वन्यजन्तु अस्पताल सञ्चालन हुन १ वर्ष

पहिलो पटक चितवनमा बन्दै गरेको वन्यजन्तु अस्पताल सञ्चालनमा आउन १ वर्ष लाग्ने भएको छ । भौतिक संरचना निर्माणको काम सकिए पनि अस्पतालमा आवश्यक पर्ने उपकरण नेपालमा नहुँदा वन्यजन्तु अस्पताल सञ्चालन हुन अझै १ वर्ष समय लाग्ने भएको हो ।
घाइते र रोगी वन्यजन्तुको उपचार गर्न सहजताका लागि अस्पताल निर्माण भएको हो । अमेरिकाको डेन्भर चिडियाखाना, विश्व वन्यजन्तु कोष र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सहयोगमा अस्पताल निर्माण भएको हो । करिब ३ करोड लागत लागिसकेको एनटीएनसीले जनाएको छ । भौतिक संरचना निर्माणको काम लगभग पूरा भइसके पनि अस्पतालका लागि आवश्यक पर्ने उपकरण उपलब्ध नभएकाले अस्पताल सञ्चालनका लागि १ वर्ष समय लाग्ने एनटीएनसीले बताएको छ । अधिकांश उपकरण विदेशबाट झिकाउनुपर्ने र तत्कालका लागि घरपालुवा र वन्यजन्तु उपचारका लागि प्रयोग हुने उपकरण प्रयोग गरिने तयारी भइरहेको छ । घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन ।
हात्ती, बाघ, गैंडाजस्ता ठूला वन्यजन्तुको एक्स–रेदेखि सम्पूर्ण शरीर परीक्षणसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराइने एनटीएनसीले जनाएको छ । एनटीएनसीका सदस्यसचिव गोविन्द गजुरेलले चितवन राष्ट्रिय निकुञ्जको पूर्वीसेक्टर सौराहामा निर्माण गरिएको वन्यजन्तु अस्पताल निर्माणको काम लगभग सकिए पनि आवश्यक उपकरणको विषयमा अध्ययन भएपछि मात्रै उपकरण ल्याउने र अस्पताल सञ्चालन गर्ने बताएका छन् । “वन्यजन्तु अस्पताल त बन्यो, पहिलोपटक अस्पताल बनेकाले वन्यजन्तु उपचारका लागि आवश्यक उपकरण कहाँबाट ल्याउने, कस्तो उपकरण आवश्यकता पर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ, उपकरण व्यवस्थापन भएपछि मात्रै अस्पताल सञ्चालनमा आउने छ,” उनले भने, “जतिसक्दो छिटो सञ्चालनमा ल्याउन कोसिस त गरिरहेका छौं तर अझै १ वर्ष लाग्ने छ ।”
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि सुविधा सम्पन्न अस्पताल बनेपछि संरक्षणकर्मी उत्साहित भएका छन् । सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै घाइते र बिरामी वन्यजन्तुको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुसार आव ०७३÷७४ मा मात्रै ३२६ वन्यजन्तुको मृत्यु भएको छ । जसमध्ये १३३ सडक दुर्घटना, २ जालमा परेर, ५ विद्युतीय करेन्टबाट, ४ चोरी शिकारीबाट, ७ नहरमा डुबेर, २६ कुकुर÷हुँडारको टोकाइबाट, ४८ चितुवाको टोकाइबाट र प्राकृतिक कारणले १०१ वन्यजन्तुको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख छ । प्राकृतिक कारण भएको वन्यजन्तुको मृत्युदर कम गराउनका लागि वन्यजन्तु अस्पतालको आवश्यकता रहेको विभागले बताएको छ ।
विभागका महानिर्देशक मनबहादुर खड्काले चाँडोभन्दा चाँडो अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । “वन्यजन्तुको उपचारको व्यवस्था राम्रो हुनसके मृत्युदर पनि घट्ने छ, यसकारण सरकारले पहिलो पटक वन्यजन्तु अस्पताल निर्माण गरेको हो, आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्ता अस्पताल बनाउन योजना तय गर्नेछांै,” उनले भने ।
वन्यजन्तु विद् डा. शान्ताराज ज्ञवालीले रोगी तथा घाइते वन्यजन्तुको समयमा नै उपचार हुने र वन्यजन्तु संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन अस्पताल आवश्यक रहेको बताएका छन् । “उपचार राम्रो नहुँदा रोगी र घाइते वन्यजन्तुको मृत्युदर बढिरहेको थियो, अस्पताल निर्माणपछि वन्यजन्तुको मृत्युदर कम हुन्छ,” उनले भने, “वन्यजन्तुका कयौं रोग मानव तथा घरेलु वन्यजन्तुमा सर्न सक्छ, भविष्यमा नयाँ रोग देखा पर्नसक्छ, यसकारण वन्यजन्तु उपचार पद्धतिको राम्रो व्यवस्था हुनुपर्छ, अब सबै प्रदेशमा कम्तीमा पनि एकजना तालिम प्राप्त वन्यजन्तु डाक्टर आवश्यक छ ।”
अस्पतालको शिलान्यास तत्कालीन वनमन्त्री महेश आचार्यले २०७१ साल फागुन २० गते गरेका थिए । शिलान्यास भएको ३ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन । सरकार र ठेकेदारको ढिलासुस्तीका कारण समयमा नै अस्पताल बन्न नसकेको आरोप लागेको छ । सौराहामा रहेका हात्ती प्रजनन् केन्द्रलगायत देशका अन्य वन्यजन्तुसँग सम्बन्धित केन्द्रमा स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको अस्पतालमा ४ जना चिकित्सक, ७ जना प्राविधिक एक्स–रे कक्ष प्रयोगशाला र उपचार कक्ष रहने निकुञ्ज विभागले बताएको छ । बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक वासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुनेछ । अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ ।