झापामा ८० भन्दा बढी म्यानपावरका एजेन्ट खारेज

बिर्तामोड- सरकारले तोकेकोभन्दा बढी रकम लिएर अनधिकृत रूपमा युवालाई विदेश पठाएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले झापाका ८० वटाभन्दा बढी म्यानपावरका एजेन्ट खारेज गरेको छ ।
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै झापाका ८० वटाभन्दा बढी म्यानपावरका एजेन्टसहित देशभरका ३९२ एजेन्टलाई खारेज गरेको जनाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गोकर्ण विष्ट नियुक्त भएसँगै यति धेरै एजेन्टलाई एकसाथ खारेज गरिएको हो । सरकारले तोकेको भन्दा बढी रकम लिएर अनधिकृत रुपमा युवालाई विदेश पठाएको भन्दै मन्त्रालयले देशभर अनुगमन गर्दै ३९२ एजेन्टलाई कारबाही गरेको हो ।
विभागको टोलीले झापाका बिर्तामोडलगायत पूर्वका दमक, इटहरी, धरान, विराटनगरमा अनधिकृत रूपमा म्यानपावर सञ्चालन भएको र ती म्यानपावरले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणलाई ठगी रहेको उजुरी परेपछि वैदेशिक रोजगार विभागले म्यानपावरहरूमा छापा मारेको थियो ।
वैदेशिक रोजगार विभागको टोलीले बिर्तामोडमा छापा मार्दै अनधिकृत रूपमा सञ्चालित म्यानपावरलाई बन्द गराउन जिल्ला प्रशासन कार्यालय झापालाई आग्रह गरेको वैदेशिक रोजगार विभागका अधिकृत टंक चौलागाईं शर्माले बताए ।
वैदेशिक रोजगार विभागको टोलीले अनुगमनका क्रममा बिर्तामोडमा सञ्चालित अधिकांश म्यानपावर अनधिकृत रूपमा सञ्चालनमा रहेको पाएपछि केही म्यानपावरमा छापा मारे लगत्तै अन्य म्यानपावर व्यवसायी व्यवसाय बन्द गरेर भागेका थिए ।
बैदेशिक रोजगार विभागको टोली फर्किए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाले त्यस्ता म्यानपावरमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले याना म्यानेजमेन्ट, न्यूएसओएस, अलरहिम म्यानपावरमा छापा मारेर एक जना सञ्चालकसहित दुई महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागको टोलीले बिर्तामोडमा १२ वटा मात्र शाखा कार्यालय रहेको र तीन दर्जनको हाराहारीमा एजेन्ट रहेको बताउँदै अन्य सबै म्यानपावर व्यवसायीले अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरिरहेको जनाएको छ ।
खारेजीमा परेका एजेन्टहरूमा चन्द्रमा ओभरसिज, डिप्रोटन म्यानपावर सप्लायर्स, इशान ओभरसिज, याना म्यानेजमेन्ट एण्ड सर्भिस, ग्लोबल राइजिङ प्लेसमेन्ट, मिराजकल इम्प्लोइमेन्ट सर्भिस, डमरु रिसोर्सेज, आल आस्कमाक्स कम्पनी छन् ।
त्यस्तै अरोमा इन्टरनेसनल, नमो बुद्ध इन्टरनेसनल सर्भिसेज, याडिएन्ट ओभरसिज, अल्फा सिग्मा ह्युमन रिर्सोसेस म्यानेजमेन्ट, डल्फिन ओभरसिज सर्भिसेज, साउन्ड लाइन्स रिक्रुटमेन्ट, स्यारोन म्यानपावर सर्भिस, क्लासिक ओभरसिज म्यानपावर, सोसियल इम्प्लोइमेन्ट सर्भिस, मुस्ताङ ओभरसिज, नमस्ते नेपाल म्यानपावर, भण्डारी ओभरसिज, हिमारव ओभरसिज, जिसीडी वल्र्ड वाइड, राज ओभरसिज, राज ओभरसिज, नेबिल ओभरसिज, हमदन इम्प्लोइमेन्ट सर्भिस, ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिस, अस्मिता इन्टरनेसनल, इम्प्लाइमेन्ट क्रिएसन सर्भिस, वेलकम ओभरसिज, खम्बू ओभरसिज सर्भिसेस, विराट ओभरसिज इन्टरनेसनल, एमबीके ओभरसिज, लोटस ह्युमन रिर्सोस खारेजीमा परेका छन् ।
त्यसैगरी साउथ एसियन इम्प्लोइमेन्ट, मुन ड्रप ओभरसिज, लक्की एचआर सोलुसन, त्रिवेणी ओभरसिज कन्सर्न, शेर्पा इन्टरनेसनल म्यानपावर, लिवर्टी एचआर कन्सलटेन्ट, सम्पदा ओभरसिज, आकर्षण इन्टरनेसनल, पाल्ही ओभरसिज, करियर इन्टरनेसनल ओभरसिज, लाइफलाइन ओभरसिज, मिथिला म्यानपावर सर्भिस, मदरल्यान्ड ओभरसिज, डिलक्स एचआर सोलुसन, सुवास ह्युमन रिसोर्सेस, सार्प ह्युमन रिसोर्सेस प्रालि, मेरिगोल्ड ओभरसिज, टाइटानिक म्यानपावर सर्भिस, एसपीएस म्यानपावर ओभरसिज, अस्मिता इन्टरनेसनल ओभरसिज, प्याराडाइज इन्टरनेसनल, रोटरी ओभरसिज, विजे ओभरसिज, ह्वाइट हर्स ओभरसिज, एड्भेन्चर ह्युमन रिसोर्स, जब वल्र्ड इन्टरनेसनल ओभरसिज, रेज रिक्रुटमेन्ट, अक्टोपस ओभरसिज, अल कर्निस ओभरसिज सर्भिस पनि रहेका छन् ।
त्यस्तै लिंक स्टार म्यानपावर सर्भिस, स्टार नेपाल इन्टरनेसनल, काठमाडौं इन्टरनेसनल, इन्कर्पोरेट, खोजी रिक्रुटमेन्ट सर्भिसेस, एसभी एसोसिएट्स, नोकरी नेपाल रिक्रुटमेन्ट ओभरसिज, वल्र्ड वेज म्यानपावर इंक, आस्था इन्टरनेसनल ओभरसिज, आरएन्डआर ग्लोबल जव ट्रयाकर, मसारेक इन्टरनेसनल ओभरसिज, सप्तकोसी ह्युमन रिसोर्स, मिडिल अर्विट ओभरसिज, मोभिरा ओभरसिज सर्भिस, विराट एसोसिएट्स, शुभहारती म्यापावर, तार्गेट कन्सलटेन्ट ह्युमन रिसोर्स, नाइल इन्टरनेसनल म्यानपावर एजेन्सी र क्रोमा इन्टरनेसनल पनि खारेजीमा परेका छन् ।
तुलसीप्रसाद निरौला