सेवा थपिएपछि उपक्षेत्रीय अस्पतालमा बिरामी बढे

सेवा सुविधा विस्तारसँगै डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ ।
पछिल्लो समय दैनिक औषत ४ सय जना बिरामी उपचारका लागि उपक्षेत्रीय अस्पताल आउन थालेको अस्पताल विकास समितिले जनाएको छ । डडेल्धुरासँगै प्रदेश नं. ७ का विभिन्न पहाडी जिल्लाका बिरामी उपचारका लागि आउन थालेपछि दिनहु बिरामीको चाप बढ्दै गएको हो ।
“मौसम परिवर्तनसँगै बिरामी बढ्ने समय भएकाले पनि बिरामीको चाप बढदो छ ।” उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने, “हाल अस्पतालमा सेवा सुविधा बढेसँगै बाहिरी जिल्लाका बिरामीको संख्या पनि बढ्दै गएको छ । उपक्षेत्रीय अस्पतालमा हाल भाइरल ज्वरो, मौसम परिवर्तन भएकाले उत्पन्न हुने विभिन्न खाले संक्रमणका बिरामी बढ्दै गएको र अन्य पहाडी जिल्लामा सेवा प्रभावकारी नभएकाले पनि अप्रेसन गरेर बच्चा जन्माउनका लागि सुत्केरी आउने क्रम बढेको अस्पतालले जनाएको छ ।
अस्पताललाई प्रदेश नं. ७ कै उत्कृष्ट रिफरल अस्पतालका रूपमा विकास गर्न भौतिक पूर्वाधार निर्माण र उपकरण जडान कार्यमा तीव्रता दिइएको छ । अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिँहले प्रभावकारी उपचार सेवाका साथै अस्पतालले प्रवाह गर्ने सेवा सुविधामा बढोत्तरी भएसँगै बिरामीको चाप बढदै गएको बताए । उनले अस्पतालको सेवा क्षेत्रमा रहेका प्रदेश नं. ७ का डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम जिल्लाका साथै कर्णाली प्रदेशका विभिन्न विकट पहाडी जिल्लाका बिरामी उपक्षेत्रीय अस्पताल पुग्न थालेको जानकारी दिए । १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको उपक्षेत्रीय अस्पतालमा हाल एकजना एमडीजीपी डाक्टरसँगै ४ जना विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् भने झण्डै दुई दर्जन चिकित्सक कार्यरत छन् ।
दुईजना विशेषज्ञ डाक्टर सरकारी दरबन्दीमा कार्यरत रहेको र दुई जनालाई अस्पताल विकास समितिले आन्तरिक स्रोतबाट नियुक्त गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल भौतिक पूर्वाधार विकासमा केन्द्रित रहेर काम भइरहेको अस्पताल विकास समितिले जनाएको छ । सुविधा सम्पन्न एक सय शैयाको अस्पताल भवन निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ । अस्पतालमा आवश्यक अन्य भौतिक पूर्वाधार विकासका योजना तीव्र गतिमा निर्माण भइरहेका छन् ।
उपक्षेत्रीय अस्पतालले हाल सुविधा सम्पन्न ल्याब सेवा सञ्चालनमा ल्याएको छ । “हर्मन जाँच गर्ने अत्याधुनिक मेसिन र बाई केमेस्टी एनिलाइजर मेसिन छिट्ट जडान हुनेछ,” उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले भने, “दुवै मेसिन जडानका लागि ठेक्का लागेर मेसिन ल्याउने काम भइरहेको छ ।”
ल्याब सेवामा दुवै मेसिन जडान गर्ने बित्तिक्कै प्रदेश नं. ७ र कर्णाली प्रदेशमै सबैभन्दा सुविधा सम्पन्न र सर्वोत्कृष्ट ल्याब सेवा सञ्चालनमा आउने डा. कँडेलले जानकारी दिए । उनले ल्याब सेवासँगै नवजात शिशु सघन उपचार सेवा पनि सञ्चालनमा रहेको बताए । अस्पतालले विभिन्न दातृ निकायसँग सहकार्य गरेर कुपोषित बालबालिकाका लागि पोषण पुनःस्थापना केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।
भौतिक पूर्वाधार विकासमा जोड दिएर अस्पतालका लागि आवश्यक उपकरण जडान गरिसकेपछि अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालनका लागि पहल गरिने अस्पताल विकास समितिका अध्यक्ष सिँहले बताए । प्रदेश नं. ७ मा एउटा शिक्षण अस्पताल अपरिहार्य भएको र अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न सकेमात्रै दक्ष चिकित्सकको पदपूर्ति सम्भव हुने भएकाले शिक्षण अस्पतालका मापदण्ड तयार गर्ने काममा जुटेको अस्पताल विकास समितिले जनाएको छ ।
राउटे बालबालिका बालबचततर्फ आकर्षित
डडेल्धुरा
जिल्लाको परशुराम नगरपालिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न सुरु गरेका छन् । केही समय अगाडि आमाबुबासँगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटे बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् ।
राउटेको आर्थिक विकासका लागि नेपाल सरकारले दिने प्रतिव्यक्ति दुई हजार सामाजिक सुरक्षा भत्तामध्ये केही रुपैयाँ ‘शीर्ष साना सहकारी’ मा यहाँका ३६ राउटे बालबालिकाले महिनापिच्छे पैसा जम्मा गर्न थालेका सहकारीका अध्यक्ष हर्कमती कार्कीले जानकारी दिए । यहाँका राउटेका घरको पूरै सदस्यले जन्मेदेखि बाचुञ्जेलसम्म सामाजिक सुरक्षावापत मासिक दुई हजार प्राप्त गर्दै आएको नगरपालिकाले जनाएको छ । लोपोन्मुख जातिको व्यवस्था र भविष्य सुधारका लागि नगरपालिकाले पनि योजना ल्याउन लागेको नगरप्रमुख भीमबहादुर साउदले बताए ।
वडा कार्यालयसँगको समन्वयमा सहकारी संस्थाले आफैँ रकम बाँड्ने व्यवस्था मिलाएर अनिवार्य बालबालिकाको रकम बचत गर्न पहल गरेका छन् । अहिले त्यहाँ रहेका ३६ बालबालिकाले सहकारीमा खातखोली बाल बचत सुरु गरेको अध्यक्ष कार्कीले जानकारी गराए । विगत ६ महिनादेखि सुरु गरेको बालबचतमा राउटे बालबालिकाले सबैभन्दा बढी २० हजार र सबै भन्दा कम ६ हजार जम्मा भइसकेको छ ।
बालबचत गर्न थालेपछि राउटे बालबालिका पनि दंग भएको राउटे विकास समाज संस्थाका संयोजक दानसिंह राउटेले जानकारी दिए । सामाजिक सुरक्षा भत्तावापत पाउने रकमका साथै अहिले विभिन्न विकास निर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत संलग्न हुन थालेको राउटे विकासका संयोजक दानसिंहले जानकारी दिए । शीर्षका राउटेले बचत सुरु गरे पनि जोगबुढाका ४१ राउटे परिवार भने अझै व्यावसायिक हुन बाँकी रहेको हर्कसिहं राउटेले बताए ।
–हरिश चन्द