एसियाडमा सहभागी हुने प्याराग्लाइडिङ २१ खेलाडी छनोट

इन्डोनेसियाको जर्कातामा १८ अगस्तदेखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङ खेलका लागि २१ जना खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी विभिन्न छनोट चरणबाट दुई विधामा २१ जना खेलाडीहरू छनोट भएको संघका महासचिव शैलेन्द्र रावतले बताए ।
उनका अनुसार आज (बुधबार) भएको छनौटमा एकुरेसीतर्फ १० र क्रस कन्ट्रीतर्फ ११ गरी २१ जना खेलाडीहरू छनोट भएका हुन् । पहिलो चरणमा ९९ जनाबाट २१ जना छनोट भएका हुन् भने २१ जनाबाटै दुई विधामा छनौट भएका हुन् । एकुरेसीतर्फ ५ र क्रस कन्ट्रीतर्फ ५ गरी दुई इभेन्टमा १० जनाले एसियाली खेलमा सहभागिता जनाउन पाउनेछन् ।
क्रस कन्ट्रीतर्फ छनोट भएका विशाल थापा, सुशील भट्टराई, रविन गुरुङ, शेरबहादुर गुरुङ, विमल अधिकारी, विजय दाहाल, कृष्णबहादुर सुनुवार, आशिष थापा, निशिन थापा र सुरज थापा रहेका छन् । त्यसैगरी एकुरेसीतर्फ ऋषि पोडे, युवराज सुनुवार, मदनकुमार सुनुवार, सुवास थापा, अनिष भट्टराई, युकेश गुरुङ, विजय गौतम, सविन रानामगर, विशाल थापा र भुवन आचार्य छन् । तीमध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन् । १६ वर्षका युकेशले हाल एसइई परीक्षासमेत दिइरहेका छन् । विशाल र भुवनले समान अंक ल्याउँदै हाल छनोटमा परेका हुन् ।
पोखरामा एसियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनोट भएकोमा पोखरेली खेलाडीहरूमा उत्साह जागेको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली साहसिक खेलले नयाँ ईतिहास रच्ने समय आएको बताए । उनले भने, “नेपालको पोखरा, धरान, स्याङजा र सुर्खेतमा व्यावसायिक हिसाबले प्याराग्लाइडिङ हुँदै आए पनि पोखरा विश्वकै उत्कृष्ट पाँच भित्र पर्छ ।”
प्रशिक्षक सानुबाबु सुनुवारले एसियाडमा नेपालको तयारी पदकका लागि हुने बताए । उनले भने– “यसमा नेपालको सहभागिता मात्रै होइन हामी त्यहाँ पदकको लागि खेल्ने छौ ।” एसियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा बढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल पोखरामा मात्रै ६० भन्दा बढी प्याराग्लाइडिङका व्यावसायिक कम्पनीहरू छन् भने नेपालमा ५ सय जना खेलाडी आबद्ध रहेको संघका सचिव इन्द्र भण्डारीले बताए ।