एउटै लेखापालको भरमा ३ कार्यालय

लेखामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा जिल्लाका सरकारी कार्यालय सञ्चालनमा समस्या भएको छ । बैतडीमा एउटै लेखापालले तीन-तीन वटा कार्यालयको लेखाफाँट हेर्नुपर्ने बाध्यता छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्तले कोष, भू–संरक्षण र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखाफाँट हेर्दै आएका छन् । कोष, प्राविधिक कार्यालय सदरमुकाम र भू–संरक्षण कार्यालय सदरमुकामबाट ४० किमि टाढा पाटनमा पर्दछ । दुई तिर कार्यालय भएपछि उनलाई समय मिलाउन हम्मेहम्मे पर्छ ।
कार्यालयको लेखासम्बन्धी काम साँझ बिहान गरेर भ्याउन नसकेको उनको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत लेखापाल दीपक ओझाले दुई कार्यालयको लेखाफाँट सम्हाल्दै आएका छन् । स्वास्थ्यमा कार्यरत उनलाई काजमा पञ्चेश्वर गाउँपालिकाको लेखा हेर्ने जिम्मा थपिएको छ । पन्त र ओझामात्र होइन जिल्लाका अधिकांश लेखापालले दुईभन्दा बढी कार्यालयको लेखाफाँट सम्हाल्दै आएका छन् । जिल्लामा करिब आठ लेखापालले दुई कार्यालयको लेखाफाँट हेर्दा समस्या हुने गरेको छ । आवश्यक दरबन्दी नभएपछि उनीहरूले दुई÷तीन कार्यालयको लेखा सम्हाल्दै आएका हुन् ।
दुई÷तीन कार्यालय हेर्नुपर्दा समयमै काम सम्पन्न नभएर सेवाग्राही समस्यामा परेका छन् भने लेखापालसमेत समस्यामा छन् । “गाउँपालिका पुग्न एक दिन लाग्छ,” लेखापाल ओझाले भने, “कहिले स्वास्थ्य, कहिले गाउँपालिका हेर्नुपर्दा खाना खानेसमेत फुर्सद छैन ।” दुवै कार्यालयको कामको चापका कारण समयमै काम गर्न नसकिएको उनको भनाइ छ ।
जिल्लास्थित आधा दर्जन सरकारी कार्यालय पाटनमा छन् । सदरमुकाम र पाटन दुवैतिरका कार्यालय हेर्दै आएका लेखापाललाई मात्र होइन थप गाउँ÷नगरपालिकाको लेखा हेर्न सास्ती हुने गरेको जिल्ला निर्वाचन र मेलौली नगरपालिकाको लेखा हेर्दै आएका भानदेव जोशीले बताए । संघीय पुनर्संरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीय तहको लेखा हेर्ने जिम्मा दिइएपछि कार्यबोझ बढेर समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।
“सदरमुकामस्थित कार्यालय पुग्दा लेखापाल गाउँ÷नगरपालिकातिर हुन्छन्,” मेलौलीका सुरत पार्कीले भने, “एउटै व्यक्तिले दुईतिरको कार्यालय हेर्नुपर्दा समयमा काम हुन सकेको छैन ।” स्थानीय तहले समयमै उपभोक्ता समिति गठन नगर्दा र लेखापाल अभाव हुँदा विकास बजेट थोरैमात्र खर्च भएको छ । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा जिल्लाका स्थानीय तहले औसत ३० प्रतिशतमात्रै विकास बजेट खर्चेका छन् ।
फिल्डमा हुने योजनाको सबै काम सकिए पनि लेखापालको नियमित उपस्थिति नहुँदा भुक्तानीमा ढिलाइ हुने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । लेखापाल नियमित नहुँदा वित्तीय प्रगतिसमेत गर्न नसकेको गाउँपालिकाको भनाइ छ । दरबन्दीअनुसार कर्मचारी भए जनताले परिवर्तन महसुस गर्ने गरी विकास गरेर देखाउने सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टको भनाइ छ । स्थानीय तहका कतिपय वडामा वडासचिवको पनि अभाव छ ।