१० वर्षदेखि एक्सरे मेसिन प्रयोगहीन

तेह्रथुम – जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र आठराई गाउँपालिकाको संक्रान्ति बजारमा रहेको एक्सरे मेसिन दश वर्षदेखि प्रयोगविहिन हुँदा सेवाग्राही सेवा लिन वञ्चित बन्दै आएका छन । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले २०६५ सालमा पठाएको एक्सरे मेसिन थन्किदा यहाँका स्थानीयहरूले सेवा लिन पाएका छैनन् ।
विद्युत्को अभाव र दरबन्दीअनुसार प्राविधिक स्वास्थ्य केन्द्र नहुँदा प्रयोगविहिन मेसिनमा खिया लागेपछि एक्सरे सञ्चालनमा नआई बिग्रिएको स्वास्थ्य केन्द्रले जनाएको छ । एक्सरे मेसिन प्रयोगमा नआउँदा जिल्लाको आठराई र फेदाप गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका सेवाग्राही वर्षौंदेखि छिमेकी जिल्ला पाँचथरलगायतका सुविधा सम्पन्न जिल्लातिर जानुपर्ने बाध्यता रहेको स्थानीय अमृत बास्तोलाले बताए ।
उनका अनुसार स्थानीय तहमा स्वास्थ्य संस्था सञ्चालनमा आए पनि स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य उपकरण व्यावस्थापनमा जनप्रतिनिधिहरूको ध्यान पुगेको देखिँदैन । १२ जनाको दरबन्दी रहेको केन्द्रमा हाल ८ जना स्वास्थ्यकर्मी कार्यरत छन् । एक डाक्टर, एक हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अहेव, तीन अनमी, एक ल्याव असिस्टेन्ट र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको केन्द्रमा हाल एक डाक्टर, एक हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स, दुई अहेव, दुई अनमी र एक जना कार्यालय सहयोगीमात्र कार्यरत रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्तोष शाहले बताए ।
एक्सरे मेसिन सञ्चालनका लागि विद्युत्को समस्या भएपछि स्थानीयले नगद संकलन गरेर पाँच किलोवाटको जेनेरेटर खरिद गरे पनि प्राविधिक अभावमा मेसिन सञ्चालनमा आउन सकेन छैन । सम्बन्धित सरोकारवाला निकायहरूले स्वास्थ्य केन्द्रमा रहेको एक्सरे सञ्चाानमा चासो नदिँदा वर्षौंदेखि मेसिन थन्किएको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकमीहरू बताउँछन् ।
केन्द्रको पुरानो मेसिन सञ्चालनमा आउन नपाउँदै पुनः अर्को एक्सरे मेसिन आएको छ । गत साउनमा स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले नयाँ एक्सरे मेसिन पठाएको हो । हाल स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा दुई वटा एक्सरे मेसिन छन्, तर दुवै प्रयोगमा छैनन् । नयाँ मेसिन जोड्न प्राविधिक ढिलो आएकाले एक्सरे सञ्चालनमा आउन नसकेको डाक्टर शाहले बताए ।
एक्सरे सञ्चालनका लागि अहिले एक्सरे कक्षको निर्माण भइरहेको आठराई गाउँपालिका वडा नं. १ संक्रान्तिबजारका अध्यक्ष कमलबहादुर मावोहाङले बताए । गाउँमै रहेको मेसिन सञ्चालनमा नआउँदा एक्सरे गर्न यहाँका स्थानीयले हजारौं खर्च गर्नुपर्न बाध्यता रहँदै आएको छ ।