भारतमा नेपाली महिला तस्करी ५०० प्रतिशत बढ्यो

नयाँ दिल्ली-भारतको सीमा सुरक्षा बल एसएसबीले मानव तस्करीको विषयमा सञ्चालन गरेको अध्ययनले २०१३ देखि हालसम्मको अवधिमा नेपालबाट भारततर्फ भएको महिला तस्करीको संख्यामा ५ सय प्रतिशतले वृद्धि भएको देखाएको छ । नेपालको ग्रामीण र तराई क्षेत्रबाट यी महिलालाई भारतको दिल्ली, मुम्बई, कोलकाता र अन्य सहरहरूमा भारु ५० हजारमा बिक्री गर्ने गरिएको अध्ययनले देखाएको छ ।
२०१३ मा नेपाल–भारतको सिमानामा १ सय ८ बालकालिकाको उद्धार गरिएको थियो । यसैबीच २०१७ मा ६ सय ७ लाई उद्धार गरिएको थियो ।महिला तथा बालबालिकाको तस्करीका लागि नेपाल स्रोत मुलुक भएको एसएसबीले जनाएको छ । उनीहरूलाई अवैध तरिकाबाट भारत पुर्या एपछि वेश्यावृत्ति, घरेलु सहयोगी र कठिन किसिमको श्रममा लगाउने गरिएको छ ।
मानव तस्करीको मामिलामा नेपालका २६ जिल्ला जोखिमयुक्त रहेको बताइएको छ । दलाल र दिदी भनिने मानव तस्करले ९ देखि १६ वर्ष उमेरसम्मका बालिकालाई भारतमा पुर्या उनुअघि सिमानासम्म बसको माध्यमबाट ल्याउने गरेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । वेश्यालयमा बिक्रीका लागि लोभ्याउने पेसेवर एजेन्टले प्रतिबालिकाका लागि ६ हजार भारु दिने गरेका छन् । दिदीबाहेक केही यदाकदा परिवारका सदस्यले पनि तस्करीको काम गर्ने गरेको एसएसबीले जनाएको छ ।
यदि बालबालिकालाई रोकिएमा वा प्रहरीद्वारा सोधपुछ गरिएको समयमा उनीहरूलाई आफ्नो उमेर लुकाउनका लागि भन्ने गरिएको छ ।
नेपालका बालिकाहरूलाई सुरुमा गाउँबाट काठमाडौं ल्याउने गरिएको छ । यसपछि उनीहरूलाई गेस्ट हाउस तथा गलैंचा कारखानामा लाने र त्यही दलाललाई बिक्री गर्ने गरिएको एसएसबीले जनाएको छ ।
“यसपछि उनीहरूलाई बस वा रेलको माध्यमबाट दलालले मुम्बई, कोलकाता, दिल्ली तथा साना सहरका वेश्यालयका मालिक तथा म्याडमलाई ५० हजार भारुमा बिक्री गर्ने गरिएको छ । धेरैजसो दलाल स्थानीय बसबाट पनि दिल्लीको यात्रा गर्ने गरेका छन्,” एसएसबीको अनुसन्धानले देखाएको टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।
धेरैजसो तस्करीको महिनामा जुन तथा अगस्टको अन्त्य तथा सेप्टेम्बरको सुरु देखिएका छन् । यो समयमा दिदीहरू आफ्नो गाउँमा फर्कने र भारतीय सहरमा बालिकालाई ल्याउनका लागि एजेन्टको नियुक्ति गर्ने गरेको एसएसबीले जनाएको छ । जुनदेखि अगस्टसम्मको अवधिमा नेपालका धेरैजसो पहाडी जिल्ला बाली भित्र्याउन कुर्ने भएकाले गरिबीको अवस्थाबाट गुज्रदैं आउने एसएसबीले जनाएको छ ।
भारत सरकारको पछिल्लो सर्भेलाई उल्लेख गर्दै एसएसबीले भनेको छ, ६० प्रतिशत महिला र बालबालिका व्यावसायिक प्रयोजनको यौनमा काम गर्ने गर्छन् । गरिबीबाट मुक्त हुन र आर्थिक बाध्यताका कारण उनीहरूले यसो गर्ने गरेको पनि सर्भेले देखाएको छ ।