बालिकाको सामूहिक बलात्कार, चुपचुपमा मिलाउने प्रयास «

बालिकाको सामूहिक बलात्कार, चुपचुपमा मिलाउने प्रयास

इटहरी- सुनसरीको इटहरीमा बालिका बलात्कार भएको गुपचुप मिलाएको घटना सेलाउन नपाउँदै पुनः अर्काे सामूहिक बलत्कारको घटना सार्वजनिक भएको छ । इटहरी खनार वडा नम्बर १३ कि १२ वर्षियन बालिकालाई ३ युवाले सामूहिक बलात्कार गरेका छन् ।
खनार सदरार टोलकी केही सुस्त मनस्थितिकी बालिकालाई सोही गाउँका ३ युवाले खानेकुरा किनीदिन्छु भनेर नजिकैको गहुँबारीमा लगेर बलात्कार गरेको पीडितको परिवारले बताएको छ ।
पीडित बालिकाले घटनाबारे घरमा आमालाई बताएपछि घटना सार्वजनिक भएको हो । गाउँकै अविनास सरदार, रमन सरदार र नरेस सरदारले बलात्कार गरेको परिवारले जानकारी दिएको छ । पीडित बालिकाको परिवारले घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले पिडकमध्येका एक अविनास सरदारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अन्य दुई भने फरार रहेका छन् ।
पक्राउ परेका अविनासलाई म्याद थप गरी कानुनी प्रकृया अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए । अन्य दुई फरारको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
सामान्य आर्थिक अवस्था भएको सरदार परिवार मजदुरी गर्दै आएको छ । पीडित बालिकाका बुबा चन्दन सरदार मजदुरी गर्छन् । घरमा कोही नभएको मौका पारी युवाहरुले बालिकालाई बलात्कार गरेका थिए । घटनाका बारे प्रहरीमा उजुरी दिएपछि पीडित सरदार परिवारलाई समाजले गाउँमै मिलाउन दबाब दिएको बताइएको छ । पीडित बालिकाका बुबा चन्दन सरदारले गाउँका ठूला केही मान्छेहरु आएर गाउँमै आर्थिक लेनदेनमा मिलौँ भनेर दबाब दिएको बताए । उनले भने, “बिहान पनि गाउँमा सभा बसेको थियो, भन्छ गाउँमै आर्थिक लिएर मिलौँ । तर म मानिन, मलाई न्याय चाहियो ।”
चन्दनका अनुसार स्थानीय अगुवासमेत रहेका जोखन सरदार र पिडक रमन सरदारका बुबा दनालाल सरदारले आर्थिक लेनदेनमा मिल्न दबाब दिएका छन् । यता, घटना गाउँमै मिल्न दबाब दिएको विषयमा आफूलाई जानकारी नआएको प्रहरी नायब उपरिक्षक राउतले बताए । जघन्य अपराधको घटना गाउँमा मिल्नै नसक्ने भन्दै उनले भने, “कसैले यसरी मिल्न दबाब दिएको थाहा पाए उनीहरुलाई पनि पक्राउ गरी कारबाही गर्छु ।”
करिब एक महिना अघिमात्र इटहरीमा बालिका बलात्कारको घटना गुपचुमै मिलाइएको थियो । इटहरी तरहराकी एक बालिकालाई उनका प्रेमी भनिने जोकम लिम्बू र उनका साथी मनिष श्रेष्ठले बलात्कार गरेका थिए । आर्थिक लेनदेन गरी गुपचुप मिलाइएको घटनापछि प्रहरीबाटैे सूचना चुहिएर प्रहरीले छानबिन गरेको थियो । प्रहरीको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार तत्कालिन सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । घटनामा मुछिएका भनिएका इटहरीका जनप्रतिनिधि र केही युवालाई सार्वजनिक मुद्दा दायर गरीएको थियो । उनीहरु पछि जिल्ला प्रशासनबाट छुटेका थिए ।
पछिल्लो समय इटहरीमा एकपछि अर्को गर्दै बलात्कारका घटना भएका छन् । चालू आर्थिक वर्षको साउनयतामात्र इटहरी क्षेत्रमा जवरजस्ती करणीका ७ वटा घटना भएका छन्

विवेक भट्टराई

प्रतिक्रिया दिनुहोस्