१० वर्षलाई नवीकरणीय ऊर्जा विकास घोषणा गर्न प्रस्ताव

आगामी १० वर्षलाई नवीकरणीय ऊर्जा वर्ष घोषणा गर्न प्रस्ताव गरिएको छ । ‘हरेक घरः ऊर्जा घर’ भन्ने अभियानका साथ काठमाडौँमा बिहीबारदेखि सुरु भएको नवीकरणीय ऊर्जा विकास तथा प्रविधिसम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा यस्तो प्रस्ताव गरिएको हो ।
काठमाडौं विश्वविद्यालयको मूल आयोजनामा सुरु भएको सम्मेलनमा आयोग समितिका संयोजक एवं विश्वविद्यालयका प्राध्यापक डा. रमेशकुमार मास्केले २०७५ साललाई नवीकरणीय ऊर्जा वर्ष तथा २०७५–०८५ साललाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउन प्रस्ताव गरेका थिए । जलविद्युत्सहित सौर्य ऊर्जा (सोलार), वायमासलगायतका नवीकरणीय ऊर्जाको विकासलाई प्राथमिकता दिनका लागि नवीकरणीय ऊर्जा वर्ष घोषणा गर्नुपर्ने उनको तर्क थियो । कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नवीकरणीय ऊर्जा वर्ष मनाउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए ।
कार्यक्रममा बोल्दै एसियन इस्टिच्युट अप्m टेक्नोलोजी (एआईटी) थाइल्याण्डका प्राध्यापकले विश्वमा अहिलेसम्म २ अर्ब ८० करोडले स्वच्छ चुलो प्रयोग नगर्ने र एक अर्ब अझै विद्युत्बाट वञ्चित रहेको बताउँदै नेपालमा सन् २०२० भित्र नवीकरणीय ऊर्जाको हिस्सा २० प्रतिशत पु¥याउने लक्ष्य राखिएको जानकारी दिए ।
सम्मेलनमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, काठमाडौँ विश्वविद्यालयका उपउपकुलपति डा. रामकण्ठ माकजु, नाष्टका उपकुलपति डा. जीवराज पोखरेल, इस्टिच्युट अफ इन्जिनियरिङ एन्ड साइनटिस्ट रिसर्चका प्राध्यापक रेवन खान, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललगायतले नवीकरणीय ऊर्जाको हिस्सा बढाउँदै लैजानका लागि सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
२५ राष्ट्रबाट एक सय विदेशी प्रतिनिधिसहित तीन सय सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा ९० कार्यपत्र प्रस्तुत हुन लागेका छन् । कार्यक्रममा मन्त्री पोखरेल इन्जिनियर खिलानन्द कँडेलद्वारा लिखित जलविद्युत् उत्पादन क्षमतासम्बन्धी पुस्तकको विमोचनसमेत गरिएको थियो ।