होमस्टेबाट बन्दीपुरको पर्यटन प्रबद्र्धन

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आफैंमा स्थल हो । रितिरिवाज, संस्कृति, हावापानी, रमणीय स्थल बन्दीपुरको चिनारी हो ।
बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने प्रमुख माध्यम मध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे समेत हो । होमस्टेकै कारण धेरै पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । देशका विभिन्न ठाउँबाट बेला–बेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको होमस्टेमा रमाउन आउँछन् ।
२०६८ साल असोज ३० गते स्थापना भएको यस होमस्टेले समग्र बन्दीपुरको पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको होमस्टे समितिका संस्थापक अध्यक्ष राजु बानियाँ बताउँछन् । “होमस्टे मार्फत् यहाँका मानिस आत्मनिर्भर त बनेका छन् नै, यसकै कारण बन्दीपुरको पर्यटकीय गतिविधि समेत बढेको छ,” उनी भन्छन् ।
बन्दीपुर गाउँपालिका प्रमुख पूर्णसिं थापा बन्दीपुरमा सञ्चालित होमस्टेको प्रबद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताए । “होमस्टे बन्दीपुरको चिनारी बनिसकेको छ,” उनले भने, “यसको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्छ ।”
हाल बन्दीपुरमा २० वटा घरमा होमस्टे सञ्चालन छ । सरकारी स्तरबाट कुनै सहयोग नभएपछि स्थानीयले आफ्नै पहलमा बन्दीपुरमा होमस्टे सुरु गरेका हुन् । पारिवारिक, शान्त वातावरण र सुलभ मूल्यमा बस्न पाउने भएकाले आन्तरिक तथा बाह्य पर्यटक होटलमा भन्दा होमस्टेमा बस्न रुचाउने गरेको होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी रानाले बताइन् ।
बन्दीपुरका होमस्टेमा एकैचोटी १ सय जनासम्म बस्न मिल्ने उनले बताइन् । उनका अनुसार होमस्टेमा अर्गानिक खानाको मात्रै प्रयोग गरिनेछ । उनका अनुसार होमस्टेमा बसेका पर्यटकले ६ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । त्यसमा बेलुकाको खाजा, खाना, बिहानको नास्ता समावेश छ ।
होमस्टेमा बस्ने पर्यटकलाई परिवारको जस्तै व्यवहार गरिने भएकाले उनीहरु खुशी भएर फर्कने गरेको अध्यक्ष थापा बताउँछिन् । “होटलमा बस्दा स्वागत र आत्मीयता हुँदैन । तर होमस्टेमा बस्ने पर्यटकलाई परिवार जस्तो व्यवहार गर्छौं,” उनले भनिन् । होमस्टेमा बस्ने पर्यटकलाई होमस्टे व्यवसायीले लाखे, लोकदोहोरी, चुड्का लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गर्ने गरेका छन् ।