‘विकास र समृद्धिका लागि एक होऔं’ «

‘विकास र समृद्धिका लागि एक होऔं’

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद् र राष्ट्रियसभाको संयुक्त (संघीय संसद्) पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरेकी छन् । बिहीबार बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि एक हुन सबैलाई आह्वान गरेकी छन् ।
उनले मुलुक समृद्ध र स्थायित्वको बाटोमा अघि बढेको भन्दै विकासको मुद्दामा मित्र राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । देश संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राष्ट्रपति भण्डारीले सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट जारी भएको प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएसँगै अहिले संक्रमणकालको अन्त्य भएको बताइन् । आफ्नो सम्बोधनमार्फत उनले समुन्नत समाज निर्माणमा एक भएर अघि बढ्न आह्वान गरिन् ।
लोकतन्त्र मानिसको जीवन पद्धति र अनुभूत गर्ने विषय भएकाले जनताले जीवनस्तर सुधारको अनुभूति गर्न पाउनुपर्ने उनको भनाइ थियो । तीव्र गतिको समृद्धिको यात्रामा देशलाई अघि बढाउन उनले दुवै सदनका सांसदहरूलाई आह्वान पनि गरिन् । पूर्ण लोकतान्त्रिक समृद्ध मुलुक बनाउन युवाको ऊर्जा अब देशकै लागि उपयोग हुनुपर्ने उनको भनाइ थियो ।
संघीय संसद्लाई सम्बोधन गर्न बिहीबार राष्ट्रपति भण्डारी संसद् भवन पुगेकी हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षलगायतले स्वागत गरेका थिए । बैठक कक्षमा राष्ट्रपतिले आशन ग्रहण गरेपछि सभामुख महराले प्रधानमन्त्री ओलीलाई सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी थिइन् ।
बिहीबार राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने भएपछि संसद् भवनलाई सिंगारिएको थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो । सम्बोधनको कार्यक्रममा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिवहरु, कूटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्