दोलखामा आधाभन्दा बढी खर्च असारमा «

दोलखामा आधाभन्दा बढी खर्च असारमा

दोलखाः दोलखाका विकासे कार्यालयहरूले पुँजीगतमध्ये आधाभन्दा बढी खर्च असारमा मात्र गरेका छन् । आर्थिक वर्ष ०७३/७४ मा दोलखामा ७६ प्रतिशत पुँजीगत खर्च भए पनि आधाभन्दा बढी असारमा मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले जनाएको छ । दोलखाको पुँजीगत खर्च राष्ट्रिय बजेट खर्चभन्दा ११ प्रतिशत बढी हो । 

आव ०७३/७४ मा दोलखामा ३ अर्ब २३ करोड ९० लाख ६१ हजार अख्तियारी आएकोमा २ अर्ब ४८ करोड ७२ लाख ३३ हजार खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दोलखाले गत आर्थिक वर्षको वार्षिक खर्चको जानकारीका लागि आइतबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सरकारको भन्दा बढी खर्च गर्न सफल भएको जानकारी दिएको हो । 

दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीका अनुसार दोलखाका सरकारी कार्यालयले असार मसान्तमा मात्र ५०.७६ प्रतिशत खर्च भएको जानकारी दिए । पुँजीगत खर्चमध्ये असारमा मात्र १ अर्ब २६ करोड २४ लाख ७८ हजार खर्च भएको उनले बताए । विगतमा झैं आर्थिक वर्षको अन्तिममा माथिबाट बजेटको अख्तियारी आउने रोगले पनि असारको खर्च बढी देखिएको उनले बताए ।

बजेट खर्च गर्ने सबैभन्दा अग्रस्थानमा एक दर्जन बढी कार्यालय देखिएका छन् । जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय, सीमा प्रशासन कार्यालय, पुनर्निर्माण प्राधिकरण, सरकारी वकिलको कार्यालयलगायतले शतप्रतिशत खर्च गरेका छन् । त्यस्तै थप एक दर्जन कार्यालयले ९७ प्रतिशत बढी खर्च गरेको मुख्य कोष नियन्त्रक शिवाकोटीले जानकारी दिए । 

त्यसैगरी कम खर्च गर्ने विकासे कार्यालयहरूमा जिल्ला प्राविधिक कार्यालय, भूकम्पीय आवास पुनर्निर्माण आयोजना, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, सम्पर्क कार्यालय दुर्गम क्षेत्र विकास समिति, दोलखा जिल्ला अदालतलगायतका कार्यालय छन् ।

दुर्गम क्षेत्र विकास समितिले सबैभन्दा कम २२ प्रतिशत खर्च गरेको छ । त्यस्तै दोलखा–सिंगटी सडक आयोजनाले ३३ प्रतिशत र जिल्ला स्वास्थ्य कार्यालयले ३७ प्रतिशत मात्र पुँजीगत खर्च गरेका छन् ।दोलखामा चालू खर्चतर्फ ७ अर्ब ६८ करोड ९४ लाख ८७ हजार अख्तियारी आएकोमा ८५.९ प्रतिशत अर्थात ६ अर्ब ६० करोड ५० लाख ३७  हजार खर्च भएको छ । त्यसमध्ये चालूतर्फ असार मसान्तमा मात्र १ अर्ब ३५ करोड ८१ लाख ८४ हजार खर्च भएको छ । 

प्रमुख कोष नियन्त्रक शिवाकोटीले अहिले अख्तियारी अनुसारको रकम कार्यालयले काम गरेअनुसार निकासा दिने व्यवस्था भएकाले पनि बढी खर्च भएको देखिएको बताए । निजी आवास अनुदानतर्फ ८५ करोड फ्रिज भएको छ ।

चालूतर्फ यो रकम कटाउँदा ९६ प्रतिशत खर्च देखिने उनले बताए । निजी आवास अनुदानतर्फ ४ अर्ब ९ करोड २५ लाख ६४ हजार ६२० खर्च भएको छ । भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि ५२ हजार २ सय ६६ पीडितमध्ये ४८ हजार पहिलो किस्ता, ७ हजार ८ सय ६० दोस्रो किस्ता र १ सय ६ जनाको नाममा तेस्रो किस्ता कोलेनिकाबाट निकासा भएको उनले जानकारी दिए । 

दोलखाका ७० वटा कार्यालयले गत आर्थिक वर्ष ३९ करोड ९४ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षभन्दा ३९.५९ प्रतिशत बढी भएको उनले बताए । त्यसमध्ये १९ करोड ४० लाख ९३ हजार बेरुजु दाखिला भएको छ ।

कोलेनिकाले गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि पत्रकार सम्मेलन गरी आफ्नो कार्यालयको तर्फबाट सरकारी आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सरकारी खर्च सार्वजनिक हुँदा त्यसले सबैलाई जानकारी हुने र दुरुपयोग हुनबाट समेत रोक्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्