प्याज र गोलभेंडा आयात रोक्ने कृषिमन्त्रीको घोेषणा «

प्याज र गोलभेंडा आयात रोक्ने कृषिमन्त्रीको घोेषणा

रुपन्देही- कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले अबको दुई वर्षभित्र प्याज र गोलभेंडा आयातमा रोक लगाउने बताएका छन् । मन्त्री खनालले देशमा सम्भावना हुँदाहुँदै पनि कृषियोग्य जमिन बाँझै रहेको र नेपालमा उत्पादन हुन सक्ने कृषि उपजहरुसमेत छिमेकी देशबाट आउने क्रम बढेकाले अब यहीँ उत्पादन गरी आयात रोक्ने अवस्थामा पुग्नुपर्ने बताए । “देशलाई समृद्धिसँगै आत्मनिर्भर बनाउन चाहेका छौं भने दुई वर्ष अत्यावश्यक वस्तु बाहेकका सबै वस्तु आयातमा रोक लागाउन सक्नुपर्छ,” मन्त्री खनालले भने, “नेपालको समृद्धिका आधार भनेकै कृषि, जलस्रोत र पर्यटन हुन्, यी क्षेत्रलाई प्राथमिकता राखेर अबको बाटो तय गर्नुपर्छ ।’
उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक सधारणसभा तथा छैटौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खनालले आयात–निर्यातको खाडल बढ्दै गइरहेकाले त्यसलाई साँघुरो बनाउन कृषिमा चक्लाबन्दी गर्न आवश्यक भएको समेत बताए । “मुलुकमा आयात–निर्यातमा ठूलो अन्तर पर्दै गइरहेको छ, यो मुलुकका लागि राम्रो संकेत होइन,” उनले भने, “अब पनि हामीले वैज्ञानिक कृषि प्रणलीलाई अवलम्बन नगर्ने हो भने देशको भविष्य अन्धकारमा जान्छ ।” उनले अहिले मुलुक गहुँ र अन्डामा आत्मनिर्भर रहे पनि अन्य सबै क्षेत्रमा परनिर्भर भएको बताए ।
मन्त्री खनालले भूउपयोग नीति बनिसकेकाले त्यसलाई कार्यान्वयनमा ल्याउन ऐन तथा नियमावली बनाउन आवश्यक रहेको बताए । “अव्यवस्थित तथा अनियन्त्रित रूपमा भएको जग्गा खण्डीकरणलाई रोक्न पनि भूउपयोग नीतिको कार्यान्वयन अहिलेको आवश्यकता हो,” उनले भने, “अहिलेको जस्तै आयातमुखी अवस्था रहे सन् २०३० भित्रै मुलुकमा खाद्य संकट पर्छ ।” कृषियोग्य जमिनलाई बाँझो राख्न नपाइने उनको भनाइ थियो ।
रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले देशमा विकासको जग अझै राम्ररी नबसेको बताए । “अबको विकल्प भनेकै आर्थिक समृद्धि हो, जनजनले परिवर्तनको अनुभूति गर्न पाउने गरी काम गर्नुपर्छ,” उनले भने, “अब राजनीतिक परिवर्तनको कुरा छाडेर आर्थिक समृद्धिमा अघि बढ्नुपर्छ ।” उनले मुलुकमा उद्यमशीलताको विकास गर्नुपर्नेसमेत बताए ।
संगठनमा पुनः भण्डारी
उद्योग व्यापार संगठनको आगामी २ वर्षका लागि वर्तमान अध्यक्ष नारायण भण्डारीको नेतृत्वमा पुनः नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा गिरीश त्रिपाठी, उद्योग उपाध्यक्षमा रामचन्द्र रेग्मी, वाणिज्य उपाध्यक्षमा दर्पण श्रेष्ठ, महासचिवमा अनिल ज्ञवाली, कोषाध्यक्षमा सचिन रोक्का, सदस्यहरुमा सुरेन्द्र त्रिपाठी, राममिलन यादव, मधु अर्याल, लक्ष्मण भण्डारी, धिरज मल्लिक, गौतम गुप्तालगायत निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्