धावनमार्गको कालोपत्र नफेरिएसम्म २४ सै घन्टा विमानस्थल नखुल्ने

नयाँ पर्यटनमन्त्री र नयाँ सरकार आउनेवित्तिकै पहिलो प्राथमिकता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार पर्ने गरेको छ । पछिल्लो दशकमा विमानस्थल सुधारका लागि २४ घन्टा विमानस्थल सुधार गर्ने घोषणा नयाँ पर्यटनमन्त्री आउनेवित्तिकै हुने गरेको छ । तर, विमानस्थल विस्तार र सुधारको काम भने विगत आधा दशकदेखि चर्चामा रहे पनि गति भने लिन भने सकेको छैन ।
पछिल्ला प्रत्येक सरकारले ल्याउने नीति तथा कार्यक्रममासमेत विमानस्थल २४ सै घन्टा खुलाउने घोषणा गरिएका छन् । तर पूर्वाधार निर्माण हुननसक्दा प्रत्येक घोषणा कागजमै मात्र सीमित भएका छन् । मन्त्रीको पहिलो प्राथमिकता पूर्वाधार निर्माणमा हुनुपर्ने भए पनि २४ सै घन्टा विमानस्थल खोल्छु भनेर चर्चा बटुल्नेबाहेक अन्य उपलब्धी पछिल्लो ६ वर्षमा हुन सकेको छैन ।
सन् २०१३ देखि विमानस्थल सुधारको काम सुरु भएको थियो । विमानस्थल विस्तारको जिम्मा लिएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्होसेसँग एक वर्षअघि ठेक्का तोडिएपछि झनै गति शून्य भएको छ । नागरिक उड्डयन प्राधिकरणले चार भागमा विमानस्थल निर्माणको काम गर्ने बताउँदै ठेक्का गरेको भए पनि अहिलेसम्म काम भने सुरु हुन सकेको छैन । मुख्य विमानस्थलको धावनमार्ग विस्तार गर्नको लागि टेन्डरनै खुलाउन प्राधिकरणले सकेको छैन ।
भर्खरै नियुक्त भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पनि सोमबार विमानस्थललाई २४ सै घन्टा खुल्ला गर्ने घोषणा गरेका थिए । घोषणा नै गरे पनि यो कार्यान्वयन हुने छाँट भने देखिदैन । मन्त्री अधिकारीले विश्वमा एकल धावनमार्ग भएका विमानस्थल पनि २४ सै घन्टा सञ्चालनमा रहेकोले उच्चतम प्रविधि प्रयोग गरेर नेपालले पनि २४ सै घन्टा खुलाउनुपर्नेमा जोड दिन्छन् । “अहिले नै २४ घन्टाभन्दा पनि तत्कालका लागि २१ घन्टा खुलाएर हवाई क्षेत्रमा केही सहज बनाउनेगरी छलफल जारी राखेका छौं,” मन्त्री अधिकारीले भने । पहिलो चरणमा २१ घन्टा चलाउन सकिएको भने भैरहवामा विमानस्थल सञ्चालनमा आएपछि यताको मर्मत गर्न सहज हुने मन्त्री अधिकारीको बुझाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालेपत्रे ५० वर्षदेखि विस्थापित हुन सकेको छैन । धावनमार्गको पुरानो कालेपत्रेका कारण पटक–पटक भत्किँदा उडान÷अवतरणमै समस्या हँुदै आएको छ ।
गत वर्षको पुस महिनाबाटै धावनमार्गको पुरानो कालोपत्रे विस्थापन गर्ने र नयाँ राख्ने प्रक्रिया सुरु गर्ने भनिएपनि हालसम्म काम अगाडि बढ्न सकेको छैन । “वैकल्पिक विमानस्थल तयार नभएसम्म पुरानो कालोपत्रे हटाउने कार्य असहज हुने देखेर काम अगाडि बढ्न नसकेको हो,” विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने । अहिले २४ सै घन्टा चलाउन समस्या हुने भएपनि केही घन्टा लम्ब्याउन सकिनेतर्फ विमानस्थल कार्यालयले अध्ययन गरिरहेको प्रवक्ता ठाकुरको भनाइ छ । धावनमार्गमा नयाँ कालोपत्रे राख्नका लागि प्राधिकरणले २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजको उडान÷अवतरणमा समस्या हँुदै आएको थियो । विगतमा धावनमार्गमा समस्या आउँदा ठूला जहाज उडान÷अवतरणमा प्राधिकरणले रोकसमेत लगाएको थियो । धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने योजनामा छ ।
नागरिक उड्डयन प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार बढी उठाउँदै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थल कार्यलयले धावनमार्ग बनाउने योजना तयार गरेको थियो ।
विमानस्थल २४ घन्टामध्ये हाल १८ घन्टामात्र सञ्चालन हँुदै आएको छ भने २७ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले दैनिक रूपमा ८० वटा उडान÷अवतरण गर्दै आएका छन् । कालोपत्रे निर्माणपश्चात अगामी २० वर्षसम्मको लागि ठूला वाइडबडी जहाज उडान–अवतरण गराउन कुनै समस्या नहुने विमानस्थल कार्यालयको भनाइ छ ।
चाप धान्नै नसक्ने अवस्थामा
विमानस्थको हालको क्षमताले प्रतिघन्टा १ हजार ३ सय ४० यात्रुको मात्र हेन्डल गर्न सक्ने क्षमता रहेको छ । तर, हाल प्रतिघन्टा २ हजार ४६ जना यात्रुको हेन्डल गर्नुपर्ने अवस्थामा पुगेको छ । जुन १ हजार ३ सय ४० पनि सन् २००२ सम्मको लागि भनेर विमानस्थल निर्माण गरिएको थियो । सन् २०१३ मा निर्माण सम्पन्न हुने र २ हजार ४६ यात्रु प्रति पिकआवर हेन्डल गर्ने क्षमताको निर्माण गर्ने भनिएको योजना २०२० सम्ममा सम्पन्न हुने देखिएको छैन । सन् २०२८ सम्ममा ३ हजार ६०० यात्रु प्रतिपिकआवरको लागि बनाउने घोषणा गरिएको भए पनि हालसम्म विस्तारले गति भने लिन सकेको छैन ।
बैकल्पिक विमानस्थल नभए सन् २०२१ पछि समस्या
विमानस्थलले प्रक्षेपण गरेभन्दा बढी हवाई यात्रुको चाप बढ्दै गएकोले सन् २०२१ भित्रमा वैकल्पिक विमानस्थल निर्माण नभए धान्न नसक्ने प्राधिकरणले पटकपटकको प्रतिवेदनमा उल्लेख छ । सरकारले अहिले निर्माण सुरु गरेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त विमानस्थल निर्माण भएमा त्रिभुवन विमानस्थलको २० प्रतिशत हवाई उडान त्यसतर्फ कटौती गराउने प्राधिकरणको तयारी छ ।