५० करोडको लगानीमा विग होटल सञ्चालनको तयारी

लामो राजनीतिक अस्थिरताका कारण लगानीबाट टाढिएका उद्योगी व्यवसायीहरू पछिल्लो समय आक्रमक लगानीका साथ आउन थालेका छन् ।
खासगरी विराटनगरमा पर्यटनसहितका सेवामूलक क्षेत्रमा लगानी गर्नेहरूको ओइरो नै लाग्न थालेको छ । संविधान जारी भएपछि आशावादी बनेका लगानीकर्ता तीनै तहको निर्वाचन सकिएर स्थिर सरकार बनेसँगै थप लगानी गर्न हौसिएको देखिन्छ । विराटनगरमा पछिल्लो ३ वर्षयता मात्रै पर्यटनमा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइन्छ ।
यसैक्रममा ५० करोड रुपैयाँको लगानीमा विग होटल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । विराटनगर–जोगबनी सडकअन्तर्गत रोडशेष नजिकै होटलको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । वीरेन्द्र न्यौपाने र रुपमणि राजभण्डारीको लगानी रहेको होटलमा अन्तर्राष्ट्रियस्तरका ५३ वटा कोठा छन् । हरेक कोठा वातानुकूलित हुने जनाइएको छ । ३ वटा स्वीट रुम छन् । “होटलमा तत्कालका लागि थ्रीस्टारको सुविधा हुनेछ,” व्यवस्थापक केशवप्रसाद पौडेलले भने, “विस्तारै फोस्टारको बनाउने योजना छ ।”
होटल वैशाख १ गतेदेखि सुचारु हुनेछ । ८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५ देखि ७ सय अट्ने पार्टी हल पनि छ । “पाटेसन गरेर १ सयदेखि माथि आवश्यकता र ग्राहकको मागअनुसार तयारी गर्न सकिन्छ पाटी हललाई,” पौडेलले भने । होटलमा ६ तला छन् । स्थानीयसहित इण्डियन, चाइनिज, इटालियन खानाका परिकार उपलब्ध हुनेछ ।
८० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । ३० वटा गाडी अट्ने पार्किङ, ३० जना क्षमताको कफीसप, १५० क्षमताको रेष्टुरेन्ट पनि होटलमा हुने उनले बताए । “स्पा, हेल्थ क्लब र क्यासिनो पनि होटलमा सञ्चालनमा ल्याउने योजना छ,” पौडेलले भने, “त्यसका लागि केही समय लाग्न सक्छ ।” स्वीमिङपुल, रुफटफ सुविधा पनि छ होटलमा ।
विराटनगरमा पर्यटनको सम्भावना धेरै देखेर लगानी गरेको सञ्चालक राजभण्डारीले बताए । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याउन लागिएको हो । अझ विराटनगरबाटै माउन्टेन फ्लाइटसहित सम्पूर्ण आन्तरिक उडान हुने चर्चाले पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । विराटनगरलाई केन्द्र बनाएर भारतीय पर्यटकहरू पूर्वका मिल्केजलजले, हिले, भेंडेटार, वसन्तपुर, पाथिभरा, हलेसी, बराहक्षेत्रलगायतका प्राकृतिक र धार्मिक पर्यटकीयस्थल घुमेर फर्किने गरेका छन् ।
यसरी आउने पर्यटकहरू बास बस्न विराटनगर नै फर्किन्छन् । “अन्य क्षेत्रमा भन्दा सुविधा सम्पन्न होटलका साथै सुरक्षा पनि भएकाले पर्यटकहरू घुमेर विराटनगर नै आउँछन्,” होटलका सञ्चालक न्यौपानेले भने, “अझ माउन्टेन फ्लाइट र आन्तरिक उडान विराटनगरबाटै हुने हो भने त विराटनगरको मात्रै होइन १ नम्बर प्रदेशकै पर्यटन बजार गुल्जार हुन्छ ।”
ग्राहकको सुविधामा सम्झौता नगर्ने व्यवस्थापक पौडेल बताउँछन् । “२०–२५ वर्षदेखि यही क्षेत्रमा काम गरेका कुक र सेफ छन् हामीसित,” उनले थपे, “सेवा सुविधामा कुनै कमी हुने छैन होटलमा ।”
पछिल्लो समय विराटनगरमा सपिङ मलका साथै पर्यटन, शिक्षा र स्वास्थ्यलगायतका सेवामूलक क्षेत्रमा आक्रमक लगानी भइरहेको छ । उद्योगी मोती दुगडको ४० करोड लगानीको होटल ह्यारिसन प्यालेस डेढ वर्षअघि सञ्चालनमा आएको छ । दुगडकै १ अर्ब २० करोड लगानीको फाइप स्टार होटलको भौतिक संरचनाको निर्माण धरान रोडमा भइरहेको छ । त्यहाँ सिनेमा हलसहितको मल पनि हुनेछ । पुण्य भट्टराई र गिरिराज बस्नेतको २५ करोडको होटल एसियाटिक पनि सञ्चालनमा आएको धेरै भएको छैन । रेवतबहादुर थापाद्वारा सञ्चालित रत्ना होटलको भौतिक संरचना बसपार्कमा निर्माण भइरहेको छ । पुराना होटलहरूले पनि भौतिक संरचना थपिरहेका छन् ।
नयाँ र पुराना होटलले थपेको भौतिक संरचना जोड्ने हो भने ३ वर्षयता विराटनगरमा ५ अर्बभन्दा बढी नै लगानी भएको पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ बताउँछन् । प्रदेशको अस्थायी राजधानीसहित माउन्टेन फ्लाइट र आन्तरिक उडानको चर्चाले अझै धेरै लगानी आउने सम्भावना देखिएको उनको भनाइ छ ।
–मीनकुमार नवोदित