विपन्न पहिचान कार्यविधि पारित «

विपन्न पहिचान कार्यविधि पारित

झापामा गरिबी पहिचान गरेर परिचयपत्र वितरणका लागि झापाको दमक नगरपालिकाले विपन्न पहिचान कार्यविधि पारित गरेको छ ।
अतिविपन्न ब्यक्ति तथा समुदायको गास, बास र कपासको ब्यवस्थाका लागि कार्यविधि पारित भएसँगै दमकनगरभित्र रहेका विपन्न परिवारको अवस्था सर्वेक्षण गर्न र उनीहरूलाई परिचयपत्र दिन बाटो खुल्ला भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए ।
झापामा गरिबी पहिचानका लागि र परिचयपत्र वितरणका लागि अन्य स्थानीय तहहरूले कार्यविधि बनाएका छैनन् । यसरी कार्यविधि बनाएर काम सुरु गर्न लागेको स्थानीय तहमा दमक नगरपालिका पहिलो भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको दाबी छ । विपन्न समुदायको पहिचान नहँुदा नेपाल सरकारले ल्याएको विपन्न समुदायलाई दिने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत प्रभावित भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको भनाइ छ । मेयर ओलीले नगर कार्यापालिकाको बोर्ड बैठकले विपन्न पहिचान कार्यविधि पास गरेको र राजपत्र प्रकाशित गरेपछि तत्काल कार्यान्वयन गरिने बताए ।
विपन्न समुदायकालाई चार श्रेणीमा विभाजन गरिने जसमा अतिविपन्न, विपन्न, न्यूनस्तरको विपन्न र सामान्य विपन्न गरेर विभाजन गर्ने नगरपालिकाले तयारी गरेको ओलीले बताए । विपन्नताको कार्डअनुसार नगरपालिकाले प्रदान गर्ने सेवासुविधा प्रदान गरिने तयारी रहेको ओलीले जानकारी दिए । विपन्न समुदायको सम्पूर्ण प्रकारको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारले लिने बताउँदै प्रमुख ओलीले अहिले पहिचान नहुँदा सेवा प्रवाह गर्ने क्रममा समेत समस्या भएकाले अब यो समस्या समाधान हुने बताए ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले आफूहरूले पछिल्लो समयमा आर्थिक अभावले गर्दा उपचार नै नपाएर मर्ने अवस्थामा पुगेका, आर्थिक अभावले भोकभोकै परेर कँुजिएर बसेका, आर्थिक अभावले छोरोछोरीले रुखमा बाँधेर काम गर्ने गएका, घरमा खाना खाने चामल नहँुदा लागूऔषधमा फसेका बालबालिकासमेत भेटेको बताउँदै यो अवस्था अन्त्यका लागि कार्यविधि बनेको बताइन् ।
विपन्न समुदायका लागि दमक नगरभित्रका अस्पतालमा औषधि उपचारमा आवश्यकता अनुसार छुट गर्ने, सार्वजनिक सेवा प्रवाहका लागि विशेष व्यवस्था गर्ने, शिक्षामा पहँुच पु¥याउने जस्ता उद्देश्य राखिएको समेत उनले बताइन् । नगरपालिकाले केही दिनभित्रै राजपत्रमा प्रकाशित गरेर काम सुरु गर्ने पनि उनले जानकारी दिइन् ।
यसैगरी नगरपालिकाले स्थानीय तह सञ्चालन कार्यविधि, मानव संशाधन विकास निर्देशिका, आन्तरिक अनुगमन कार्यविधि पनि बोर्ड बैठकबाट पास गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । बोर्ड बैठकले पास गरेका नियम तथा कार्यविधि स्थानीय सरकारको राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए ।
यसभन्दा अगाडि आधा दर्जनभन्दा बढी कानुन र कार्यविधि बनाएर नगरपालिकाले राजपत्रमा प्रकाशित गरिसकेको छ ।
तुलसीप्रसाद निरौला

प्रतिक्रिया दिनुहोस्