Logo

रुकुम पूर्वमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु

 स्वास्थ्य बिमा कार्यक्रम रुकुम पूर्वमा जिल्लामा पनि सुरु गरिएको छ । पूर्वमन्त्री तथा माओवादी नेता गणेशमान पुनले स्वास्थ्य बिमा दर्ता कार्यक्रमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिति पुनले स्थानीय, प्रदेश र संघीय सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको जिम्मा लिन यस्तो कार्यक्रम राम्रो कुरा भएको बताउँदै प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताए । रुकुम पूर्वका स्थानीय तहहरूले जनताको स्वास्थ्य सुधारका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने बताउँदै सरकारले परम्परागत उपचार पद्धतिका साथै स्वास्थ्यको लागि कृषि, खेलकुद र व्यायामलाई पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत शिव सार्कीले अहिलेको जमनामा शिक्षा सिक्न बोर्डिङ स्कुल र स्वास्थ्य उपचार गर्न मेडिकल धाइरहेको अवस्थामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दा जनतालाई उपचारमा निकै राम्रो हुने बताए । जिल्ला अस्पताल नभइसकेको अवस्थामा यो सेवा लिन रुकुम पश्चिम जानुपर्ने भएकाले रुकुम पूर्वमा छिट्टै अस्पताल स्थापना गर्नु सबैले पहल गर्नुपर्ने र सरकारले निःशुल्क रूपमा दिने औषधिदेखि स्वास्थ्य बिमामार्फत पाइने रकम सदुपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य बिमा कार्यक्रममार्फत पाँच जनासम्मका जुनसुकै परिवारले पनि वर्षमा २५ सय जम्ममा गरेर स्वास्थ्य बिमा भरेमा एक वर्षको अवधीमा परिवारका कुनै पनि सदस्यहरू बिरामी भएर उपचार गराउनु पर्दा ५० हजार रुपैयाँसम्म छुट दिने उल्लेख छ ।
त्यस्तै पाँच जनाभन्दा बढी परिवार संख्या भएको परिवारले २५ सयमा थप परिवारको संख्या हेरी प्रतिपरिवार संख्या थप ४ सय २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने बिमा पाउँदा पनि थप ५० हजारमा १० हजार रुपैयाँसम्म छुट पाइन्छ । जिल्लामा प्रत्येक स्थानीय तह र वडाहरूमा दर्ता कर्मचारी खटाएर अभियानकै रूपमा स्वास्थ्य बिमा गरिने बताइएको छ । रुकुम पश्चिममा यसअघि नै बिमा कार्यक्रम सुरु भैसकेको छ ।
मेगराज खड्का

 

प्रतिक्रिया दिनुहोस्