पुँजीको सिर्जनाबाट नै समाजवाद : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायित्वसँगै स्थायी सरकारको निर्माण भएकाले कानुन र प्रशासनमा समसामयिक सुधारसहित आर्थिक र लगानी मैत्रीवातावरण सरकारले यथासक्य छिटो तयार गर्ने विचार व्यक्त गरेका छन् ।
उक्त कुरा उपराष्ट्रपति पुनले नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरूसँगको चैत १५ गते भएको भेटवार्ताको अवसरमा व्यक्त गरेका हुन् ।
विकास किन भएन यसको दोष र जिम्मा कसैले लिने वादिनेभन्दा पनि यसमा आजसम्म देखिएको कमीकमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्न पर्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति पुनले पुँजीको सिर्जना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भएकाले यसमा सरकारले विशेष ध्यान दिने बताए ।
उक्तअवसरमा उपराष्ट्रपतिमा पुनःनिर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले परिसंघले सधैं मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनलाई केन्द्रमा राखी आफ्ना धारणाहरू व्यक्त गर्दै आएको र सरकारसँग सहकार्यसमेत गरेको धारणा व्यक्त गरे । अब सबै क्षेत्रको लक्ष्य मुलुकको समृद्धि नै भएकाले यो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा परिसंघले परिसंघ–प्रबुद्ध परिषद् समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्रबारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराए ।
अध्यक्ष शर्माले उक्त अवसरमा परिसंले तयार पारेको समृद्धिको मार्गचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गर्दै असल दृष्टिकोण र मुलुकलाई केन्द्रविन्दुमा राखी परिसंघले तयार गरेको विकासको खाका सरकारलाई आफ्नो नीति निर्माणमा सहयोग पुग्ने धारणासमेत व्यक्त गरे ।
उक्त भेटवार्ताको अवसरमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलगायत परिसंघका पदाधिकारीहरू, गभर्निङ काउन्सिलका सदस्यहरू तथा राष्ट्रिय परिषद्का सदस्यहरूको समेत उपस्थिति रहेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।