‘फु’ गरेरै सरकार ढाल्ने ताकत कांग्रेसँग छ : कोइराला

दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारलाई ‘फु’ गरेरै ढाल्ने ताकत कांग्रेससँग रहेको बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरीजाप्रसाद कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित सभामा कोइरालाले सरकार संविधानलाई मिच्दै अगाडि बढिरहेको आरोप लगाए ।
“वर्तमान सरकार संविधानलाई मिच्दै गइरहेको छ, हामीहरु मुकदर्शक भएर बसेका छौं,” उनले भने, “एकदिन नेपाली जनता सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्छ। जुन दिन हामी सडकमा उत्रिन्छौ । त्यो दिन सरकार ‘फु’ गरेर ढलिहाल्छ । तर विभाजित कांग्रेसले त्यो गर्न सक्दैन ।”
प्रधानमन्त्री केपी ओलीमा अधिनायकवादको मानसिकता पलाएको आरोप लगाउँदै कोइरालाले सोही बमोजिम नै विशिष्ट अधिकार आफूमा ल्याएको बताए । सबैशक्ति एक जना व्यक्तिमा ल्याउने काम नै अधिनायकवादको सुरुवात भएको कोइरालाको भनाइ थियो । वर्तमान सरकार विस्तारै सत्ता कब्जा गर्ने बाटोमा अगाडि बढेको भन्दै अगाडि थपे, “न्यायपालिकाको दाँत फुस्काउने काम समेत भइसक्यो ।” प्रधानन्यायधीशलाई पदमुक्त गराउन केपी ओली र अग्नि खरेलको भूमिका रहेको उनले दाबी गरे । न्याय परिषद्को सचिवले चिठीको भरमा प्रधानन्यायधीशलाई पदमुक्त गराउने ताकत कहाँबाट आयो भन्दै उनले भने, “यसमा प्रधानमन्त्री केपी ओली र महान्यायधीवक्ता अग्नि खरेलको ताकत छ ।”
कोइरालाले युरोपियन युनियनले नेपाललाई क्रिडास्थल बनाउन खोजेको आरोप लगाउँदै नेपालको संविधानलाई चुनौति दिएको बताए ।
कोइरालाले कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको र त्यो आफ्नै कारणले भएको बताए । “पार्टीको संगठन नै कमजोर भएका कारण पार्टी आज कमजोर अवस्थामा पुगेको छ,” उनले भने, “यो मुलुक र लोकतन्त्रको लागि राम्रो कुरा होइन ।”
कोइरालाले आफूलाई आफ्नै छायाँसँग डर लाग्ने बताए । मोरङबाट अन्तरघातका कारण चुनाव हारेको स्मरण गर्दै उनले भने, “मलाई अरुसँग डर लाग्दैन, अरुले त अगाडिबाट छुरा हान्छन् तर आफ्नैले पछाडिबाट छुरा हान्छन् ।” आफू चुनाव हारे पनि चिन्ता नभएको भन्दै कांग्रेसले हारेकोमा आफूलाई चिन्ता लागेको कोइरालाको भनाइ थियो ।