घाँस बेचेरै वार्षिक ५ लाख «

घाँस बेचेरै वार्षिक ५ लाख

सानो लगानीबाट पनि ठूलो आर्थिक उपलब्धि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सरुमारानी–२ ददेरीका कृषक धनबहादुर कुमालका दम्पत्ती । सात वर्ष यता कृषि पेशाअन्तर्गत व्यावसायिक घाँसको नर्सरी र केराखेती सुरु गरेका धनबहादुर र उनकी श्रीमती बीमाकुमारी कुमालले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । सुरुका वर्षदेखि नै राम्रो प्रतिफल प्राप्त गरेका उनले कृषि व्यवसायबाट नै जीवनशैली बदलिएको बताए ।
किम्बु, नेपिएर, मलाठो, पासपलाम, सुम्बासेटेरिया, इस्टाइलो र बदामे उन्नत जातका घाँस नर्सरीसँगै व्यावसायिक केराखेती उनले सञ्चालन गर्दै आएका छन् । “वार्षिक ५ लाखजति आम्दानी हुन्छ,” कृषक धनबहादुर कुमालले भने, “ग्राहक घरमै आएर घासँको बिरुवा र केरा खरिद गर्छन् ।” दुई लाख ५० हजारको घासँको विरुवा र २ लाख ५० हजारको केरा वार्षिक रूपमा बिक्री हुँदै आएको उनले बताए । कृषिबाट राम्रो आम्दानी गरेका उनले यो वर्ष नयाँ जातको घाँस सियो ४ र सियो ३ का प्रजाति नर्सरीमा थप गरेको बताए ।
१६ वर्ष नेपाल प्रहरीमा जागिर गरी पेन्सन र ४ वर्ष मलेसियामा बिताएका कुमाल घर फर्केर व्यावसायिक कृषिखेतीमा लागेका हुन् । व्यावसायिक कृषिका लागि ज्ञान नभएका कुमाल चितवनमा केराखेतीको अध्ययन अवलोकन गरी केरा र घाँसखेतीको सुरुवात गरेका हुन् । “व्यावसायिक खेतीका लागि राम्रो ज्ञान पनि थिएन,” कुमालले भने, “मिहिनेतका साथ काम गर्दै जाँदा प्रतिफल पनि त्यत्तिकै बढ्दै गयो ।” झण्डै २ बिघा जमिनमा उनले व्यावसायिक खेती गर्दै आएका छन् ।
घाँसखेती अन्तर्गत किम्बुको बिरुवाबाट बढी प्रतिफल प्राप्त भएको उनले सुनाए । “बोटबाटै बेर्ना काटेर बिक्री गर्दा २ रुपैयाँ ५० पैसा र नर्सरीबाट उत्पादन गर्दै आएका बेर्ना बढीमा ५ रुपैयाँसम्ममा बिक्री हुन्छ,” उनले भने । रोल्पा प्यूठान र अर्घाखाँचीमा सबैभन्दा बढी बिरुवा बिक्री हुँदै आएको उनले बताए । घरमै बसी व्यवसाय सञ्चालनमा लाग्दा परिवारको हेरचाह र घरायसी अन्य समस्यासमेत समाधान हुने धनबहादुरकी श्रीमती बीमाकुमारी कुमालले बताइन् ।
पछिल्लो समय फार्मका लागि जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, किसानका लागि उन्नत बीउबिजन कार्यक्रम लगायतबाट अनुदान तथा सहयोग पाएको कुमालको भनाइ छ ।
प्रज्वल पहाडी 

प्रतिक्रिया दिनुहोस्