साउदी अरेबियामा विश्वकै ठूलो सौर्य प्लान्ट

साउदी अरेबियाले विश्वकै सबैभन्दा ठूलो सौर्य ऊर्जा आयोजना सुरु गर्ने भएको छ । जापानको लगानी कम्पनी सफ्टबैंकले मंगलबार साउदीका राजकुमार मोहमद बिन सलमानसँग यस आयोजनाको सम्झौतामा हस्ताक्षर गरेको छ । साउदीले २०३० सम्म कुल २ सय गिगावाट क्षमताको सौर्य प्लान्ट बनाउने इच्छा व्यक्त गरेको बताइएको छ । यसको कुल खर्च २ खर्ब डलर लाग्नेछ । यसले बिजुलीमा खर्च हुँदै आएको करोडौं डलरको बचत हुने र १ लाखभन्दा बढी रोजगारी सिर्जना हुनेछ ।
सफ्टबैंकका सिइओ तथा अध्यक्ष मसायोसी सनले भने, “हाम्रो कम्पनी सौर्य आयोजनामा साउदी अरबलाई पूरै सहयोग गर्न तयार छ । यो आयोजनाको माध्यमबाट साउदी आगामी समयमा विश्वकै सौर्य ऊर्जाको केन्द्र पनि बन्न सक्छ । साउदी अरेबियाले म्यानुफ्याक्चरिङ उद्योगको पनि स्थापना गर्न सम्भव छ । यो माध्यमबाट साउदीले तेल र ग्यासको निर्यातबाट हुने आम्दानीलाई कम गर्न सक्छ,”
यो आयोजना सुरु भएपछि साउदी अरबमा १ लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने पनि उनले बताए ।
सम्झौतामा हस्ताक्षर गर्ने समयमा राजकुमारले यसलाई साहसिक भए पनि जोखिमयुक्त कदम भएको बताएका छन् । यो सफल हुने आशा आफूले गरेको उनले बताए ।
सनले भिजन २०३० को तारिफ गर्दै भनेका छन्, “साउदी अरेबियामा घाम राम्रो लाग्छ र जमिन तथा इन्जिनियरिङ काम गर्ने मानिसको पनि कमी छैन ।”