जोखिमपूर्ण पुँजीबजार «

जोखिमपूर्ण पुँजीबजार

चैत १२ गते सोमबार बजार बन्द हुँदा नेप्से परिसूचक ५१.८९ अंकले ओरालो लागी ११६८.४५ बिन्दुमा पुग्यो । समग्रमा बजार ४.२५५ ले घट्यो । लगातारको गिरावटसँगै सो दिन नेप्से परिसूचक २०७२ पुसयताकै न्यून बिन्दुमा आइपुगेकोे हो । नेप्से दुई वर्षपछि १२ सय बिन्दुमुनि आइपुग्यो । निरन्तर ओरालो लागेको सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । एकै दिनमा झन्डै ५२ अंकले बजार तल झर्दा लगानीकर्ता अत्तालिन पुगे । मंगलबार भने सेयर बजार ३९.१६ बिन्दुले बढ्यो । स्मरणीय छ, नेप्सेको हालसम्मको सर्वाधिक उचाइ १ हजार ८ सय ८१.४५ अंक हो, जुन उचाइ नेप्सेले २०७३ साउन १२ गते चुमेको थियो ।
डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएकै दिन बजार २८ अंकले घटेको थियो । सोमबारसम्म सेयर बजार १ सय ९० अंकले घटेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएयता चैत १२ गतेसम्म भने बजार २८७ अंकले घटेको थियो । यसैले वामपन्थी सरकारको नीतिप्रति आशंका भएका कारण बजारमा त्यसको प्रभाव परेको ठानिएको छ । सेयर बजार ओरालो लाग्दा बैंकबाट ऋण लिएर सेयर किनेकाहरूलाई मार्जिन कलको त्रास थपिएको छ भने बैंक तथा वित्तीय संस्थालाई मार्जिन ल्यान्डिङमा प्रवाहित कर्जामा जोखिम बढेको छ ।
कतिपयले अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले पनि सेयर बजारमा पहिरो गएको बताएका छन् । सांसदहरू समेतले सेयर बजार ओरालो लाग्नुको कारक अर्थमन्त्री भएको आरोप लगाएका छन् । सेयरबजारको सम्बन्धमा उनीबाट केही अभिव्यक्ति अवश्य आएका हुन् । अर्थमन्त्री खतिवडाले आइतबार नै पनि विराटनगरमा सेयर बजारमा बुझेर लगानी गर्न सुझाव दिंदै विगतमा अस्वाभाविक बढेको बजारमा अहिले ‘करेक्सन’ भएको अभिव्यक्ति दिएका थिएका थिए । बाघ कराउनु र बाख्रो हराउनु भनेझैं भएपछि उनको अभिव्यक्ति विवादमा परेको हो ।
सेयर लगानीकर्ताहरूको संगठन ‘इन्भेस्टर्स फोरम’ले त अर्थमन्त्री जस्तो जिम्मेवार व्यक्तिको असंवेदनशील अभिव्यक्तिका कारण बजार घटेको भन्दै पुँजीबजार अत्यन्त संवेदनशील हुने हुनाले जिम्मेवार निकाय र ओहदामा रहेका व्यक्तिहरूले केही बोल्नुअघि गम्भीर हुनुपर्ने जनाएको छ । लगानीकर्ता संघ नेपालले पनि पुँजीबजारप्रति सरकार असहिष्णु बनेको भन्दै दुःख व्यक्त गरेको छ । पुँजीबजार निरन्तर ओरालो लाग्दासमेत सरकार र सम्बन्धित निकायहरू मूकदर्शक बनेको भन्दै खेद प्रकट गरेको छ । संघले नेप्से परिसूचकले नकारात्मक प्रवृत्ति देखाइरहँदा पनि पुँजीबजारसँग सम्बन्धित निकायहरू अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधिबाट कुनै प्रकारको प्रतिक्रिया नआउनु र मूकदर्शक भएर घटनाक्रम हेरिरहनुलाई अस्वाभाविक ठानेको हो । यसैगरी पुँजीबजारमा निरन्तर गिरावट आईरहेको सन्दर्भमा नेपाल इन्भेस्टर्स फोरमले विभिन्न क्षेत्रबाट गरिने माग प्रस्तुत गर्दै यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गर्दै नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढी पुँजीकृत रकम रु. ८ खर्ब ३६ अर्ब गुमाउँदा सरकार र यसका निकायहरू मौन रहनुले १५ लाखभन्दा बढी लगानीकर्ताहरू मर्माहत भएको जनाएको छ । विगतमा जिम्मेवार निकायहरूको अदूरदर्शी नीतिका कारण मुलुकले गम्भीर रूपमा लगानीयोग्य पुँजी तथा तरलताको अभाव खेपिरहेको जनाउँदै गलत नीतिको कारणले पुँजीबजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरूको पुँजी बजारप्रतिको दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानुनहरू नहुनु नै प्रमुख रूपमा जिम्मेवार भएको फोरमको ठम्याइ रहेको जनाइएको छ । यस क्रममा विभिन्न माग राख्दै फोरमले सात दिनभित्र तिनको सम्बोधन नभएमा पुँजी बजारको विकास र लगानीकर्ताहरूको हक हितको सुरक्षाका लागि चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।
विगतको अनुभव छ, विभिन्न असहजताका बीच सेयर सूचकांक निकै उक्लिँदा त्यो उचाइ अस्वाभाविक लागे पनि कतिपयले यसलाई बजार परिपक्व हुन खोजेको पनि भन्ने गरेका थिए । यसैगरी निरन्तर ओर्लिएको सेयरबजारलाई वास्तविक स्थानमा आउन लागेको भन्नेहरू पनि छन् । यसले हाम्रो सेयरबजारमा अदृश्य चलखेल हुने गरेको र त्यस्ता तŒवको प्रभाव परेको अनुमान गर्न कठिन छैन । बिनाकारण हुने गरेको अस्वाभाविक आरोह–अवरोहले हाम्रो सेयर बजार स्वाभाविक रूपमा चलिरहेको छैन भन्ने प्रस्ट हुन्छ । एकातिर साना लगानीकर्ताहरूमा कम्पनीको वास्तविक अवस्था र भावी सम्भावनाको आकलन गर्ने भन्दा पछि हल्लाको पछाडि दौडने प्रवृत्ति छ भने अर्कातिर ठूला लगानीकर्ताहरूले आफ्नो स्वार्थमा बजारलाई प्रभावित पार्ने गरी चलखेल गर्ने गरेका कुरामा पनि दुईमत छैन । उनै बैंक तथा वित्तीय संस्था र विभिन्न कम्पनीका संस्थापक, सञ्चालक तथा यो वा त्यो रूपमा उनै सेयर बजारका खेलाडी हुनुले पनि बजारलाई सीमित व्यक्ति र त्यस्ता व्यक्तिको समूहले प्रभावित पार्ने गरेको छ, जसमा बेलाबखत केही साधारण लगानीकर्ताले फाइदा पाउन सकेका भए पनि अधिकांश सर्वसाधारण लगानीकर्ता लाभ लिनबाट वञ्चित हुने र सम्पत्ति गुमाउने अवस्थामा पुग्छन् ।
हाम्रो अर्काको देखासिकी गर्ने र हल्लाको पछाडि दौडने बानी छ । दिगोभन्दा पनि क्षणिक लाभ हेर्ने स्वभाव हाम्रो छ, यसैले विभिन्न प्रलोभनमा पर्ने र ठगिने गरेका छौं । पुँजीबजारको सन्दर्भमा पनि यस्तै अवस्था छ । यसैले सेयरमा लगानी गर्नुअघि विभिन्न पक्षमा विचार पु¥याउनुपर्छ । कम्पनीको वित्तीय अवस्था र भावी सम्भावना, राजनीतिक तथा नीतिगत स्थिरता, धितोपत्र बोर्डबाट लगानीकर्ताका हितमा चालिने कदम, सम्भावित लाभ आदि सेयरको मूल्य वृद्धिका आधार हुन्छन् । तर, हामीकहा“ यस्ता आधार वा तथ्यको विश्लेषण भन्दा पनि हल्लाको भरमा दौडने प्रवृत्ति छ, जसले सेयरको मूल्यमा अप्रत्याशित र अस्वाभाविक वृद्धि हुन्छ ।
पुँजीबजारको लगानी सधैं नै जोखिमपूर्ण हुन्छ । अझ हाम्रो जस्तो खास वर्ग र समूहले प्रभाव पार्न सक्ने बजारमा त यो झनै जोखिमपूर्ण हुन्छ । यसैले सोझासीधाले लगानीपूर्व विशेष सजगता अपनाउनुपर्छ । त्यसो त जोखिम नलिई लाभ प्राप्त हुन सक्दैन, तर कसैले चलाएको हौवा वा अनुमानको आधारमा गरिने लगानीले फाइदाको लोभमा, भएको पनि गुम्ने सम्भावना रहन्छ । अवसरको लाभ लिन सक्ने चतुरहरूले सोही बमोजिम गर्ने वा एउटाबाट नभए अर्कोबाट लाभ लिन सक्ने र क्षतिपूर्ति गर्न सक्ने भएकाले त्यसो गर्न नसक्ने नवप्रवेशी सर्वसाधारण लगानीकर्ता हल्ला र अस्वाभाविक गतिविधिप्रति विशेष सजग हुनुपर्छ ।
पुँजीबजारलाई मुलुकको अर्थतन्त्रको अवस्थाको सूचक मानिन्छ । यसमा आउने कृत्रिम उतारचढावले अर्थतन्त्रको वास्तविक अवस्थाको मापन सम्भव हुँदैन, न त त्यसले अर्थतन्त्रको अवस्था नै प्रतिविम्बित गर्न सक्छ । यसैले यसलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउनुपर्छ । जहाँसम्म सेयरबजार उत्पादक कि अनुत्पादक भन्ने विवाद हो, यो कुनै हालतमा उत्पादक होइन । हाम्रो पुँजीबजारको आकार ठूलो हुँदै गएको छ । यसको सुव्यवस्थित सञ्चालन र विश्वसनीयता अभिवृद्धि गर्नु नियामक निकाय र सम्बन्धित पक्षहरूको जिम्मेवारी हो । त्यसका लागि सबै पक्षहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । कसैका अभिव्यक्तिलाई उतारचढावका कारक ठान्नुभन्दा अभिव्यक्ति कतिसम्म वास्तविकतामा आधारित थिए भनेर पनि हेर्नुपर्ने हुन्छ । लगानीकर्ताहरू सजग नभएसम्म बजारमा कृत्रिम र प्रायोजित उतारचढाव कायमै रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्