धर्म र व्यापारको अभूतपूर्व मेला

बागलुङ – पश्चिमाञ्चल क्षेत्रकै प्रशिद्ध कालिका भगवती मन्दिर परिसरमा लाग्ने ठूलो मेला हो चैते दसैं मेला । मेलामा बागलुङ तथा छिमेकी जिल्लाहरुबाट हजारौं मानिस ओइरिन्छन् ।
यस वर्ष पनि गएको शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन मेला लागेकोे कालिका भगवती गुठीले जनाएको छ । कालिका भगवती गुठी र रामरेखा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा चैत्राष्टमी मेलाको आयोजना गरेको गुठीका अध्यक्ष राजु खड्काले बताए । मेलामा दर्शकको आकर्षण बढाउन कृषि तथा घरेलु उत्पादनको बजारीकरणसँगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, कालीका कप भलिवल प्रतियोगिता, खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता, छेलो प्रतियोगीता, मार्सल आर्टलगायत प्रतियोगिता आयोजना गरिएको थियो ।
चैत्राष्टमीमा मन्दिरमा पूजा गर्न आउने भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ । मेलामा १ सय २० भन्दा बढी व्यापारिक स्टल राखिएको थियो । “जिल्लाको पहिचान र मौलिकता झल्काउने वस्तु तथा सामानहरू खुल्ला रुपमै बिक्रीवितरण गर्ने प्रबन्ध मिलाइएको थियो,” खड्काले भने ।
कालिका भगवती मन्दिरको विकासका लागि रणनैतिक योजना नै बनाएर लागिपरेको गुठीले मन्दिरको प्रचार प्रसारमा मेलाको महत्वपूर्ण भूमिका रहने बताएको छ । हरेक वर्ष लाग्ने यो मेलाले घरेलु उत्पादन र कृषि उपजको प्रबद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने गरेको छ । धौलागिरी अञ्चलभित्रको कला संस्कृति, भेषभुषा, स्थानीय स्तरमा उत्पादित विभिन्न सामग्री र परम्परागत चल्दै आएको मेला जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ ।
वार्षिक रुपमै नौ दुर्गाको अवधिमा देवीको विशेष पूजाआजा हुने भएकाले यो समयमा दर्शनार्थीहरूको चाप बढी हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । नौ दुर्गामा प्रत्यक दिन नौ देवीको वैदिक विधिअनुसार पूजा गरिने मन्दिरका पुजारी माधव सुवेदीले बताए ।
अघिल्लो वर्ष नौदुर्गामा करिब पाँच लाख भक्तालुहरू मन्दिरमा आएको अध्यक्ष खड्काले बताए । धार्मिक पर्यटकहरूको मुख्य रोजाइ बागलुङ कालिका भएकाले यो अवधिमा बजारको व्यापारमा समेत वृद्धि हुने उनको भनाइ छ ।
–त्रिलोचन रिजाल