अर्जुनधाराका क्रसर अवैध «

अर्जुनधाराका क्रसर अवैध

झापाको अर्जुनधारा नगरपालिका आसपासका चुरे जंगल, नदीलगायतका स्थानमा रहेका खानी तथा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।
बासस्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्षणबाट दुई किमि दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकेको छ । यो खानी तथा क्रसर उद्योगलाई नियमन तथा नियन्त्रण गर्न सरकारले बनाएको नियम हो । नियममा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दा अनिवार्य रूपमा वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्दछ ।
खानी तथा खनिजपदार्थ ऐन, २०४२ र नियमावली, २०५६ अन्तर्गत खनिज कार्य गर्न चाहने व्यक्तिले खानी तथा भू–गर्भ विभागको अनुमति लिनुपर्ने र अनुमति प्राप्त गरेको व्यक्तिले उत्खनन कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुनेलगायतका विभिन्न प्रक्रिया तथा सर्तहरूको पालना गर्नुपर्ने बाध्यकारी नियमको व्यवस्था छ । ढुंगा, गिट्टी, बालुवा उद्योगहरूले सरकारले बनाएको मापदण्ड पालना नगरेको गुनासो तीव्ररूपमा बढे पनि समस्या उस्तै छ ।
अनियन्त्रित रूपमा सञ्चालित खानी तथा क्रसर उद्योगको सञ्चालनलले वातावरणमा न्यून असर गर्ने उपायहरूको अवलम्बन गरिएको देखिएको छैन । जसले गर्दा वातावरणीय सन्तुलन बिग्रिएको, भू–क्षय बढेको, खोलानालाको आकार बढ्न गई बाढी आउने र कटान हुने समस्या रहेको, खेतीयोग्य जमिन नासिएको, पहिरो, कटानको क्रम बढेको, पानीको मुहान सुकेको जस्ता वातावरणीय असर प्रत्यक्ष रूपमा देखिएको छ ।
यस्तो असर देख्न थाले पनि खानी तथा क्रसर उद्योगहरूमा सरकारी तथा प्राविधिक अनुगमनसमेत हुनसकेको छैन । ढुंगा, गिट्टी, बालुवाको निकासीलाई सुरक्षित र व्यवस्थित बनाएर वातावरण, सडक, पुलपुलेसा, खोलानाला, वनजंगल, पानीको मुहान, सिँचाइको संरक्षण गर्न तथा बाढी पहिरो नियन्त्रण, प्रदूषण नियन्त्रण र नदीकटान तथा मरुभूमीकरणको नियन्त्रण गर्नु तत्कालको आवश्यकता देखिएको वातावरणविद्हरू बताउँछन् ।
नाफा कमाउने नियतले मापदण्ड मिचेर सञ्चालकले उद्योग सञ्चालन गर्नुपरेको कारण सरकार रहेको र सरकारको नीति–नियमअनुसार चल्दा झण्झटिलो भएपछि व्यवसायीले मापदण्ड पालना नगरिकनै ढुंगा–खानी तथा क्रसर उद्योग सञ्चालन गरिरहेको केही व्यवसायी बताउँछन् ।
क्रसरबाट सञ्चालित ट्रिपरका कारण बर्सेनि लाखौ लगानी हुँदै आएको कृषि सडक भत्किएर र धुलो धुँवाको कारण अर्जुनधारा नगर क्षेत्र कुरुप बनेको छ । अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित अधिकांश क्रसर उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन हुँदा केन्द्रीय सरकार र स्थानीय सरकारले ती उद्योगलाई कुनै कारबाही र उपयुक्त स्थानमा व्यवस्थापन गर्न पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । क्रसरबाट सञ्चालित ट्रिपरका कारण बर्सेनि लाखौ लगानी हुँदै आएको कृषि सडक भत्किएर र धुलोधुँवाका कारण अर्जुनधारा नगर क्षेत्र कुरुप बनेको छ ।
तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्