३ नम्बर प्रदेशको राजधानी काभ्रे बनाउन प्रस्ताव दर्ता «

३ नम्बर प्रदेशको राजधानी काभ्रे बनाउन प्रस्ताव दर्ता

हेटौंडा-प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रेस्थित आईटी पार्कमा तोक्नका लागि प्रस्ताव दर्ता गरिएको छ । बुधबार काभ्रेका चारजना सांसदले प्रदेश नम्बर–३ को सचिवालय हेटौंडामा प्रस्ताव दर्ता गर्दै बनेपा, पनौती र धुलिखेलको संगमस्थल काभ्रेमा रहेको आईटी पार्कलाई प्रदेशको राजधानी तोकियोस् भन्दै प्रस्ताव दर्ता गराएका छन् ।
नेकपा एमालेका सांसद चन्द्रबहादुर लामाले दर्ता गराएको प्रस्तावमा एमालेका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं तथा माओवादी केन्द्रका सांसद रत्न ढकालले समर्थन जनाएका छन् । प्रदेशको राजधानी भौगोलिक हिसाबले अपायक ठाउँमा परेको भन्दै उनीहरुले राजधानी काभ्रे सार्ने विषयमा आफूहरुले गृहकार्य गरिरहेको बताएका छन् । यसअघि पनि सदनमा सांसदहरुले स्थायी राजधानी र प्रदेशको नामकरणको विषयमा आवाज उठाएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हप्ताअगाडि मकवानपुरको भ्रमणको क्रममा हेटौंडाबाट प्रदेशको राजधानी दायाँबायाँ नहुने बताएका थिए । यता, ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई समेत विपक्षी दलले पदसँग राजधानी साटेको आरोप लगाउँदै आइरहेका छन् ।

विषयगत पाँच समितिका सभापति निर्विरोध
प्रदेश नम्बर ३ को प्रदेशसभाअन्तर्गत्का विषयगत समिति सभापतिहरु निर्विरोध चयन भएका छन् ।
प्रदेशसभाको विषयगत सभापति पदको निर्वाचन कार्यक्रमअन्तर्गत् बुधबार अपरान्ह ५ बजेसम्म पाँचवटा समितिको सभापति पदमा एक-एकजनाको मात्र उम्मेदवारी परेसँगै निर्विरोध चयन भएका हुन् । सत्तापक्षा नेकपा एमाले र माओवादी केन्द्रले चारवटा समितिको सभापति पदमा उम्मेदवारी दिएका थिए भने प्रतिपक्ष दल काँग्रेसले एउटामात्र समितिको सभापतिमा उम्मेदवारी दिएको थियो ।
प्रदेश मामिला समितिमा माधवप्रसाद पौडेल, अर्थ तथा विकास समितिमा सरेश नेपाल, सार्वजनिक लेखा समितिमा न्हुच्छेनारायण श्रेष्ठ, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा घनश्याम दाहाल तथा उद्योग पर्यटन तथा वातावरण समितिमा राम आलेमगरले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिपक्ष दल काँग्रेसले सार्वजनिक लेखा समितिको दावी गरेअनुसार उम्मेदवारी दर्ता गराएको थियो ।प्रदेश सभाको नियमावली, २०७४ को नियम १४९ को उपनियम (१) बमोजिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको निर्वाचन कार्यक्रम गरिएको थियो ।
मंगलबार भएको प्रदेश सभाको बैठकले एकसय दशसदस्य नै समेट्ने गरी पाँचवटा विषयगत समिति गठन गरेको थियो । उक्त बैठकले पाँचवटा विषयगत समिति गठन गरेको थियो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास् थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रदेशसभा सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्तुत गरेका थिए भने बैठकबाट नाम अनुमोदन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्