रुकुममा यातायात समिति मर्ज गर्ने क्रम बढ्यो «

रुकुममा यातायात समिति मर्ज गर्ने क्रम बढ्यो

रुकुम पश्चिमका दुई यातायात समिति मर्ज भएका छन् । सिस्ने हिमाल बस तथा मिनीबस व्यवसायी समिति र प्रफि यातायात प्रालिले एकता गर्ने निर्णय गरेका हुन् । निर्णयपछि पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गरी एकीकृत रूपमा यातायात सेवा दिने जानकारी पनि दिएका छन् । दुई समिति मर्जपश्चात् पनि समितिको नाम सिस्ने हिमाल बस तथा मिनिबस समिति नै हुनेछ भने प्रफि यातायात प्रालिलाई खारेजी गरिने समितिका अध्यक्ष जितेन्द्र बुढाथोकीले जानकारी दिए । प्रफि यातायातका अध्यक्ष र महासचिवलाई सिस्ने हिमाल समितिमा उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने अन्य कर्मचारी र काउन्टरहरु पनि समायोजन गरिएको छ ।
“यातायात क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गरी यातायात व्यवसायीहरुको हकहित संरक्षण गर्न दुई संस्था एक भएका हौं,” समितिका अध्यक्ष जितेन्द्र बुढाथोकीले भने, “पछिल्लो समय यातायात क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण यातायात व्यवसायी मारमा परेका छन्, म नेतृत्वमातहमा आएदेखि नै जिल्लामा रहेका बिभिन्न समितिसँग एकताको पहल गरिरहेको छु ।” हाल समितिको अध्यक्ष रहेका बुढाथोकी पनि यसअघि चौरजहारी यातायात प्रालिको अध्यक्ष थिए भने केहि महिना अघि सिस्ने यातायात समितिमा मर्ज गरेर नेतृत्व समालेका हुन् ।
प्रफि यातायात प्रालिका महासचिव फिलमान वुढाले आफ्नो प्रालि सिस्ने हिमाल वस तथा मिनीबस व्यवसायी समितिसँगै जोडिएको बताए । यातायातको क्षेत्रमा एक्लाएक्लै रहेर काम गर्नुभन्दा सबै समितिहरु एक ठाउँमा रहेर जनतालाई गुणस्तरीय सेवा लिन मर्ज गर्ने अभियान सकारात्मक भएका कारण यसमा जोडिएको उनको भनाई थियो । जिल्लामा सिस्नेसगै अब ४ वटा यातायात सेवाप्रदायक संस्था छन् । जसमा रुकुम यातायात, मध्यपहाडी लोममार्ग यातायात र सानीभेरी सेवा समिति छन् ।

प्रतिक्रिया दिनुहोस्