ट्रेड युनियनको अधिवेशनमा मजुदर अधिकारको चर्चा «

ट्रेड युनियनको अधिवेशनमा मजुदर अधिकारको चर्चा

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुराएकाले मजदुरको अधिकार अझै स्थापित हुन नसकेको मजदुर नेताहरूले नै गुनासो गरेका छन् ।
२००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि राजनीतिक दलहरूले अधिकारबाट विमुख गराएको उनीहरूको गुनासो थियो । नेपाल ट्रेड युनियन कांग्रेस मोरङको छैटौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले मजदुरलाई दलहरूले प्रयोगमात्रै गरेको दुःखेसो पोेखे । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका पूर्वराष्ट्रिय अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले मजदुरका अधिकार स्थापित गर्न दलहरूले नै नचाहेको आरोप लगाए । “मुलुकको आर्थिक विकासमा योगदान दिने पहिलो वर्ग मजदुर नै हो । तर, यसपटकको सबै दलले समानुपातिकमा पहिलो नम्बरमा मजदुरलाई राखे ?” उनको प्रश्न थियो, “मुलुकको समृद्धिमा पसिना बगाउने मजदुरलाई मानसम्मान दिनुपर्छ ।” उनले माउपार्टी कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत मजदुरलाई टिकट नदिएर उपेक्षा गरेको आरोप लगाए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले विराटनगर जुट मिलमा मजदुरका रूपमा काम गरेको उनले स्मरण गराए । जुट मिलबाट सुरु भएको मजदुर हड्तालले नै राणा शासनको अन्त्य गरेको थियो । 
कार्यक्रममा अर्यालले ट्रेड युनियन कांग्रेसले लोकतन्त्र संस्थागत गर्न कुनै कसर बाँकी नराखेको भन्दै मजदुर वर्गको उत्थान नभएसम्म देश विकासको गतिमा अगाडि बढ्न नसक्ने बताए । उनले भने, “संविधानले श्रमिकका धेरै हकअधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनका लागि अब खबरदारी जरुरी छ ।” पूर्वसांसद एवं मजदुर नेता पुष्कर आचार्यले मजदुरहरूको हक अधिकार स्थापित गर्न मजदुरका हकअधिकार विरुद्धमा जोकोही जान्छ भने त्यसका विरुद्धमा सम्पूर्ण मजदुर एक भएर अगाडि बढ्ने बताए । 
नेपाल ट्रेड युनियन कांग्रेसका सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरका जीवनस्तर उठाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ करोड १४ लाख मजदुर रहेको पनि उनले जानकारी दिए । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ का अध्यक्ष नारायणबाबु कार्की, नेपाल ट्रेड युनियन कांग्रेस महिला संयोजन सुधा दाहाललगायतले श्रमिकहरू एकजुट भएर हक अधिकारका लागि लाग्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्