सार्वजनिक बिदा कटौतीको निर्णय

सरकारले सार्वजनिक बिदा कटौतीसम्बन्धी निर्णय गरेको छ । अत्यधिक बिदाका कारण अर्थतन्त्रमा समस्या परेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले बिदा कटौती गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि दिँइदै आएका २२ वटा बिदा कटौतीको निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यो वर्ष १ सय ४ दिन सार्वजनिक बिदा रहेको आगामी वर्ष ८९ दिन मात्र सार्वजनिक बिदा हुने बास्कोटाले जानकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावअनुसार विभिन्न चाडपर्व तथा दिवसहरूको बिदा कटौती गरिएको हो । कटौती भएको बिदाको विस्तृत विवरण भने अझै पनि सार्वजनिक गरिएको छैन । विभिन्न जातजातिलाई उपलब्ध गराइँदै आएको बिदासमेत कटौती गरिएकाले यो निर्णय आलोचनामुक्त भने छैन । तर, नेपाल चेम्बर अफ कमर्सले केही दिनअघि गृहमन्त्री रामबहादुर थापालाई भेटेर बिदा कटौतीको माग गरेको थियो । निजी क्षेत्रका सबै संघ संस्थाहरूले यसअघिदेखि नै बिदाको आलोचना गर्दै आएका थिए ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री र ऊर्जामन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका दिव्या शाह र दिलिप शाहलाई बिशिष्ट श्रेणीमा बढुवा गरेको छ भने विपद् व्यवस्थापनका लागि जापानले दिएको ४८ कोड ६० लाख रुपैयाँ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।