तरकारीमा अस्वाभाविक मूल्यवृद्धि

एक महिना अघिसम्म प्रतिकिलो ६० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य बढेर अहिले दोब्बरभन्दा बढी भएको छ । हाल गोलभेंडाको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी ७० रुपैयाँ पर्ने स्थानीय काउलीको मूल्य बढेर १ सय ४० रुपैयाँ पुगेको छ, । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । बजारमा अधिकांश तरकारीको मूल्य उपभोक्ताले थेग्नै नसक्ने गरी अस्वाभाविक रूपमा मूल्य बढेको छ । संघ र प्रदेशको चुनावको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष मार परेको हो ।
“सरकारी संयन्त्र चुनावमा परिचालन हुँदा व्यवसायीले मौकाको फाइदा उठाएर हरियो तरकारीमा दोब्बरले मूल्य बढाएका छन्,” राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, “मौकाको फाइदा उठाउँदै व्यवसायीले मिलेमतोमा तरकारीमा अस्वाभाविक मूल्य बढाएका छन् ।” सरकारी संयन्त्र चुनावमा केन्द्रित भई बजारमा उपस्थित कमजोर हुँदा व्यवसायीले मनपरी रूपमा तरकारीमा कार्टेलिङ गरी दोव्बर–तेव्बर मूल्य बढाएको उनको भनाई छ । “बजारमा तरकारीको मूल्य अकासिए पनि किसानले उचित मूल्य पाउन सकेका छैनन्,” उनले भने, “व्यवसायीले किसानको खेतमा गएर सस्तोमै खरिद गर्ने र बजारमा ल्याएर दोब्बर–तेब्बर बढीमा बेच्दा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई परेको छ ।” सरकारले कडा अनुगमन गरी मूल्य बढाउने व्यापारीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भने उत्पादन नै कम भएर बजारमा तरकारीको मुल्य बढेको दाबी गर्छन । “गत वर्षको तुलनामा उपत्यकामा तरकारीको आपूर्तिमा ४० प्रतिशतले कमी भएको छ,” उनले भने, “यो वर्ष तरकारीको उत्पादन कम हुँदा मूल्य उच्च भएको हो ।” मकवानपुर, धादिङ, काभ्रे, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंमा यो वर्ष उत्पादन कम भएको उनी बताउँछन् । बाढीपहिरोका कारण उत्पादन कम भएको र नयाँ उत्पादन बजारमा नआइसक्दा मूल्य अकासिएको उनको भनाइ छ ।
कालीमाटी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले मागअनुसार तरकारी आयात नहुँदा मूल्य बढेको बताए । “सबै तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ,” उनले भने, “भारतबाट आयात हुने तरकारीको मूल्य बढेर आएकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको देखिन्छ ।” उपत्यकाको ठूलो तरकारी बजार कालीमाटीमा दैनिक ७ सय ५० टन तरकारी आयात हुने गरेकोमा केही समय यता ४ सय ५० टन मात्र भित्रिने गरेको छ । अन्य तरकारी बजारमा पनि तरकारी कम भित्रिने गरेको व्यवसायी बताउँछन । अघिल्लो वर्ष यही समयमा किसानले तरकारीको लागत मूल्य नउठाएकाले यो वर्ष खेती नै कम गर्दा मागअनुसार बजारमा आउन नसकेको व्यवसायीको भनाइ छ ।
समितिका अनुसार गत वर्ष यही समयमा प्रतिकिलो ४८ रुपैयाँ थोक मूल्य रहेको गोलभेडाको मूल्य अहिले ७० रुपैयाँ पुगेको छ । त्यस्तै ३८ रुपैयाँ रहेको प्रतिकिलो आलुको मूल्य बढेर ४५ रुपैयाँ पुगेको छ । ३३ रुपैयाँ रहेको सेतो आलुको मूल्य बढेर ४० रुपैयाँ पुगेको छ । प्याज सुकेको प्रतिकेजी २२ रुपैयाँ रहेकोमा अहिले बढेर ६१ रुपैयाँ पुगेको छ ।
प्रतिकेजी ३८ रुपैयाँ रहेको भन्टाको मूल्य ६५ पुगेको छ । ४२ रुपैयाँ रहेको घिउसिमीको मूल्य ८०, ६५ रुपैयाँ रहेको तितेकरेलाको मूल्य ८० रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिकेजी ४८ रुपैयाँ रहेको परवलको मूल्य बढेर ७० रुपैयाँ पुगेको छ भने ५२ रुपैयाँ पर्ने भिन्डी ८० रुपैयाँमा बिक्री भइरहेको छ । प्रतिकेजी ५० रुपैयाँ रहेको बोडीको मूल्य बढेर ९० पुगेको छ । बजारमा अधिकांश तरकारीको मूल्य प्रतिकिलो एक सय रुपैयाँ माथि पुगेको छ ।
तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेपछि प्रधानमन्त्री कार्यालयले अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखिनै अनुगमनमा कडाई गरेको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको फेला परे तत्काल कारबाही गर्ने विभागले जानकारी दिएको छ ।