विद्यालयमा वडा कार्यालय

पाल्पाको बगनासकाली गाउँपालिका–४ खानीछापमा रहेको हिमालयन आधारभूत विद्यालयमा वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पशुसेवा उपकेन्द्र सञ्चालन गरिएको छ ।
अझ रोचक के छ भने विद्यालयको एउटै कोठामा ३ वटा कार्यालय सञ्चालनमा छन्, जहाँ वडा कार्यालय, अतिरिक्त हुलाक कार्यालय र पशुसेवा उपकेन्द्रले कामकाज गरेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित एक वडाले विद्यालय भवनबाटै वडाको कामकाज गरेको छ । बगनासकाली गाउँपालिका–४ खानीछापको आफ्नै वडा भवन नहुँदा विद्यालयको कोठाबाट दैनिक कामकाज सञ्चालन भएको जनाइएको छ । साविकको गाविस भवन सानो भएको र सो भवन पनि स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टर निर्माणका लागि एक महिनाअघि हस्तान्तरण भएपछि अहिले वडाको कामकाज स्थानीय हिमालयन आधारभूत विद्यालयको भवनबाट गरिएको हो ।
वडा कार्यालय नहुँदा विद्यालयको सानो कोठाभित्रै काम गर्नुपर्ने बाध्यता रहेको वडासचिव कुलप्रसाद अर्यालले बताए । उनकाअनुसार विद्यालयको साना कोठाबाटै वडाको कामकाज, सिफारिस, घटना दर्तालगायतका वडाका काम गर्दा ज्यादै समस्या भएको छ । विद्यालयमा वडा कार्यालयसँगै एउटै कोठामा अतिरिक्त हुलाक कार्यालय र पशुसेवा–उपकेन्द्रको कार्यालयसमेत सञ्चालनमा छन्, त्यहाँसमेत सम्बन्धित कार्यालयले सेवाग्राहीलाई सेवा दिएका छन् । स्वास्थ्यचौकीको आफ्नै भवन नभएको हुँदा बर्थिङ सेन्टर सञ्चालनका लागि वडाले सहयोग गरेको खानीछाप स्वास्थ्यचौकीका प्रमुख राकेसकुमार यादवले बताए । तर विद्यालयबाटै अन्य कार्यालयले सेवा दिँदा समस्या भएको छ ।
“विद्यालय र वडाको कार्यालय एउटै भवनमा हँुदा सेवाग्राही र विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ,” वडाध्यक्ष हुतमान सिंह दर्लामीले भने, “वडा भवन र अन्य विषयगत कार्यालयको भवन निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ ।”
–अमृत अधिकारी