औद्योगिक प्रदर्शनीमा पौने ८ करोडको कारोबार «

औद्योगिक प्रदर्शनीमा पौने ८ करोडको कारोबार

राजधानीको भृकुटीमण्डपमा सञ्चालित २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा ७ करोड ७५ करोड रुपैयाँ कारोबार भएको छ । शुक्रबारबाट सुरु भएको पाँच दिने मेला मंगलबार सकिएको हो । मेलामा ७३ जिल्लाका उद्यमी व्यवसायीहरूको सहभागिता थियो ।
घरेलु तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक विनोददेव पन्तले पाँच लाखले अवलोकन गरेको प्रदर्शनीमा ७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको जानकारी दिए । स्वदेशी वस्तुको बिक्री र प्रवद्र्धन गर्ने लक्ष्यका साथ गरिएको यो प्रर्दशनी अपेक्षाकृत भएको उनको भनाइ छ । प्रदर्शनीले उद्यमी व्यवसायीलाई थप हौसला प्रदान गरेको उनको दाबी छ । तर, प्रदर्शनीमा सहभागी उद्यमीले भने सोचेअनुसारको व्यापार नभएको बताएका छन् । उनीहरूले अवलोकनकर्ताको भीड लागे पनि कारोबार भने गत वर्षजस्तो नभएको बताएका हुन । कतिपय उद्यमीले भने व्यापारभन्दा प्रचारका लागि प्रदर्शनीमा सहभागी भएको भन्दै व्यापार कम भएकामा कुनै गुनासो नरहेको बताए । प्रदर्शनीमा ७३ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीले ३ सयभन्दा बढी स्टल राखेका थिए । घरेलु तथा साना उद्योग विकास समितिले ६६ जना लघु, घरेलु र साना उद्यमीलाई पुरस्कृत गरेको छ । समितिले प्रदर्शनीमा स्टल राखेका ७३ जिल्लाका उद्यमीमध्ये ६६ जनालाई उत्कृष्ट ठहर गरी पुरस्कृत गरेको हो । प्रदर्शनीमा दाङको चिनारी महिला साझेदारी समूहकी प्रेमकुमारी पुनले सर्वोत्कृष्ट उद्यमीको पुरस्कार पाउनुभएको छ ।
पुरस्कारस्वरूप समितिले पुनलाई ३० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र दिएको छ । समितिले प्रदर्शनीमा स्टल राखेका उद्यमीलाई विभिन्न १२ वटा समूहमा विभाजन गरी सबैभन्दा धेरै कारोबार गर्नेहरूलाई पुरस्कृत गरेको हो । ढाका वस्तुतर्फ पाल्पाको संघर्ष ढाका उद्योगकी पविसरा रजली, पश्मिनातर्फ काठमाडौंको चिटिक्क होजियारी उद्योगकी विमला न्यौपाने, वाँसजन्य वस्तुतर्फ मोरङको गुराँस बाँस हस्तकलाकी रीता दाहाल र महिला उद्यमीतर्फ इलामको न्यु सम्झना ढाका उद्योगकी देवकुमारी लिम्बूले उत्कृष्ट उद्यमी पुरस्कार पाएकी छन् । सर्वोत्कृष्ट र उत्कृष्ट ठहरिएका तथा द्वितीय र सान्त्वना स्थान पाएका उद्यमीलाई प्रदर्शनीको समापनका क्रममा मंगलबार एक समारोहबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । मन्त्री यादवले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबद्र्धनका लागि भन्सार छुटलगायतका सुविधा दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्