ढुवानीमा समस्या हुँदा माथिल्लो तामाकोसी आयोजनाको काम प्रभावित

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनमा खराब सडकका कारण सामग्री ढुवानीमा समस्या देखिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुग्दा ठूला सामान ढुवानी गर्नुपर्ने र त्यसका लागि सडकलगायतका पूर्वाधारका कारण समस्या आएको आयोजनाले जानकारी दिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको काम हाल ९४ प्रतिशत सकिएको छ । आउँदो पुसअघि नै सक्ने तयारी गरिएको आयोजनामा ठूला पाइप तथा इक्युप्मेन्ट ढुवानीमा समस्या आएको हो । “ठूला ट्रकमा सामान ढुवानी गर्नुपर्ने तर खराब सडकका कारण एउटा सामान ल्याउन महिनौ लाग्ने अवस्था आएको छ,” आयोजनाका प्रवक्त डा. गणेश न्यौपानेले भने ।
आयोजना स्थलसम्म ल्याउन मुख्य गरी हाइड्रोमेकानिकल तर्फको पेनस्टक पाइपको आपूर्तिमा ढिलाइ हुने सम्भावना बढेर गएको न्यौपानले जानकारी दिए । कुल ८.४ किलोमिटर सुरुङमध्ये ३७५ र ३१० मिटरको पेनस्टक पाइपमार्फत् पानी पठाउनुपर्ने न्यौपानेले बताए । “पाँच मिटर लम्बाइ र ३.८ डायमिटर चौडाइका ७० वटा पाइप ढुवानी गर्नुपर्ने हुन्छ तर ठेकेदारले सडक खराब भएको कारण पाइप ल्याउन समस्या भएको जनाएको छ,” न्यौपानेले भने ।
ठूला पाइप बोकेर आएका तीनवटा ट्रक बाटोमा पल्टिए, जसका कारण ढुवानीकर्ता नै डराइरहेको समेत न्यौपानेले जानकारी दिए । पेनस्टक पाइप समयमा आइपुगेन भने अन्य संरचनाको काम सकिए पनि आयोजना सञ्चालनमा आउन नसक्ने भएकाले यतिबेला सडकसँग समन्वय गर्न लागिपरेको न्यापौनेको भनाइ थियो । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदमुकाम चरिककोटसम्मको ५२ किमिको सडक विस्तार कार्य अलपत्र छाडिएकाले समस्या आएको आयोजनाको भनाइ छ । उक्त सडकखन्डमा वर्षात्को समयमा झनै समस्या पर्ने भएकाले भनेको समयमा काम सम्पन्न गर्र्नै समस्या पर्न सक्ने समेत आयोजनाको भनाइ छ ।
आयोजनाले २०७५ पुसमसान्त सम्ममा आयोजनाका ६ वटा टर्बाइनमध्ये कम्तीमा एउटा टर्बाइन चार्ज गर्ने र अधिकतम ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फको काम पूर्णरूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको आयोजनाको लागत ४६ अर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको समेत आयोजनाले जनाएको छ ।
सेयरमा देखिएको विवाद जिल्लामा नै मिलाउने बताइएको छ । प्रभावित जिल्लालाई १० प्रतिश सेयर दिने हो, तर विगतमा जिल्ला समन्वय समितिले गरेको निर्णय अहिले के गरेर मिलाउने भन्ने जिम्मा जिल्लाकै भएको आयोजनाले जनाएको छ ।
हाल साविकको लामाबगर र गौरीशंकर गाविसकै सरह अहिलेको सबै विँगू गाउँपालिपालिकमा रहेको ८ वटै वडाले क श्रेणीको प्रभावितमा राख्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । जसका कारण चैतमा प्रभावित जिल्लामा निष्काशन गर्ने तयारी गरिएको सेयर प्रभावित भएको छ भने साधारण सेयर (आईपीओ) निष्काशनसमेत प्रभावित भएको छ ।