पर्यटक पर्खाइमा माडी «
Logo

पर्यटक पर्खाइमा माडी

चितवनको माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन माडी नगरपालिकाले सक्रियता देखाएको छ । यो वर्षमात्रै पर्यटन विकासमा नगरपालिकाले झण्डै ८० लाख खर्चिने तयारी गरेको छ ।
“माडीलाई धार्मिक तथा बाह्य पर्यटनको हब बनाउन लागिपरेका छौँ,” माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “निकुञ्जसँग जोडिएका पर्यटकीय गन्तव्यलाई केन्द्रीत गरेर माडीको सौन्दर्यता हेर्न आउने वातावरण बनाउँदैछौँ ।” उनले माडीमा यो वर्ष ३२ वटा नयाँ होमस्टे सञ्चालनमा ल्याउने तयारी भएको बताए । बनकट्टा, बसन्तपुर, शिवद्वार, राइटोलमा पर्यटकलाइ लक्षित गरी होमस्टे खोलिने उनले जानकारी दिए । यसअघि नै माडीको पाण्डवनगर र शिवद्वारमा केही होमस्टे सञ्चालनमा थिए ।
माडीका मुख्य ९ वटा गन्तव्यलाई पर्यटकको रोजाईका क्षेत्र बनाउन नगरपालिकाले विशेष ध्यान दिएको उनले बताए । वाल्मीकि आश्रम, परशुरामकुण्ड, सोमेश्वरगढी, कम्युनिष्टि पार्टीको चौथो एकता महाधिवेशन स्थलमा बनेको एकता स्तम्भ, शहीदपार्क, बैकुण्ठ ताल, वनकट्टामा निर्माण हुन लागेको वृहत घाँसखेती परियोजना, माछा जोन हेर्न माडी आउने पर्यटकको चहलपहल बढाउन आवश्यक पूर्वाधार विकासमा नगरपालिकाले ध्यान दिएको उनले बताए ।
“वाल्मीकि आश्रम जाने पर्यटक वा सौराहा जाने पर्यटकलाई माडीका अन्य गन्तव्य जान प्रेरित गर्ने गरी पर्यटन प्रर्वद्धनका काम सुरु भएका छन्,” मेयर ढकालले भने, “गैंडा, बाघ हेर्ने क्षेत्रका रुपमा चिनाउन ठाउँमा भ्यूटावर बनाउँदै छौँ । पर्यटन मार्गको पनि स्तरोन्नती काम थालनी गरेका छौँ ।”
उनले वाल्मीकि आश्रमदेखि वगइहुदै सौराहा जोड्ने गरी पर्यटन मार्ग विस्तार गर्न पहल भैरहेको बताए । “पर्यटकलाई कम्तिमा ४ दिन बस्ने गरी प्याकेज बनाउनेछौँ,” उनले भने, “एकीकृत रुपमा धार्मिक क्षेत्र, ताल पनि घुम्ने, माडीको सौन्दर्यतामा पनि रमाउने अवस्था बन्दैछ ।”
उनका अनुसार पर्यटनतर्फ नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेपनि आन्तरिक स्रोत मार्फत पनि पर्यटन पूर्वाधारमा खर्च गरेको बताए । नगर पर्यटन समिति माडीका अध्यक्ष नारायण पौडेलले माडीको पर्यटन प्रर्वद्धन गर्न सबै गन्तव्यलाइ जोड्ने गरी ट्रयाक खोल्न पहल भैरहेको बताए । “माछापोखरी, निकुञ्ज भित्रका जनावर, माडीको दृश्य हेर्न मिल्ने गरी मचानघर पनि बन्दैछन्,” उनले भने, “ठाउँ ठाउँमा पिकनीक स्पोट पनि बन्नेछन् । पर्यटक चहलपहल बढ्ने अपेक्षा लिएका छौँ ।” नगर पर्यटन समिति माडीका सचिव गोविन्द न्यौपानेले ओझेलमा परेको माडीको पर्यटनले काँचुली फेर्ने वातावरण बनेको बताए । “कृषि सडकलाई पर्यटन मार्ग बनाउने, पैदल मार्ग विस्तार गर्ने कामले गति पाएका छन्,” उनले भने, “विदेशी पर्यटकलाइ आकर्षण गर्ने गरी पर्यटन गतिविधि सञ्चालनमा समिति र नगरपालिका लागिपरेको छ ।”

सोमेश्वरगढी १५ मिनेटमै पुगिने
नेपाल भारतको सीमा क्षेत्र रहेको माडीको सोमेश्वरगढी पुग्न घण्टौ पैदल हिड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । पाल्पाका तत्कालिन राजा मुकुन्दसेनले अंग्रेजबाट जोगाउन भन्दै बनाएको सो गढी नेपाल भारतको दृश्यावलोकनको केन्द्र र ऐतिहासिक धार्मिक क्षेत्र हो । यहाँ वर्षेनी रामनवमीमा पुजापाठ गर्न भक्तालुको निकै चहलपहल हुने गर्छ । यो क्षेत्रमा पुगेपछि मनोकांक्षा पुरा हुने धार्मिक विश्वास पनि छ ।
माडी–५ छरछरेबाट गढी पुग्न झण्डै ५ घण्टा पैदल हिँडेर उकालो लाग्नुपर्ने अवस्था थियो । नगरपालिकाले आन्तरिक स्रोतबाट झण्डै ६ किमि गोरेटो बाटोलाई मोटरेबल बनाए लगत्तै १५ मिनेट पैदलयात्रामै सोमेश्वरगढी पुग्ने अवस्था सृजना भएको छ । “माडीकै पर्यटनको मुख्य क्षेत्र भएतापनि विकासमा पछि पर्दै आएको थियो,” मेयर ठाकुरप्रसाद ढकालले भने, “दिर्घकालिन सोच राखेरै मोटरेबल बाटो बनाउने काम भएको छ । भविष्यमा नेपाल भारतको नाकाका रुपमा पनि विकास हुने सम्भावना छ ।”
सोमेश्वरगढीको भारततर्फको वन क्षेत्र बाघ संरक्षित क्षेत्र पनि हो । यो क्षेत्रमा विगतमा भारतीय सीमा सुरक्षा बलले निकै ज्यादती गर्दै आएको थियो । “सीमा मिच्ने, भक्तालु सधै त्रासमा बस्नुपर्ने अवस्था अब हुनेछैन,” उनले भने, “नेपाली भूमी हो । धार्मिक केन्द्र बनाउन नगरपालिका लागिपरेको छ ।” नगर पर्यटन समितिका सचिव गोविन्द न्यौपानले सोमेश्वरगढीलाई माडीकै मुख्य धार्मिक क्षेत्रका रुपमा चिनाउन पूर्वाधार विकासका काम सुरु भएको बताए ।
सोमेश्वर पहाडमा नेपाल भारतको ४५ नम्बर सीमा छ । यहाँ झण्डै ९ फिट लामो डेढ फुट खोपिएको ढुङ्गाको प्राकृतिक डुङ्गा, शिवलिङ्ग, पोखरी, गुफा, कालिका मन्दीर छ । नगर पर्यटन समितिका अध्यक्ष नारायण पौडेलले रामनवमीका दिन यही ११ गते यज्ञवाचक दिनवन्धु पोखरेल सोमेश्वरमा पुजापाठ गर्न आउने कार्यक्रम रहेको बताए । नगरपालिकाले सोमेश्वर फेदीमा रहेको चिसापानीमा पिकनिक स्पोर्ट घरसमेत यही वर्ष निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्