प्रदेश ३ को आर्थिक कार्यविधि पारित «

प्रदेश ३ को आर्थिक कार्यविधि पारित

प्रदेश नम्बर ३ को प्रदेशसभाले आर्थिक कार्यविधि पारित गरेको छ । योसँगै चालू आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई बाटो खुलेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारको आर्थिक कार्यविधि पास गरेको हो । कार्यविधि नहुँदा सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेको थिएन । कार्यविधि पास भएसँगै सरकारले चैत २५ गते बस्ने प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।“नीति तथा कार्यक्रमसँगै बजेट पनि आउनेछ, हामीसँग समय कम भएका कारण चालूवर्षको बजेट ल्याउन केही सकस पर्यो ,” मन्त्री ढुंगेलले भने । सदनबाट पास भएको विधेयक प्रमाणीकरण हुँदा वैशाख महिना लाग्ने भएकाले यसआर्थिक वर्षमा काम गर्ने समय भने कम रहेको उनले बताए । “यो आर्थिक वर्षमा हामीसँग करिब ५० दिनको समय बाँकी रहन्छ । त्यो समयमा कुनै पनि विकास निर्माणको काम सम्पन्न हुँदैन,” उनले भने, “हाम्रो प्रादेशिक संरचनासमेत बनिसकेका छैनन्, त्यसैले हामी नीति तथा कार्यक्रम ल्याएसँगै स्थानीय तहसँग समन्वय गरेर योजना अगाडि बढाउँछौं, ।”मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउनुपर्ने भन्दै त्यसको तयारीमा समेत सरकार जुटिसकेको बताए । “आगामी बजेटमा राख्नका लागि योजना बैंक निर्माण गर्ने काम भइरहेको छ, एक, दुई र पाँच वर्षे योजना निर्माण गरेर सोहीअनुसार बजेट विनियोजन गर्नेछौं”, उनले भने, “अहिले प्रदेश सरकारको आर्थिक स्रोत तयार भएको छैन, हामीले केन्द्रीय सरकारबाट प्राप्त आर्थिक सहयोगबाट काम गर्नुपर्नेहुन्छ ।” उनले आम्दानीको स्रोत, प्रदेश संरचना र योजना बैंक बनेसँगै प्रदेश विकासको कोसेढुंगा सावित हुने बताए ।शुक्रबारको बैठकले आर्थिक विधेयकसँगै प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकसमेत पारित गरेको छ । प्रदेशसभाले पहिलो पटक दुईवटा विधेयक पारित गरेको हो । प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाको बैठकमा पेश गरेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारको आर्थिक कार्यविधि प्रदेशसभा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्