इन्भेस्टमेन्टका दुई शाखा स्थानान्तरण «

इन्भेस्टमेन्टका दुई शाखा स्थानान्तरण

नेपाल इन्भेस्टमेण्ट बैंक लिले एकैदिन दुइटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेन्ट बैंकको यी दुबै शाखालाई एनआईबीएलले प्राप्ति गरेपश्चात् भरतपुर महानगर–२० चनौलीमा र देबचुली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआईबीएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरू स्थानान्तरण गरिएको हो ।
बैंकले ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेशअनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । हाल प्रदेश नम्बर १ मा ८ वटा, प्रदेश नम्बर २ मा ६ वटा, प्रदेश नम्बर ३ मा ३१ वटा, प्रदेश नम्बर ४ मा ५ वटा, प्रदेश नम्बर ५ मा ८ वटा, प्रदेश नम्बर ६ मा ४ वटा र प्रदेश नम्बर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
चारवटा एक्स्टेन्सन काउन्टर तथा नौ वटा यातायातसम्बन्धी राजस्व संकलन केन्द्र खोलेको बैंकले ८ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिको ६१ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम छ । निजी क्षेत्रमा सर्वाधिक चुक्तापुँजी १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको पुस मसान्तको वित्तिय विवरणअनुसार निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कुल कर्जा लगानी १ सय १४ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिले दि बंैकर, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इयर उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ए वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्