चिनियाँ जहाज उडाउन तीन चिनियाँ क्याप्टेन आउँदै «

चिनियाँ जहाज उडाउन तीन चिनियाँ क्याप्टेन आउँदै

नेपाल वायुसेवा निगमले चिनियाँ जहाज वाई–१२ इ उडाउनका लागि ३ चिनियाँ क्याप्टेन ल्याउने भएको छ । हाल निगमसँग ४ थान जहाजका लागि २ जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् ।
निगमले नेपाली क्याप्टेनभन्दा १ हजार डलर अमेरिकी डलर बढी तिरेर चिनियाँ क्याप्टेन ल्याउन लागेको हो । निगमले एक जना चिनियाँ क्याप्टेनको लागि ८ हजार अमेरिकी डलर मासिक तलब दिनेगरी सहमति गरेको हो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ति चालकलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
वाई–१२ इ जहाज उडान गर्ने नेपाली क्याप्टेनले ७ हजार डलर पाउँदै आएका छन् । पाइलट अभाव खेप्दै आएको निगमले चिनियाँ क्याप्टेन आएपछि १७ सिट क्षमताका ४ थान वाई १२ र ५६ सिट क्षमताका दुई थान एमए–६० ले आन्तरिक उडान राम्रो गर्ने आशा लिएको कंसाकार बताउँछन् । चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाई–१२ इ सिरिजका जहाज दुर्गम क्षेत्रमा उडान गर्ने लक्ष्य राखिए पनि सुगममै उडान गर्नसमेत पाइलटको अभाव छ । विगतमा अंग्रेजी बोल्न नजान्ने पाइलट चिनियाँ पक्षले उपलब्ध गराउँदा समस्या भोगेको निगमले यसपटक भने अंग्रेजी भाषा जानेका पाइलट ल्याउन लागेको कंसाकारले जानकारी दिए ।
निगमसँग आन्तरिक उडानका लागि हाल चिनियाँ ६ थान र ट्वीनटर २ थान गरी ८ वटा जहाज भएका छन् । निगमले धमाधम चिनियाँ जहाज ल्याए पनि पाइलट तथा स्पेयर्स पार्ट्स अभावका कारण सञ्चालनमा नआउँदा प्रत्येक वर्ष घाटा बेहोर्दै आएको छ ।
नेपालमा दुर्गम क्षेत्रमा उडान गर्न भन्दै ल्याइएको वाई–१२ इ जहाजले पनि सुगम क्षेत्रमा नै उडान गरिरहेको छ । दुर्गम क्षेत्रमा उडान गर्न ल्याइएको वाई–१२ इ जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने बाध्यता रहेको कंसाकार बताउँछन् ।
जहाज खासगरी हुम्ला, सिमकोटलगायतका क्षेत्रमा उडान गराउनेगरी नेपाल ल्याइए पनि चिनियाँ पक्षले अहिलेसम्म पनि दुर्गममा उडान गर्न सहयोग नगरेका कारण सुगममा उडाउनुपर्ने बाध्यता निगमलाई छ । ६ वटा चिनियाँ जहाज किन्न ६ अर्ब ६७ करोड १० लाख रूपैयाँ अनुदान तथा एक्जिम बैंकमार्फत सहुलियत ऋण उपलब्ध गराइएको हो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रूपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । यस्तै, बाँकी ३ अर्ब ७२ करोड ८० लाख रूपैयाँमा एउटा एमए–६० र तीनवटा वाई–१२ इ जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडि नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।
दुई जहाजले अझै पाएनन् एओसी
निगमले गत महिना खरिद गरेको दुई थान वाई–१२ इले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाउनुपर्ने एयर ओर्दिनेस सर्टिफिकेट (एओसी) पाउन सकेका छैनन् । एओसी लिन प्रक्रिया पनि अन्तिम चरणमा पुगेकोले पाइलट ल्याउने र जहाजको प्रक्रियासँगै अगाडि बढिरहेको कंसाकारको भनाइ छ । प्राधिकरणले मागेका डकुमेन्टहरू बुझाइरहेकाले केही दिनमै एओसी पाउने कंसाकारले बताए ।

प्रतिक्रिया दिनुहोस्