यी हुन् ‘वाटरप्रुफ’ स्मार्टफोन «

यी हुन् ‘वाटरप्रुफ’ स्मार्टफोन

 फोन, त्यसमा पनि स्मार्टफोन । विश्व प्रविधि बजारको जल्दोबल्दो समाचारको विषय, उपभोक्ताको चासोको विषय । फिचर फोन किन्ने पैसोमा थोरै थप्यो भने स्मार्टफोन किन्न सकिने भएकाले यो सर्वसाधारणको पहुँचमा पुगिसकेको छ । नेपालमै पनि २–३ हजार (सेकेन्ड ह्यान्ड) देखि डेढलाख पर्ने मोबाइलसम्म किन्न पाइन्छ । प्रश्न यो छ कि तपाईं कस्तो फोन किन्न चाहनुहुन्छ ? ¥याम, स्टोरेज, ब्याट्रि, क्यामरा क्वालिटि वा वाटरप्रुफ कुन फिचर तपाईंको प्राथमिकतामा पर्छ ? याद गर्नुहोस्, ग्राहकहरूकै रुचीअनुसारका फोन बनाउन निर्माताहरू पनि प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।
फिचर फोनको जमानामा विलासिताको रुपमा बुझिने स्मार्टफोन आज प्रमुख आवश्यकता बनिसकेको छ । त्यसैले स्मार्टफोन उत्पादकहरू आफ्ना उपभोक्तालाई आकर्षित गर्न वा चित्त बुझाउन लागिपरेका हुन्छन् । सयौंका संख्यामा स्मार्टफोन ब्राण्डहरू उपभोक्ता तान्न तछाँडमछाड गरिरहेका छन् । मोटाइ, स्क्रीन साइज, पातलोपना, क्यामरा क्वालिटी, प्रोसेसर स्टोरेजको प्रतिस्पर्धाले गर्दा स्मार्टफोनहरू सस्ता पनि बनेका छन्, जसले गर्दा मध्यम तथा निम्न वर्गीय उपभोक्ता पनि प्रविधिमैत्री बनेका छन्, बन्दैछन् । तर, अहिलेसम्म सस्तो बन्न नसकेको मोबाइलको फिचर हो वाटरप्रुफ ।
अझ भन्नुपर्दा अहिलेसम्मको महँगो फिचर नै वाटरप्रुफ बनेको छ । किनकी अन्य सुविधामा चलेका प्रमुख ब्राण्ड भन्दा आधा सस्तो थप फिचरसहितका नयाँ फ्ल्यागशीप फोन उत्पादक बजारमा आइसकेका छन् । तर वाटरप्रुफ फिचर भएका फोनको मूल्य भने घट्न सकेको छैन । यसको कारण हो वाटरप्रुफ सर्टिफिकेसन प्रक्रिया र यसैअनुरुप फोनको हार्डवेयर तथा सफ्टवेयरहरू पनि मिलाउनुपर्ने बाध्यता । वाटरप्रुफ फोनलाई विशेषगरी आइपी ६७ र आइपी ६८ सर्टिफिाइड फोनको रुपमा लिइन्छ । यसको अर्थ हो स्मार्टफोन वा ग्याजेटमा पानी नपस्ने फिचर छ । अर्थात् आइपी रेटिङको मापदण्ड अनुसार कुन फोन वाटरप्रुफ हो वा होइन भन्ने छुट्याउन सकिन्छ । आइपी रेटिङ पास गरेका फोनले मात्र आफूलाई वाटरप्रुफ फोनको रुपमा चिनाउन पाइन्छ ।
विश्व बजारमा वाटरप्रुफ स्मार्टफोन उत्पादक कम्पनीहरू दर्जन बढी छन् । कतिपयले निरन्तर आफ्ना उत्पादन वाटरप्रुफ बनाउँदै आएका छन् भने कतिपयले भविष्यमा यस्ता फोन उत्पादन गर्ने योजना सार्वजनिक गरिरहेका छन् । यद्यपी खर्चिला फोन मानिए पनि अरु भन्न भिन्न फिचरका रुपमा रहेको वाटरप्रुफसँग डस्टप्रुफ फिचर पाइने स्मार्टफोन उत्पादक चर्चित ब्रान्ड भने एक दर्जनको हाराहारीमा छन् । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित खबरलाई आधार मान्ने हो भने मुख्य मुख्य वाटरप्रुफ फोन उत्पादन कम्पनी र तिनका उत्पादनलाई यसरी हेर्न सकिन्छ ।

सामसङः एस एटदेखि एस नाइनसम्म
विश्वको प्रमुख स्मार्टफोन उत्पादक कोरियाली कम्पनी हो सामसङ । कम्पनीले विश्वमै वर्षेनी सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने रेकर्ड निरन्तर कायम गरिरहेको छ । सम्भवतः सामसङ नै यस्तो कम्पनी हो जसको सबैभन्दा बढी वाटरप्रुफ फोन बजारमा छन् । कम्पनीले ग्यालेक्सी सिरिजको एस एटदेखि यताका फ्ल्यागशीप फोनलाई वाटरप्रुफ रेटिङ आइभी ६८ लाइसेन्स लिँदै आएको छ । कम्पनीको हालै सार्वजनिक गरेको ग्यालेक्सी एस नाइन र एस नाइट प्लस पनि वाटरप्रुफ छन् भने ग्यालेक्सी एस एट एक्टिभ र नोट एट पनि वाटरप्रुफ फोन हुन् । एस नाइन र एस नाइन प्लस नेपाली बजारमा पनि भित्रीसकेका छन्, जसको मूल्य क्रमशः ९२ हजार ९ सय र १ लाख ४ हजार ९ सय तोकिएको छ ।
सामसङको वाटरप्रुफ ४ हजार एमएएच व्याट्रि जडित मेटल बडी स्मार्टफोन हो । एस एट र एस एट बजारमा आइसकेपछि गत वर्ष सार्वजनिक भएको यो अपग्रेडेट सिरिज वाटर प्रुफ छ भने यसको सुरुवाती मूल्य ८५० डलर रहेको छ । सामसङको नोट एट पनि निकै चर्चामा रहेको फोन हो । स्न्यापड्रागन ८३५ चिपसेट रहेको यो फोन नोट सिरिजको पछिल्लो फोन हो । यसको नेपाली मूल्य एक लाख माथी छ ।

एप्पलः आइफोन एट, एट प्लसदेखि आइफोन एक्ससम्म
प्रमुख स्मार्टफोन उत्पादक सामसङको स्मार्टफोनहरू वाटरप्रुफ भएपछि दोस्रो उत्पादक एप्पलमा फोन वाटरप्रुफ नहुने त कुरै भएन । त्यसमा पनि महँगा ग्याजेट उत्पादन गर्ने वा महँगो आइटी कम्पनीको नाममा एप्पलको नाम पहिलो नम्बरमा आउँछ । एप्पलले पनि सामसङ जस्तै आफ्नो आठौं सिरिज अर्थात् आइफोन एट र एट प्लसबाट दुई वर्ष यता फ्ल्यागशीपमा वाटरप्रुफ सुविधा थप्न थालेको हो । त्यसैगरी पछिल्लो उत्पादन आइफोन एक्समा पनि यो फिचर कायम नै छ । अन्य सुविधासँगै वाटरप्रुफ पनि रहेको आइफोन एक्स सम्भवतः चल्तीका फ्ल्यागशीपमा महँगो फोन हो ।
आइफोन एक्स आए पनि आइफोन एट र एट प्लसको चर्चा र मूल्य भने अझै घटेको पाइँदैन । आइफोन एक्सको सुरुवाती अन्तर्राष्ट्रिय मूल्य ९९९ डलर रहेको छ भने नेपाली बजारमा ६४ जीवीको आइफोन एक्सको मूल्य एक लाख ३८ हजार रहेको छ भने २५६ जीवीको स्टोरेज वाला फोनलाई एक लाख ५९ हजारसम्म तोकिएको पाइन्छ । सम्बन्धित मुलुकको भ्याट सिस्टमका आधारमा आधिकारिक विक्रीको मूल्य फरक पर्ने गरेको छ । यद्यपी नेपालमा महँगा मूल्यका फोन विदेशबाटै मगाएर बोक्ने चलन पनि छ । तर, सिधै किन्न चाहेमा पनि एप्पलका उत्पादनहरू अफलाइन र अनलाईन दुबै नेपाली मार्केटमा किन्न सकिन्छ । आइफोन एटको अन्तर्राष्ट्रिय सुरुवाती मूल्य ६९९ डलर र एट प्लसको सुरुवाती मूल्य ७९९ डलर रहेको छ । नेपाली बजारमा ६४ जीवीको आइफोन एटको ९८ हजार ५ सय र २५६ जीवीको मूल्य एक लाख १९ हजार ५ सय तोकिएको छ ओलिज स्टोरमा ।

गुगलः पिक्सेल टु
सर्च इन्जिन गुगलडटकमका नामले विश्व चर्चित कम्पनी हो गुगल । विश्वका ८५ प्रतिशत स्मार्टफोनमा चल्ने एन्ड्रोइड अपरेटिङ सिस्टमसमेतको सञ्चालक गुगल इंकले पछिल्लो समयमा पिक्सेल ब्राण्डको फ्ल्यागशीप फोन ल्याएर विश्व बजारमा आएको छ । कम्पनीको पछिल्लो उत्पादन हुन् पिक्सेल र पिक्सेल टु एक्सएल । ६४ र १२८ स्टोरेजमा उपलब्ध दुबै फोन चार जीवी ¥याम जडित छन् । स्न्यापड्रागन ८३५ प्रोसेसर जडित दुबै फोन १२.३ मेगापिक्सेल क्यामरा, ८ मेगापिक्सेल फ्रन्ट क्यामरा जडित छन् भने विश्व बजारमा सुरुवाती मूल्य ६४९ र ८४९ छ । यी सुविधाका बाबजुद पिक्सेल टु फोन सिरिजको विशेषता भनेको वाटरप्रुफ हुनु पनि हो ।

नोकिया ८ सिरोक्को
एचएमजी ग्लोबलले बजारमा ल्याउन थालेको नोकिया ब्राण्डका फोनमध्येको सबैभन्दा पछिल्लो उत्पादन हो नोकिया एट सिरोक्को । यो फोन कम्पनीकै महँगो फोन त हो नै वाटरप्रुफ लगाएतका फिचर पनि यसमा छ । हालैमात्र बजारमा आएको यो फोनलाई सामसङको ग्यालेक्सी एस एटसँग तुलना गरिएको पाइन्छ । अर्थात् यो फोनको फिचर सामसङको फिचरसँग मिल्दा छन् । यद्यपी यसका आफ्नै फरक विशेषता छन् । एन्ड्रोइड वन अपरेटिङ सिस्टमबाट चल्ने यो ५.५ इन्चको डिस्प्लेफोनका अन्य विशेषताहरूमा टु के रिज्योलुसन डिस्प्ले, ६ जीवी र ८ जीवी ¥याम, १२८ जीवी स्टोरेज, क्वालकम ८३५ चिपसेट, १२ र १३ मेगापिक्सेलको डिउल क्यामरा लगाएत छन् । टेक साइट सिनेटका अनुसार ३२६० एमएएचको ब्याट्रि जडित आइपी ६७ रेटिङ सर्टिफाइड यो फोनको अन्तर्राष्ट्रिय बजारमा सुरुवाती मूल्य ९२५ डलर छ ।

एलजी, सोनी र मोटोरोला पनि
वाटरप्रुफ स्मार्टफोन उत्पादकमा एलजीको नाम चर्चित नै हो । खासगरी गत वर्ष सार्वजनिक गरिएको भी ३० र हालै सार्वजनिक गरिएको भी ३० एक दुवै वाटरप्रुफ हुन् । यसअघि बजारमा आएको कम्पनीको जी ६ पनि वाटरप्रुफ सर्टिफाइड छ । यीमध्ये भी ३० एसमा वस्तु पहिचान र आवाज पहिचान लगाएतका एआइ फिचर पनि छन् ।
स्मार्टफोन उत्पादक सोनीका एक्सजेट र एक्सजेट टु कम्प्याक्ट मोडेलका स्मार्टफोन वाटरप्रुफ छन् । हालसालै सार्वजनिक भएका यी फोन वारलेस चार्जिंग सुविधाका छन् । ८४५ स्न्यापड्रागन प्रोसेसर जडित यी फोन विश्व बजारमा आउने क्रममा छन् । त्यसैगरी मोटोरोलाले पनि आफ्नो पछिल्लो ग्याजेट मोटो एक्स फोरलाई वाटरप्रुफ बनाएको छ । हालै सार्वजनिक भएको यो फोन पनि विश्वबजारमा जाने क्रममै छ ।

के हो आईपी रेटिङ?
कुनै पनि डिभाइस वाटरप्रुफ छ वा छैन ? छ भने कुन स्तरको वाटरप्रुफ ग्याजेट हो भन्ने मापदण्डलाई इनग्रेस प्रोटेक्सन रेटिङ वा इन्टरनेसनल प्रोटेक्सन रेटिङ (आईपी रेटिङ) भनिन्छ । यो रेटिङलाई इन्टरनेशनल इलेक्ट्रोटेक्निकल कमिसन (आइइसी) ले संरक्षण गरेको छ । आइपी रेटिङमा हाल दुई वटा मापदण्ड चलेका छन्, आइपी ६७ र आइपी ६८ । यस अर्थमा स्मार्टफोन उत्पादकले आफ्नो उत्पादनको कभर वा आधिकारिक सूचनामा आइपी ६७ वा आइपी ६८ लेखेका छन् भने मात्र त्यो फोन वाटरप्रुफ हो । वाटरप्रुफसँगै हिजोआज स्मार्टफोनहरूले धुलो (डस्ट) प्रुफ पनि बताउने गरेका छन् । जसका स्मार्टफोनहरूले वाटर र डस्ट दुबै प्रुफको लाइसेन्स लिएका हुन्छन् । फुटाउँदा नफुट्नेदेखि आगोले नपोल्नेसमेतका फिचर पनि पाइन्छन् । तर वाटरप्रुफ सुविधा भने अलिक बढी चर्चित सुविधा हो तर यस्ता फोन महँगा भने छन् ।
वाटरप्रुफ फोनमा सर्टिफिकेसन लिएका सुरु अवधीका फोनमा आइफोन एट र एट प्लसले आइपी ६७ रेटिङ लिएका छन् । यसको अर्थ हो यी फोन ३.३ फिटमुनि पानीको तहसम्म एक मिनेटसम्म राख्दा पनि यसमा पानीले असर गर्ने छैन । अर्को उदाहरण सामसङको ग्यालेक्सी एस एट, जसमा आइपी ६८ रेटिङ छ । यसको अर्थ एस एट वाटर प्रुफमा एक स्टेप माथि छ आइफोन एट र एट प्लसभन्दा । अर्थात् आइपी ६८ रेटिङका फोन पाँच फिट गहिरो पानी मुनी १ मिनेट ३० सेकेन्डसम्म डुबाउँदा पानीले कुनै असर गर्दैछ । यी फोन बोकेर झरीमा हिँड्दा वा स्वीमिङ पुलमा फोटो खिच्न पनि मिल्छ । कतिपय फोनले वाटरप्रुफ सर्टिफिकेट नलिए पनि सामान्य अवस्थामा पानीबाट असर नहुने बताउँदै आएका छन् । वनप्लसले वनप्लस थ्रीदेखि फाइभ टि सम्ममा फ्ल्यागसीप फोनलाई वाटरप्रुफ सर्टिफिकेट नलिए पनि असावधानीबस एकछिन पानीमा भिज्दैमा भने पानी नपस्ने बताउँदै आएको छ । यद्यपि वाटरफ्रुफ हुनका लागि सर्टिफिकेसन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्