७ महिनामा ५५ करोडका पशु आयात «

७ महिनामा ५५ करोडका पशु आयात

बाँकेस्थित नेपाल–भारत सीमानाको रुपैडिया नाकाबाट चालू आर्थिक वर्षको ७ महिनामा ५५ करोड रुपैयाँभन्दा बढीका पशु आयात भएको छ । क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालयका अनुसार गत ७ महिनाको अवधिमा ३९ करोड ४६ लाखका खसीबोका, १२ करोड ६७ लाख ५० हजारका घोडा र खच्चड र १ करोड ३० लाखका बंगुर नेपाल भित्र्या इएको हो ।
नेपागन्ज हुँदै भित्रिएका करिब ८० प्रतिशत खसीबोका काठमाडौं, पोखरा, वीरगन्जलगायत सहरमा पुग्छन् । नाकाबाट सबैभन्दा बढी खसीबोका आयात हुने गरेको क्वारेन्टाइनले जनाएको छ ।
चालू वर्षको साउनदेखि माघसम्म ठूलो परिमाणमा पशु नेपाल भित्रिए पनि यहाँबाट निर्यात हुनेको परिमाण शून्यजस्तै छ । क्वारेन्टाइनका अनुसार भारतको उत्तरप्रदेशको कल्पी, झाँसी, बहराइच र नानपारालगायत क्षेत्रबाट खसीबोका नेपाल ल्याइन्छ । नेपालमा भित्रने पशुहरु बढी मात्रामा मासुका लागि खपत हुने गरेको छ । भारतको झाँसीमा लाग्ने हाटबजारबाट प्रत्येक बुधबार र शुक्रबार हजारौं खसीबोका भित्रिने गरेको क्वारेन्टाइनले जनाएको छ ।
जमुनापारी, बारबारी तथा तराई बाख्रा नेपालमा बढी ल्याइने पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी तिलक आचार्यले बताए । भारतबाट आउने करिब १० प्रतिशत खसीबोका पाल्नका लागि प्रदेश ५, ६ र ७ का विभिन्न जिल्लामा लैजाने गरिएको छ । सामान्य स्वास्थ्य परीक्षण गर्ने गरिएको क्वारेन्टाइनले जनाएको छ । यहाँका व्यापारिक केन्द्रमा खसीबोकाको मूल्य न्यूनतम १२ हजार छ ।
भारतबाट आउने खसीबोका सस्तो हुने र स्थानीय महंगो पर्ने भएकाले भारतीय खसीबोका व्यापारिक प्रयोजनका लागि उपभोग हुने गरेका छन् । पशु क्वारेन्टाइन कार्यालयका अनुसार यो अवधिमा ३९ हजार ४ सय ६४ खसीबोका नेपाल भित्रिएका छन् । खुला सीमाका कारण अन्य नाकाबाट पनि क्वारेन्टाइन नै नगरी फुट्कर खसीबोका ल्याउने गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भारतबाट ३ हजार २ सय ७२ सुंगुर र बंगुर चालू वर्षमा नेपाल भित्रिएका छन् । बाबागन्ज र बहराइचबाट सुंगुर, बंगुर नेपाल आउने तथा बाँके र बर्दियामा खपत हुने गरेको पशु चिकित्सक रामशेवक त्रिपाठीले बताए ।
त्यस्तै ८ सय ४५ घोडा खच्चड भारतबाट भित्रिएका छन् । भारतबाट भित्रने घोडा खच्चड र गधा ढुवानीका लागि इँटाभट्टा र दुर्गम क्षेत्रमा जाने गरेका छन् । भारतबाट पशुहरुकोे आयात बढ्दै गए पनि नेपालबाट निर्यात शून्यजस्तै छ । “नेपालबाट अन्य सामग्रीको निर्यात हुने गरे पनि पशुहरु कुनै भारत जाँदैनन्,” पशु चिकित्सक त्रिपाठीले भने, “रुपैहिडा नाकाबाट बढी मात्रामा खसीबोका भित्रिने गरेकोे छ, पशुहरूमा कुनै रोगको शंका लागेमा क्वारेन्टाइनले नेपाल भित्रन रोक लगाउने गरेको छ । पन्छीजन्य सामग्री भने भारतबाट भित्रन लामो समयदेखि रोक लगाइएको छ ।”
सूचना अधिकारी आचार्यका अनुसार खुला सीमाका कारण अवैध पशुपन्छी ओसारपसार बढ्दै गएको छ । रुपैडियाबाहेक आसपासका क्षेत्रबाट अवैध पशुपछी नेपाल भित्रिने गरेका छन् । त्यसलाई रोक्न क्वारेन्टाइन सक्रिय भए पनि खुला सीमाका कारण नियन्त्रणमा समस्या छ ।
उनका अनुसार सात महिनामा अवैध रूपमा नेपाल भित्रिएका १ हजार १ सय १४ ब्रोइलर, ३ हजार १६ कुखुराका चल्ला र १२ मेट्रिक टन राँगाको मासु बरामद गरिएको छ । जसबाट ३ लाख २२ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको क्वारेन्टाइनले जनाएको छ ।
बाँकेमा भारतबाट आउने पशुको खपत भने केही वर्षयता कम हुँदै गइरहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ चिकित्सक डा. वेदबहादुर केसीले बताए । उनका अनुसार पशुमा बाँके ८० प्रतिशत आत्मनिर्भर छ । बाँके मासुका लागि करिब आत्मनिर्भर भइसकेको उनले जनाए । बाँकेमा मात्रै वार्षिक ५० हजार बढी खसीबोका उत्पादन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्