष डम्बरसिंह गुरुङले बताए । उनका अनुसार एक करोड रुपैयाँ स्थानीयस्तरबाटै जुटाइने भएको छ भने बाँकी रकम राखेपबाट प्राप्त हुनेछ । ३ करोड ५४ लाखको लागतमा अन्तर्राष्ट्रियस्तरकै ४ वटा ब्याडमिन्टन कोर्टसहितको प्रशिक्षण केन्द्र निर्माण हुने भएको हो ।
त्यसैगरी जनस्तरबाटै २ करोड ५० लाखको लागतमा स्क्वासको प्रशिक्षण केन्द्र बन्न लागेको स्क्वास रोकट एसोसिएसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए । पोखराका युवा उद्योगी व्यवसायी प्रकाश केसीको संयोजकत्वमा उक्त प्रशिक्षण केन्द्र निर्माण समिति गठन भई विगत ४ महिनादेखि काम सुरु भएको उपाध्यक्ष रवीन्द्र वाटाजुले बताए ।
केसीसहित केही खेलाडी तथा पोखरेलीहरूको लगानीमा क्षेत्रीयस्तर हुँदै राष्ट्रियस्तरको एउटा स्क्वास कोर्ट निर्माण गर्ने वाटाजुले जनाए । पहिला एउटा कोर्ट निर्माण गरी त्यसपछि अन्य कोर्ट निर्माण गर्ने योजना रहेको उनले जनाए । ब्याडमिन्टन र स्क्वासको प्रशिक्षण केन्द्र समितिको कार्यालयभन्दा पश्चिमपट्टि निर्माणकार्य प्रारम्भ भइसकेको छ । एक करोड २० लाखको लागतमा राखेपसहितको कास्की जिल्ला भलिबल संघको अगुवाइमा उक्त भलिबल प्रशिक्षण केन्द्र निर्माण भएको संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए ।
पोखरा रंगशालामा हाल अन्तर्राष्ट्रिय खेल खेल्नका लागि भलिबल र आर्चरी खेलको आवश्यक पूर्वाधार निर्माण भएको समितिका अध्यक्ष यमबहादुर गुरुङले बताए । लनटेनिस खेलका लागि हाल ५ वटा कोर्ट निर्माण भए पनि प्राविधिक हिसाबले चेन्जिङ रुम, हार्ड कोर्ड, प्ले कोर्ड, टवाइलेट तथा बाथरुम, प्यारापिट आवश्यक भएको अध्यक्ष गुरुङले बताए । कास्की जिल्ला लनटेनिस संघले विभिन्न दाताको खोजी गरी करिब एक करोड लगानीमा ५ वटा टेनिस कोर्ट निर्माण गरेको संघ कास्कीका अध्यक्ष विनोद कायस्थले बताए । उनका अनुसार पोखरामा अन्तर्राष्ट्रियस्तरकै टेनिस कोर्ट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्बाट ३ कारेड ४५ लाखको बजेट विनियोजन भएको छ । उक्त भौतिक संरचनाको लागि हाल टेन्डरसमेत आव्हान भइसकेको उनले जनाए ।
पोखरामा करिब एक अर्ब लगानीमा अन्तर्राष्ट्रियस्तरकै अत्याधुनिक प्यारापिटसहितको फुटबल मैदान निर्माण हुने प्रक्रियामा रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । यसअघि टेन्डर परेका ६ वटा कम्पनीमध्ये टेन्डर प्रक्रिया पूरा गरेका दुईवटा कम्पनी पनि नपरेकाले पुनः टेन्डर प्रक्रियामा जानुपर्ने भएकाले फेरि टेन्डर प्रक्रियामा जाने भएको उनले बताए । करिब २० हजार दर्शक क्षमताको प्यारापिटसहितको फुटबल मैदान निर्माण हुने भएको छ । २०४० सालमा हतारमा निर्माण गरिएको पूर्व तथा पश्चिमको प्यारापिट हाल भत्काउने कार्य जारी छ । भूतपुर्व खेलाडी मञ्च नेपालको अगुवाइमा स्वदेश तथा विदेशी दाता तथा खेलकर्मीबाट रंगशालामा २०६१ सालमा करिब एक करोड ३ लाखको लागतमा पर्खाल लगाउने काम भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्