एक महिनाभित्र देशभर डिजिटल टेलिभिजन «

एक महिनाभित्र देशभर डिजिटल टेलिभिजन

सरकारले बिहीबारदेखि उपत्यकामा एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन च्यानल बन्द गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर डिजिटल टेलिभिजन पु¥याउने लक्ष्यबमोजिम पहिलो चरणमा उत्पत्यकामा पूर्ण रूपमा एनालग प्रविधिलाई बन्द गराएको हो । मन्त्रालयले पहिलो चरणमा महानगर र उपमहानगर, दोस्रो चरणमा कात्तिक १५ सम्म नगरपालिका र ०७५ वैशाख १५ सम्म सबै गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित टेलिभिजन सञ्चालन गर्न लागेको हो  । 
मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि अपग्रेड नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइएको बताएका छन् । “निर्धारित समयसीमा काटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराएका छौं ।” केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव संगीता ओझाको टोली बिहीबार अनुगमनमा गएको थियो । अनुगमन टोलीले सुविसु, सुदर्शन केबलनेट, सोनिङ केबल नेट, सीईसी, स्काई केबलनेट, स्पेसटाइम केबल नेट, काठमाडौं केबल नेटलगायत १० एनालग केबल नेट सेवाप्रदायक कम्पनीमा अनुगमन गरिएको जनाएको छ । फ्रिक्वेन्सी विभागका प्रमुख नेपालका अनुसार अब उपत्यकामा एनालग प्रविधि पूर्णतः बन्द भएको छ  । वैशाख १५ गतेबाट एनालग केबल प्रणालीलाई देशैभर प्रतिस्थापन गरी डिजिटल केबल टीभीमा रूपान्तरण हुनेमा सरकार विश्वस्त रहेको पनि उनले बताए ।  मन्त्रालयमा हाल १० ओटा डिजिटल केबल टीभी दर्ता भए पनि नेपालमा आठवटामात्र सञ्चालनमा छन् ।
त्यस्तै, डिजिटल टेरेस्ट्रियल टेलिभिजन ब्रोडकास्टिङमा भने चार कम्पनीले मन्त्रालयमा इजाजतपत्र लिएका छन् ।इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केबल टेलिभिजन सञ्चालनमा गर्नुपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्यराष्ट्र हो । “एनालगभन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटीको आउँछ, त्यतिमात्र नभएर एकै ठाउँमा बसेर सबै प्रकारको इन्कोडिङ र डिकोडिङ मिलाउन सकिन्छ,” प्रवक्ता ढकालले भने । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजस्व पनि पाएको छैन । एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ । एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रूपमा सेटअप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भएपनि सेटअप बक्सका कारण ग्राहलाई आर्थिक भार भने पर्नेछ । काठमाडौँ र विराटनगर महानगरपालिकामा एनालग प्रविधिबाट डिजिटलमा रूपान्तरण भए पनि अरु महानगर र उपमहानगर तथा नगरपालिकामा अनुगमन जरुरी रहेको मन्त्रालयले जनाएको छ ।
 एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्ल्च्यिुड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टीभी हेर्न सकिने हुँदा गुणस्तर पनि कम हुन्छ । यो प्रविधि न्यून गुणस्तरीय भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतमा समेत एनालग प्रविधि हटाइसेका छन् । 

प्रतिक्रिया दिनुहोस्