३१ वर्षको एक चोटी झुल्किएको विमान फेरि कहिले झुल्किएला

जिल्लाको कोटबाडा विमानस्थलमा निर्माण कार्य थालेको ३१ वर्षपछि गत वर्षको माघ परीक्षण उडान गरिएको थियो । तारा एयरलाइन्सको ६ एनएबीएम कल साइनको जहाजले गत वर्षको माघ २९ गते शनिबार सफल परीक्षण उडान भरेको थियो ।
कोटबाडा सुनथराली विमानस्थल ३१ वर्षदेखि निर्माणाधीन अवस्थामा थियो । २०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल विभिन्न कारण अलपत्र अवस्थामा थियो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेतृत्व कर्णालीका जीवनबहादुर शाहीले सम्हालेपछि उनको पहलमा विमानस्थल परीक्षण उडान गरिएको थियो ।
शाही मन्त्री रहेकै बेला चाँडै नै विमानस्थल सञ्चालनमा ल्याउन प्रतिबद्धता जनाएका थिए । तर, चाँडै नै उनले सरकारबाट बाहिरिनु परेका कारणले नियमित सञ्चालनमा ल्याउन समस्या आएको नेपाली कांग्रेस कालिकोटका सह–सचिव दमनबहादुर शाहीले बताए । “शाही मन्त्री नै भएका बेला नियमित उडान गर्ने तयारी रहेको थियो,” उनले भने, “चाँडै नै मन्त्रीबाट राजीनामा दिनु परेका कारणले त्यो सम्भव भएन् ।”
वि.सं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल एक पटक परीक्षण उडान गरिए पनि नियमित उडान कहिले हुने त्यसको कुनै भरोसा नभएको नरहरिनाथ– १ का वडाध्यक्ष पृथ्र्वीबहादुर विष्टले बताए । “विमानस्थल निर्माण कार्य थालिएको ३१ वर्षमा परीक्षण उडान गरियो,” उनले भने, ‘नियमित उडान कहिले हुने हो । त्यसको कुनै पनि अत्तोपत्तो छैन ।”
विमानस्थल निर्माण विगतमा चुनावमा राजनीतिक नारा बनाउने गरेकोमा गत वर्ष भएको स्थानीय तहको निर्वाचन, प्रदेशसभा, प्रतिनिधिसभाको चुनावमा यहाँका राजनीतिक दलहरूले विमानस्थलको नियमित उडान चुनावी एजेन्डा बनाएकामा जितेर गएका र हारेर गएका कसैले पनि नियमित उडानमा ध्यान नदिएको स्थानीय गणेशबहादुर बिष्टले बताए । “सबैले विमानस्थलाई चुनावी एजेन्डाका रूपमा बनाउने गरेका छन् ।” उनले भने, “तर, जितेर गएपछि अहिलेसम्म कसैले ध्यान दिएका छैनन् ।”
कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि केही पूर्वाधार बन्न बाँकी रहेकाले काम सकिएपछि नियमित उडानका लागि पहल हुने बताए । “निर्माणको केही काम हुन बाँकी छ ।” उनले भने, “त्यसपपछि मात्र नियमित उडान अगाडि बढ्नेछ ।”
जिल्लाको नरहरिनाथ गाउँपालिकामा रहेको कोटबाडा विमानस्थल भएको क्षेत्र साविकका ५ गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका बनेको छ । गाउँपालिकामा सडक पनि छैन । यहाँका बासिन्दा घण्टौं पैदल हिँड्न बाध्य भएको स्थानीय रामबहादु बिष्टले बताए । “सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका हो । अहिलेसम्म सकडन पनि बनेको छैन् ।” उनले भने, “यहाँका मानिसहरू सडकसम्म पुग्नका लागि एक दिनको पैतल यात्रा गर्नुपर्छ ।”
कोटवाडा विमानस्थलमा निर्माण कार्य थालिएको ३१ वर्षमा एकचोटी विमान झुल्किएको भएपनि फेरि कहिले विमान नियमित हुने हो त्यसको कुनै ठेगान नभएको स्थानीय रानीपुरा कडायतले बताइन् । “३१ वर्षमा एकचोटी विमान झुल्कियो ।” उनले भनिन्, “त्यो विमान फेरि कहिले झुल्किने हो कुनै पत्तो छैन ।”
–रमेश रावल