मुगुमा विषादीयुक्त भारतीय तरकारी र फलफूल आयात बढ्यो «

मुगुमा विषादीयुक्त भारतीय तरकारी र फलफूल आयात बढ्यो

मुगु- मुगुमा भारतीय तरकारी तथा फलफूलको आयात बढेको छ । जिल्लामा तरकारी र फलफूल उत्पादन कम भएपछि भारतबाट आयात बढेको हो । विषादी प्रयोग भएको करोडौं रुपैयाँको तरकारी तथा फलफूल मुगुमा भित्रिने गरेको छ ।
०६९ साल पुस १ गतेदेखि मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएपछि नियमित रूपमा भारतीय बजारबाट तरकारी भित्रिने गरेको हो । जिल्लामा मासिक १ करोड रुपैयाँ बराबरको तरकारी तथा फलफूल भारतबाट आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।
मुगुमा साग र आलु मात्र उत्पादन हुने भएकाले नेपालगन्ज र सुर्खेत हुँदै मासिक १ करोड रुपैयाँ बराबरको तरकारी तथा फलफूल भित्रने गरेको मलेसिया तरकारी पसलकी प्रोपाइटर गौरीकला सावतले बताइन् ।
कृषिजन्य वस्तु आयातमा वृद्धि भएपछि स्थानीय सरकारले उत्पादन वृद्धिको पहल गरेका छन् । स्थानीयवासीलाई तरकारी र फलफूल उत्पादनमा अग्रसर गराउन छायानाथ रारा नगरपालिकाले कृषिमा २५ प्रतिशत लगानी बढाउने जनाएको छ । नगरपालिकाका प्रमुख हरिजंग शाहीले कृषिजन्य उत्पादन आयात नियन्त्रण गर्न नयाँ कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए । उनले पहिलो चरणमा ५० प्रतिशत आयात नियन्त्रणको प्रयास गरिने जानकारी दिए ।
कृषि विकास कार्यालयलगायत जिल्लामा कार्यरत कृषिसँग सम्बन्धित विभिन्न संघ–संस्थाले स्थानीय उत्पादन वृद्धि गर्न करोडौं लगानी गरिरहेका छन् । तर, कृषिजन्य उत्पादन आयात वृद्धि भइरहँदा त्यो लगानी बालुवामा पानी हाले जस्तै हुँदै आएको छ ।

दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्